कांग्रेस नेतृत्वमा हिस्सिएको चितवन यसपाली डेब्यूको आशामा, यी हुन् ७ आकांक्षी – Nepal Press

कांग्रेस नेतृत्वमा हिस्सिएको चितवन यसपाली डेब्यूको आशामा, यी हुन् ७ आकांक्षी

चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चितवनका ७ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

हालसम्म केन्द्रीय नेतृत्व पाउन नसकेको चितवनबाट यसपटक देखिएका दाबेदारप्रति धेरैको चासो छ । विगतका महाधिवेशनमा जिल्लाबाट धेरै आकांक्षी हुँदा चितवन केन्द्रीय नेतृत्वमा आउनबाट चुकेको नेताहरूले बताएका छन् । मंसिर २४-२६ मा काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको महाधिवेशनमा केन्द्रीय सदस्य दाबी गर्नेमा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापतिहरू टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, पूर्वसहसचिव प्रकाश अधिकारी, युवा नेता दिनेश कोइराला, दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार, पूर्वजिल्ला सदस्य भरत गुरुङ छन् ।

केन्द्रीय सदस्य पदमा आदीवासी, जनजाति तर्फका उम्मेदवार जीतनारायण श्रेष्ठ विद्यार्थी आन्दोलनहुदै पार्टी जिल्ला सभापतिको नेतृत्व सम्हालेका व्यक्ति हुन् । नेविसंघ चितवनका पूर्वअध्यक्ष, कांग्रेस चितवनको जिल्ला सदस्य, जिल्ला सचिव समेत भएर काम गरिसकेका श्रेष्ठ २०७४ को चुनावमा चितवन २(ख) बाट प्रदेश सांसदका उम्मेदवार पनि थिए ।

५ पटक चितवन कांग्रेस सभापति भइसकेका टेकप्रसाद गुरुङ पनि आदीवासी, जनजाति तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार हुन् । २०१८ सालदेखि राजनीतिमा सक्रिय टेकप्रसादले २०७० को चुनावमा चितवन क्षेत्र नम्बर ४ मा आँफुले पाएको टिकट त्यागेर तत्कालिन पार्टी सभापति स्वर्गीय शुशिल कोइरालालाई प्रस्ताव गरी जिताउने अभियानमा लागेका थिए । त्यो बेला चितवन क्षेत्र नम्बर ४ बाट भारी मतान्तरले चुनाव जितेपछि कोइराला देशको प्रधानमन्त्री समेत भएका थिए । कांग्रेस विभाजन पहिले, विभाजनपछि र समायोजनका बेला र त्यसपछि पनि टेकप्रसादले चितवन कांग्रेसको नेतृत्व लिएका थिए । श्रेष्ठ गत महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए ।

चितवन क्षेत्र नम्बर ४ बाट निर्वाचित पार्टी सभापति शुशिल कोइरालाले छाडेपछि भएको उपनिर्वाचनबाट संविधानसभा सदस्यमा निर्वाचित रामकृष्ण घिमिरेपनि केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । खसआर्य तर्फबाट उनले उम्मेदवारी दिदैछन् । २०२६ सालदेखि राजनीतिमा सक्रिय घिमिरे जिल्ला सदस्य, उपसभापति हुदै जिल्ला सभापति भएका थिए । उनले ३ वर्ष जेलजीवन भोगेका छन् । वीपी कोइरालालाई विमानस्थलमा स्वागत गर्नेक्रममा उनी पहिलोपटक गिरफ्तारीमा परेका थिए । २०४६ सालको जनआन्दोलन परिचालन समिति चितवनको सदस्य रहेका उनी २०६२-६३ को जनआन्दोलन परिचालन समिति चितवनको संयोजक थिए ।

खुल्लातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार प्रकाश अधिकारी चितवनको पहिलो निर्वाचित नेविसंघ जिल्ला अध्यक्ष हुन् । २०७४ को चुनावमा चितवन २ (क) बाट प्रदेश सांसदका उम्मेदवार थिए । नेपाल प्राध्यापक संघको केन्द्रीय महासचिव, प्रजातन्त्रबादी प्राध्यापक संघको केन्द्रीय सदस्य थिए । १३ औं महाधिवेशनमा जिल्ला सभापतिका प्रत्यासी रहेका उनले सहसचिवमा निर्वाचित भएर काम गरिसकेका थिए ।

युवा नेता दिनेश कोइराला स्थानीय तहको चुनावमा निकै चर्चामा थिए । भरतपुर महानगरको मेयर पदको उम्मेदवारी दर्ता गरेर चुनावी अभियान थालेका उनको उम्मेदवारी केन्द्रबाटै उम्मेदवारी फिर्ता गरेर माओवादी नेतृ रेणु दाहाललाई कांग्रेसले समर्थन गरेको थियो । उनी २०७४ को प्रदेशसभाको निर्वाचनमा चितवन ३ (क) का उम्मेदवार बने । २००८ मा जेसीजको केन्द्रीय अध्यक्ष रहेका कोइराला विद्यार्थी राजनीतिबाटै आएका नेता हुन् । २०५७ मा नेविसंघको केन्द्रीय सदस्य, २०५८ मा कांग्रेस चितवनको प्रवक्ता तथा जिल्ला सदस्य, २०५९ मा कांग्रेस चितवन-काठमाडौं सम्पर्क समितिको अध्यक्ष थिए ।

२ कार्यकाल दलित संघ चितवनकी अध्यक्ष रहेकी शान्ती परियाले दलित महिला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुन् । कांग्रेस चितवनकी जिल्ला सदस्य भएर काम गरिसकेकी उनी महिला तथा दलित समुदायको अधिकारको वकालतमा सक्रिय छिन् । तरुण दलको विदेश विभाग प्रमुख भएर काम गरिसकेका भरत गुरुङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिँदैछन् ।

२०४८ मा अमृत साइन्स क्याम्पसको नेविसंघ अध्यक्ष रहेका उनी टेकप्रसाद गुरुङ जिल्ला सभापति भएका बेला चितवन कांग्रेसको जिल्ला सदस्यमा धेरै मत ल्याएर विजयी भएका नेता हुन् । सातै जना उम्मेदवारले यसपाली चितवनले केन्द्रीय सदस्यमा जित्ने दाबी गरेका छन् । हालसम्म कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न नसकेको चितवन जिल्लाका उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर