सात ट्रान्सजेण्डरको महिनावारी अनुभव- सुरूमा अत्यास लाग्यो, बिस्तारै बानी पर्‍यो – Nepal Press
सन्दर्भः मर्यादित महिनावारी दिवस

सात ट्रान्सजेण्डरको महिनावारी अनुभव- सुरूमा अत्यास लाग्यो, बिस्तारै बानी पर्‍यो

काठमाडौं । आज तेस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपालमा पनि विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भइरहेका छन् ।

धेरैले महिला मात्रै महिनावारी हुन्छन् भन्ने सोच्छन् । तर, तेस्रोलिंगीअन्तरगत पर्ने ट्रान्सजेण्डर अर्थात् पारालिंगी पुरुष पनि महिनावारी हुन्छन् ।

प्रस्तुत छ सात ट्रान्सजेण्डर अर्थात् पारालिंगी पुरुषको महिनावारी अनुभव–

राज चौधरी

म ११ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएको हुँ । सानै उमेरदेखि मैले आफूलाई पुरुष सोच्ने भएको हुँदा महिनावारीको बारेमा भन्ने आँट नै आएन । अहिले आएर लाग्छ मैले म जस्तै थुुप्रै साथीलाई महिनावारी र प्याडको विषयमा जानकारी गराउनुुपर्छ ।

सम्राट चौधरी

पहिलोपटक महिनावारी हुँदा एकदमै डर लागेको थियो । साथै अप्ठ्यारो महसुस भयो । मैले आमालाई आफू महिनावारी भएको बताएको थिएँ । म पुुरुष हुुँ, म किन महिनावारी भएँ, मेरो ढाड पेट दुुखेको छ भनेर आमालाई बताएँ। मलाई भने महिनावारी नभइदिए हुुन्थ्यो जस्तो लागेको थियो । अहिले पनि त्यस्तै लाग्छ ।

संंयोग केसी

१२ बर्षको उमेरमा पहिलोपटक महिनावारी भएको थिएँ । र कसैलाई पनि आफनो महिनावारीबारे जानकारी गराइँन । म सानैदेखि आफूलाई छोरा महसुस गर्थे र महिनावारीको समयमा पनि घर भित्रै बस्ने गर्थें । म प्याड लिन जाँदा देख्ने मान्छेले खिल्ली उडाउँथे । मैले महिनावारी बन्द गर्नको लागि औषधिसमेत प्रयोग गरें । जसकारण महिनावारी तल–माथि हुुने, अत्यधिक रत्तस्राव हुुने र शरीर थाक्ने जस्ता समस्या देखिए । अनि औषधि खान छाडें ।

राज सिलवाल

मलाई परिवारमा सानैदेखि छोराको व्यवहार गर्थे । घरमा धेरै छोरी भएकोले सबैले छोरा भनेर बढी नै माया गर्नुहुन्थ्यो । महिनावारी भएको दुईचार दिनपछि दिदीलाई जानकारी गराएँ । महिनावारीको समयमा पनि प्याड परिवर्तन गर्न नपाउँदा धेरै पीडा महसुस हुुन्थ्यो ।

शिला गुरुङ

म अठार  वर्षको उमेरमा पहिलोपटक महिनावारी भएँ । आफ्नो लैगिंंकता थाहा पाएको हुँदा मैले आफूलाई पुरुष महसुुस गरें र महिनावारी बन्द गर्नको लागि औषधि प्र्रयोग गरें । तर तल्लो पेट दुुख्ने, समयमा महिनावारी नहुुने, रगत बढी बग्ने जस्ता समस्या भोग्नुपर्यो । आफ्नो पार्टनरसँग साथमा बस्न थालेपछि सरसफाइ र स्वास्थ्यमा ध्यान दिन थालें ।

ज्ञानु लामा

सुरुमा महिनावारी हुँदा म धेरै आत्तिएको थिएँ । त्यो समय आफूले धेरै नै सम्हाल्ने कोसिस गरें । परिवारमा दिदी बहिनी आमा पनि महिनावारी भएको देखेपछि विस्तारै खुल्दै गएँ । मलाई महिनावारी हुनुभन्दा अगाडि स्तन दुख्ने, मुुहारमा डन्डिफोर आउने, ढाड, पेट दुुख्ने हुन्थ्यो । मेरो पार्टनर साथमा भएपछि आवश्यक सहयोग पाएँ ।

मनिष विक

मलाई महिनावारी हुनुअगावै पेट र ढाड दुख्ने हुन्थ्यो । महिनावारीपछि आफूमा आएको परिवर्तन, जस्तै– स्तनको आकार बढ्ने, स्वर मसिनो हुँदै जाँदा नरमाइलो महसुस हुन्थ्यो । विद्यालय समय वा कतै यात्रामा जाँदा भने साह्रै समस्या हुने गथ्र्यो । कसैले देख्छ कि ? कसैले केही भन्छ कि ? भन्ने डर लाग्थ्यो । जब आफ्नो पार्टनरसँग साथमा बस्न थालें, मलाई प्याड लिन जाँदा पनि सहज महसुस भयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर