सीपी मैनालीको भाषण जुन राप्रपा महाधिवेशनमा ‘हटकेक’ बन्यो – Nepal Press

सीपी मैनालीको भाषण जुन राप्रपा महाधिवेशनमा ‘हटकेक’ बन्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा आज माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले भाषण गरे । तर, अनपेक्षितरुपमा सबैभन्दा बेसी चर्चा चाहिँ नेकपा मालेका महासचिव सीपी मैनालीको भाषणले पाएको छ ।

क्रान्तिकारी बिरासत बोकेका पुराना कम्युनिष्ट नेता हुन् मैनाली, जसले पछिल्लो समय प्रखर राष्ट्रवादी नेताको छवि बनाएका छन् । राजतन्त्रविरुद्ध सशस्त्र संघर्षसमेत गरेको तत्कालीन नेकपा मालेका संस्थापक महासचिव मैनाली अहिले पनि नेकपा मालेकै महासचिव छन् । यद्यपि, त्यो माले र यो मालेमा आकाश-जमीन फरक छ ।

राजनीतिले खारिँदै र उमेरले छिप्पिँदै जाँदा मैनालीको राजनीतिक सोचमा पनि धेरै फेरबदल आएको छ । मैनालीले कम्युनिष्ट सिद्धान्त छोडेका छैनन्, तर उनी जनवादी क्रान्ति वा सर्वहारा अधिनायकत्वका रुमानी गफभन्दा राष्ट्रियता संवद्र्धनका कुरा बढी गर्छन् । नेपालका केही राजाहरुको उनी खुलेर प्रशंसा गर्न थालेका छन्, जसरी आजको भाषणमा राजा महेन्द्रको गरे । राप्रपाका नेताहरुले पनि बोल्न हिच्किचाउने कुरा उनले निर्धक्क बोलिदिए ।

मैनालीले राजा पृथ्वीनारायण शाहपछिको राष्ट्रवादी राजाका रुपमा महेन्द्रलाई चित्रित गरेका थिए । उनी यतिमा मात्रै रोकिएनन् । २०१७ सालमा महेन्द्रले गरेको ‘कु’ लाई उनले ‘दक्षिणपन्थी राष्ट्रवादी कदम’ का रुपमा सकारात्मक विश्लेषण गरे । राजावादीहरुको सभामा महेन्द्रको प्रशंसा गर्दा हुटिङ नपाउने कुरै थिएन ।

मञ्चमै रहेका प्रचण्डलाई औल्याउँदै मैनालीले माओवादीले विदेशी एजेन्डा बोकेर नेपालमा राजनीति गरिरहेको आरोप लगाए । मैनालीको उक्त आरोबाट चिढिएका प्रचण्डले आफ्नो भाषणमा उनलाई कटाक्ष गर्दै ‘राप्रपाको अध्यक्ष बन्न’ शुभकामना दिएका थिए ।

मैनालीले आज गरेको आक्रामक भाषणको झलक यहाँ प्रस्तुत गरिएको छः

  • हामीले ०७ सालदेखि आजसम्म आइपुग्दा चारवटा राजनीतिक परिवर्तन व्यहोर्यौं । यी राजनीतिक परिवर्तन प्रजातान्त्रिक परिर्वतन त हुन्, तर अवाञ्छित बाह्य प्रभाव र अनुचित बाह्य हस्तक्षेपसहितका । हामीले इतिहास पढेका छौं । वर्तमानमा दुर्गति भोगका छौं । हामी प्रष्टै छौं ।
  • हामीले प्रजातान्त्रिक परिवर्तन, प्रजातान्त्रिक परिवर्तन भन्दै गयौं । र, हामीमाथि थोपरिएका अवाञ्छित वाह्य हस्तक्षेप र प्रभावलाई अन्देखा गरेउँ । सिवाय ०७ सालपछि २०११ साल चैत १ गते राजा बनेका महेन्द्रले । त्यसबेला दिल्ली सम्झौताबाट आएका आवञ्छित प्रभाव र हस्तक्षेप अधिकांसलाई राजा महेन्द्रले खारेज गरिदिनुभयो ।
  • पहिलो दिल्ली सम्झौतामा ‘विधानसभाको चुनाव’ गरेर संविधान ल्याउने जुन कुरा थियो, त्यसभित्र लुकेको मनशायलाई देशका अरु नागरिक र नेताहरुले बुझेको मैले देखिनँ । बुझे त युवराज महेन्द्रले । बुझे त राजा महेन्द्रले । त्यसको एक शब्द सार्वजनिक विरोध नगरिकन, पन्छाउँदै, पन्छाउँदै विधानसभालाई तुहाइदिनुभयो । त्यसैले नेपाल ज्यूँदो छ ।
  • बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभयो । त्यसपछिका राजाहरुले एकाध काम गरेका छन् । तर सिंगो नेपाल सिक्किमजस्तो हुनबाट रोक्नका निम्ति, भुटानजस्तो हुनबाट रोक्नका निम्ति कुनै नेपालीले कदम चालेको छ भने ती राजा महेन्द्र नै हु्न् । अहिले पनि मलाई दुख लाग्छ । हाम्रा देशका धुरन्धर राजनीतिज्ञहरु ६० विर्षदेखि मागेको विधानसभा मागेको बल्ल पायौं भन्छन् । ए बाबा, तपाईंले ९/१० सालमा विधानसभा पाएको भए त्यसैबेला नेपाल सिक्किम-भुटान बन्ने थियो । त्यो विधानसभा नेपालीहरुको माग नै होइन । नेहरुले आफ्नो निम्ति राखेको पहिलो दिल्ली सम्झौताको अन्तिम एजेन्डा हो, जसलाई महेन्द्रले चिनेर पन्छाइदिनुभो ।
  • ०२६ सालमा नेपालको उत्तरी सिमामा बसेका साढ सात सय आर्मीसहितका भारतीय चेकपोष्टलाई राजा महेन्द्रले नै फिर्ता पठाइदिनुभएको हो । त्यसैले त नेपाल जोगियो । त्यसैले सीपी मैनाली महेन्द्रलाई राष्ट्रवादी भन्छ ।
  • हो, महेन्द्रका कतिपय तौरतरिकासँग म सहमत छैन । ०१७ सालको पुस १ गतेको कदमलाई हामीले दक्षिणपन्थी राष्ट्रवादी कदम भनेका छौं । दक्षिणपन्थले निरंकुशतन्त्र ल्यायो र हामीले त्यसको विरोध गर्यौं । त्यसलाई बदल्यौं । तर उहाँले समाजसुधारका लागि चालेका कदमहरुलाई पनि सतप्रतिशत विरोध गर्नु हाम्रो गल्ति थियो । कांग्रेसले विरोध गर्नु पनि गलत थियो, सीपी मैनालीले विरोध गर्नु पनि गलत थियो । त्यसलाई विश्लेषणात्मक ढंगले हेर्नुपथ्र्यो । जति ठीक थियो।, त्यसलाई सकारात्मकरुपमा लिएर समर्थन गर्ने अनि कमजोरीको आलोचना गर्ने गर्नुपथ्र्यो ।
  • ०४६ सालको परिवर्तन पनि वाह्य अवाञ्छित हस्तक्षेपसहितको परिवर्तन हो । पुष्पकमलले नेतृत्व गरेको ०६३ सालको परिवर्तनले पनि अवाञ्छित वाह्य हस्तक्षेप निम्त्यायो । ४६ सालको परिवर्तनको बाहक म पनि हो । तर ठोकेर भन्छु, त्यसबेला प्रजातन्त्रको बुइ चढेर आएका भारत र युरोपियन यूनियनको प्रभावलाई हामीले हटाउन सकेनौं । त्यसपछि बनेको कुनै पनि सरकारले हटाउने प्रयास गरेनन् ।
  • प्रचण्डजीले सशस्त्र संघर्षबाट जनगणतन्त्र ल्याउने भनेर जंगल जानुभयो । मैले त्यसैबेला यो बाटो नहिँड्नुस भनेको थिएँ । तर मान्नुभएन । जनगणतन्त्र ल्याउन सक्नुभएन, तर आत्मआलोचना छैन अहिलेसम्म पनि । त्यो सँगै फर्किँदा जसले उहाँहरुलाई आतिथ्य दिएको थियो, उसैले आतंककारी भन्यो । आफूखुशी नेपालका शक्तिसँग मिलेर फिर्ता नहुन् भनेर आतंकारी भनेको थियो । आतंककारी ट्याग निकाल्ने क्रममा कुस्त विदेशी एजेन्डाको भारी बोकायो । त्यो भारीलाई ०६३ सालको परिवर्तनपछि न उहाँले हटाउनुभएको छ, न त्यसपछि बन्ने सरकारले हटाएको छ ।
  • हाम्रो इतिहासलाई तथ्यको आधारमा केलाउँ । जे गलत छ, त्यसको विरोध गरौं । जे ठीक छ स्वीकार गरौं । प्रजातन्त्रसँगै आएका अवाञ्छित बाह्य हस्तक्षेप र प्रभावले हामीलाई कँज्याएका छन् । तीनपटक आएको प्रजातन्त्रले जनतालाई कति सशक्तिकरण गर्यो, त्यो हामी छलफल गरौंला । तर राष्ट्र कमजोर भयो । गोली नपड्काइ, ४०० किलोमिटर जमिन लग्यो । अहिले त्यसको कुरा गर्न खोज्यो भने उतापट्टि टाउको फर्काउँछ । हिजो त गोली मात्रै ठोक्थे, अहिले त तुइन काटेर मार्न थालेका छन् । ७२ ठाउँको अतिक्रमण छँदैछ । झन् अत्याचार बढेको छ । हरेक क्षेत्रमा त्यो मुलुकले उत्पीडन बढाएको छ । किनभने तीनवटा कालमा जे आयो त्यसलाई हामीले स्वीकारेका छौं ।
  • यो खाडलबाट देशलाई निकाल्ने कसले ? देशभक्तहरुले नै हो । को हुन् देशभक्त ? देशमा विभिन्न खाले राजनीतिक प्रवृत्ति छन् । यी सबै प्रवृत्तिभित्र देशभक्त पनि छन्, विदेशभक्त पनि । सबै प्रवृत्तिभित्र देशभक्तहरु अब एकै ठाउँमा उभिनुपर्छ । देशका ज्वलन्त एजेन्डामा मिल्नुपर्छ ।
  • राष्ट्रवादी ती हुन् जसले राजा, देउता, धर्म, कर्म मानेर राजनीति गर्छन् । राष्ट्रवाद एउटा राजनीतिक प्रवृत्ति पनि हो । राष्ट्रवादभन्दा माथि हुन्छ देशभक्ती । देशभक्तीले सबैलाई समेट्नुपर्छ । सबै स्ट्रिममा रहेका देशभक्तहरु मिलौं । हिजो प्रजातन्त्र ल्याउन छिमेकी गुहार्यौं । अहिले हाम्रो दुर्गति भयो । ती शक्तिले हामीले खाडलबाट निकाल्दैनन् । अझै हामीलाई गाड्छन् । त्यसैले देशभक्तहरु मिल्नुपर्छ त्यहीँबाट मुलुकको उद्दार हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर