७२ वर्षमा १० महाधिवेशन, नेतृत्वमा पुष्पलालदेखि ओलीसम्म – Nepal Press
इतिहासमा एमाले

७२ वर्षमा १० महाधिवेशन, नेतृत्वमा पुष्पलालदेखि ओलीसम्म

चितवन । २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले ७२ वर्षमा १० वटा महाधिवेशन पूरा गरेको छ । २०१० साल माघ १० देखि २० गतेसम्म ललितपुर  र काठमाडौंमा सम्पन्न पहिलो महाधिवेशनले  महामन्त्रीमा  मनमोहन अधिकारीलाई निर्वाचित गरेको थियो । तत्कालीन अवस्थामा पार्टीमा महामन्त्री प्रमुख पद थियो ।

पहिलो महाधिवेशन भएको ४ वर्षपछि उक्त पार्टीको २०१४ सालमा काठमाडौंमै दोस्रो महाधिवेशन आयोजना गरेको थियो । २०१४ जेठ १५ देखि २५ गतेसम्म दरबारमार्गस्थित फोहरादरबारमा भएको महाधिवेशनले डाक्टर केशरजंग रायमाझीलाई महासचिवमा निर्वाचित गरेको थियो ।

त्यसैगरी ०१९ साल वैशाख ४ गतेदेखि १५ गतेसम्म  भएको तेस्रो महाधिवेशनले महासचिवमा तुल्सीलाल अमात्यलाई महासचिवमा निर्वाचित गरेको थियो । तेस्रो महाधिवेशनपछि नेकपामा ठूलो विग्रह आयो । र लामो समयसम्म महाधिवेशन हुन सकेन । योबीचमा अनेक नाममा धेरै समूह बने ।

चौथो महाधिवेशन भने नेकपा माले बनेपछि २०४६ साल भदौ ९ देखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टीमा भएको थियो । जुन महाधिवेशनले मदनकुमार भण्डारीलाई महासचिवमा निर्वाचित गरेको थियो ।

पाँचौ महाधिवेशनमा भने नेकपा एमाले बनिसकेको थियो । २०४९ माघ १४ देखि २० गतेसम्म कमलादी काठमाडौंमा भएको उक्त महाधिवेशनले अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदनकुमार भण्डारीलाई निर्वाचित गरेको थियो ।

छैटौं महाधिवेशन २०५४ साल माघ १२ देखि १८ गतेसम्म बाँकेको नेपालगन्जमा भएको थियो । यो महाधिवेशनपछि पार्टीमा विभाजन भएको थियो । महाधिवेशनले अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाललाई निर्वाचित गरेको थियो ।

सातौं महाधिवेशन २०५९ साल माघ १८ देखि २२ गतेसम्म जनकपुरको धनुषामा भएको थियो । यो महाधिवेशनले पार्टीको महासचिवमा पुनः माधवकुमार नेपाललाई निर्वाचित गरेको थियो । यो समयमा अध्यक्ष पद हटाइएको थियो ।

एमालेको आठौं महाधिवेशन बुटवलमा २०६५ सालमा फागुनको ५ गतेदेखि १४ गतेसम्म भएको थियो । उक्त महाधिवेशनले अध्यक्षमा झलनाथ खनाल र महासचिवमा  ईश्वर पोखरेललाई निर्वाचित गरेको थियो ।

त्यसैगरी नवौं महाधिवेशन २०७१ सालको असार १९ देखि साउन १ गतेसम्म काठमाडौंमा भएको थियो । उक्त महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित गरेको थियो ।

एमालेको दशौं महाधिवेशन अहिले चितवनमा सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर