एमाले निर्वाचनमा उम्मेदवारलाई कडाइ, ठूला प्रचार सामाग्री प्रयोग गर्न नपाइने – Nepal Press

एमाले निर्वाचनमा उम्मेदवारलाई कडाइ, ठूला प्रचार सामाग्री प्रयोग गर्न नपाइने

चितवन । नेकपा एमालेले नयाँ नेतृत्वका आकांक्षीहरुलाई प्रचारप्रसारका लागि नयाँ मापदण्ड जारी गरेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारलाई २ वाई ४ इञ्च साइजको भन्दा ठूलो निर्वाचन सामाग्री प्रयोग नगर्न अपील गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले ठूला प्रचारप्रसार सामाग्री प्रयोग गरेको पाइए उम्मेदवारीनै खारेजसम्मको कारवाही गरिने बताएका छन् । उनका अनुसार तुल, व्यानरहरु समेत मतदानस्थल आसपासमा राख्न पाइने छैन ।

महाधिवेशनको बन्दसत्र सौराहाको हेटल सेभेन स्टारमा ११ गते विहान ८ बजेदेखि सुरु हुँदैछ । ‘प्रचारप्रसारका सामाग्रीलाई निरुत्साहित गरेका छौं, आचारसंहिता जारी भइसकेको छ,’ उनले भने, ‘सबै उम्मेदवारले अनावश्यक प्रचारप्रसारका सामाग्री प्रयोग नगर्ने अपेक्षा गरेका छौं ।’

उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ । प्यानल बनाएर भोट मागेको भेटिए पनि कारवाही हुने निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि ९२ वटा भोटिङ मेसिनहरु मध्ये ५-७ वटा बाहेक सबै प्रयोगमा ल्याइने बताए । ‘हामी विद्युतीय मतदान गर्ने भएकाले मतदान सकिएको ४ घण्टामै नतिजा सार्वजनिक हुनेछ,’ उनले भने, ‘मतदाताई मतदान गर्न करिब आधा घण्टा लाग्नेछ ।’ उम्मेदवारको अन्तिम नामावली शनिबार बेलुका ६ बजे प्रकाशन गर्ने तयारी छ ।

५० वटा क्षेत्रमा चुनाव हुनेछ । १५ जना पदाधिकारी सहित २ सय २५ जनाको केन्द्रीय कमिटी बन्नेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् । ‘अलमल नहोस् भनेर मतदानस्थल कार्यालय नमूना मतदानका लागि ३ मेसीन राख्दैछौं,’ उनले भने, ‘नमूना मतपत्र पनि बाँडिनेछ ।’

विद्युतीय मतदान गर्दा मतदाताले ५० पटक स्क्रोल गर्नुपर्नेछ । १२ गते विहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुलाई मोबाइलमै उम्मेदवारको विवरण उपलब्ध गराउने तयारी गरेको छ ।

१२ गते बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशित प्रति प्रतिनिधिको हातहातमा पु¥याइने योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर