एमाले केन्द्रीय कमिटीमा हुँदैछ युवा महिलाको ‘सामूहिक डेब्यू’, क-कसले गर्दैछन् तयारी ? (सूचीसहित) – Nepal Press

एमाले केन्द्रीय कमिटीमा हुँदैछ युवा महिलाको ‘सामूहिक डेब्यू’, क-कसले गर्दैछन् तयारी ? (सूचीसहित)

पूर्व माओवादी क्रान्तिकारी निरुदेखि पूर्व राजावादी कोमलसम्म दाबेदार

काठमाडौं । नेकपा एमालेले पहिलो पटक संविधान बमोजिम पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गर्ने भएपछि युवा महिलाले सामूहिक प्रवेश पाउने सम्भावना देखिएको छ ।

२२५ सदस्यीय केन्द्रीय कमिटीमा कम्तिमा ३३ प्रतिशत अर्थात ७५ जना महिला केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । हाल एमालेको केन्द्रीय कमिटीमा १९८ सदस्य छन् तीमध्ये २८ जनामात्र महिला छन् ।

यस हिसाबले दशौं राष्ट्रिय महाधिवेशनबाट हालका महिला नेता कायमै रहँदा पनि करीव ५० जना नयाँ अनुहार केन्द्रीय कमिटीमा इन्ट्री हुनेछन् ।

भूगोलमा काम गरिरहेका धेरै महिला यसपटक केन्द्रीय सदस्यमा आउँदैछन् । पदाधिकारीमै राधा ज्ञवाली, डा.विन्दा पाण्डे, पद्मा अर्याल, थममाया थापा लगायतका महिलाले दावी गरेका छन् ।

विशेषगरि अनेरास्ववियू र युवा संघको नेतृत्वमा रहेर देशभर नेटवर्क बनाएका युवा महिलाको ठूलै संख्या यसपटक एमालेको केन्द्रीय कमिटीमा प्रवेशको प्रयासमा छ ।

विद्या भट्टराई

२० वर्षअघि नै अनेरास्ववियुको शीर्ष नेतृत्वमा रहेकी विद्या भट्टराईदेखि वर्तमान अध्यक्ष सुनिता बरालसम्म यसपटक एमाले नेतृत्वमा आउने प्रयासमा छन् । विद्यार्थी राजनीतिबाट प्राध्यापनमा लागेकी विद्या भट्टराई राजनीतिमा कमब्याक भएसँगै यसपटक केन्द्रीय सदस्यको स्वभाविक दाबेदार हुन् ।

लोकप्रिय युवा नेता रविन्द्र अधिकारीको निधनपछि कास्कीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित विद्या सोही जिल्लाबाट प्रतिनिधि निर्वाचित भइसकेकी छन् । उनी योगेश भट्टराई अखिल अध्यक्ष हुँदा नै कोषाध्यक्ष थिइन् ।

नविना लामा

अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामा यसपटक एमाले केन्द्रीय सदस्य बन्ने चर्चित युवा नेता हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी लामा युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि निर्वाचित भएकी छन् ।

नवौं महाधिवेशनमा केपी ओली पक्षमा खुलेकी लामा अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि महासचिव हुँदै अध्यक्ष बनेकी हुन् । उनी बानेश्वर क्याम्पसबाट २०६२ को निर्वाचनमा लोकप्रिय मतसहित स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकी थिइन् ।

क्रान्ति बुर्लाकोटी

राष्ट्रिय युवा संघबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी क्रान्ति बुृर्लाकोटी एमाले केन्द्रीय कमिटीमा प्रवेश गर्ने नयाँ अनुहार हुन् । युवा संघमा अध्यक्ष किरण पौडेल र उनी सबैभन्दा बरिष्ठ नेता हुन् ।

उनका पिता गुरु बुर्लाकोटी नेकपा एकीकृत समाजवादीमा रहे पनि उनी र पति डा. सन्तोष पौडेल भने एमालेमा सक्रिय रहेका छन् । उनीहरु दुवैजना एमालेको दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन् ।

मेनका, सुनिता र कमला

त्यस्तै अनेरास्ववियुकै केन्द्रीय नेतृत्वमा रहेर हाल भूगोल तथा महिला संघको राजनीतिमा सक्रिय रहेका जुम्लाकी मेनका पछाई, चितवनकी सुनिता अधिकारी, कञ्चनकपुरकी कमला बोहोरा पनि एमाले केन्द्रीय सदस्यका दाबेदार हुन् । त्यस्तै प्रेस चौतारीकी नेतृ निर्मला शर्मा पनि केन्द्रीय सदस्यकी आकांक्षी हुन् ।

मेनका जुम्लाबाट प्रतिनिधि निर्वाचित भएकी छन् भने सुनिता उत्पीडित दलीत संगठनबाट र बोहोरा कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । भूमि आयोगको जिल्ला अध्यक्ष समेत रहिसकेकी कमला चुनावी प्रतिस्पर्धाबाटै प्रतिनिधि बनेकी हुन् ।

नयाँदेखि पूरानासम्म

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल पनि एमाले केन्द्रीय सदस्यको दावेदार हुन् । फागुनमा राष्ट्रिय सम्मेलन गरेर अखिल नेतृत्वबाट बाहिरिनुपर्ने दबाबमा रहेकी बरालले पनि केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् ।

त्यस्तै अनेरास्ववियुकी पूर्व नेता तथा प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने पनि केन्द्रीय सदस्यको उम्मेदवार हुन् । एमाले काठमाडौं जिल्ला कमिटी उपसचिव रहिसकेकी न्यौपाने काठमाडौंबाटै प्रतिनिधि छन् ।

अनेरास्ववियुको राजनीतिमा पार्टीमा लागेकी उषाकिरण तिम्सिना पनि केन्द्रीय सदस्यको दावेदार हुन् । नुवाकोबाट महाधिवेशन प्रतिनिधि बनेकी उषा एमाले अध्यक्षा केपी शर्मा अ‍ोलीको कटु आलोचक मानिन्छिन् ।

तत्कालीन नेकपा विभाजनमा प्रचण्ड माधव समूहमा रहेकी उषा १० बुँदे सहमतिपछि एमाले विभाजनमा माधव नेपालको साथ छाडेकी थिइन् । उनी घनश्याम भुसालको नेपाल अध्ययन केन्द्रको सदस्य पनि हुन् ।

युवा सांसद पनि लाइनमा

प्रतिनिधिसभा सदस्य तथा युवा नेता शान्ति पाख्रिन पनि यसपटक केन्द्रीय सदस्यमा डेब्यु गर्न चाहान्छिन् । माओवादीबाट मारिएका शहीद बुद्धिमान पाख्रिनकी पत्नी शान्ति तीन पटक सांसद भइसके पनि केन्द्रीय कमिटीमा पुग्न पाएकी छैनन् । पाख्रिन स्कूले जीवनदेखि नै अनेरास्ववियुबाट राजनीतिमा आएकी हुन् ।

राष्ट्रियसभा सदस्य कोमल वलीले पनि एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । एमालेमा नयाँ अनुहार रहेकी उनी दाङबाट महाधिवेशन प्रतिनिधि चुनिएकी हुन् । कुनै बेला राजावादी मानिने कोमल वली राप्रपा केन्द्रीय सदस्य छाडेर एमाले बनेकी थिइन् ।

लामो समय गैरसरकारी क्षेत्रमा क्रियाशील रहेकी महिला अधिकारकर्मी शर्मिला कार्की पनि यसपटक एमाले केन्द्रीय सदस्यको दाबेदार हुन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि निर्वाचित भएकी कार्की गैरसकारी संस्था महासंघकी पूर्व अध्यक्ष पनि हुन् ।

त्यस्तै यसपटक एमालेको केन्द्रीय सदस्यमा देखिन सक्ने नयाँ अनुहार हुन् निरु दर्लामी कुँवर । माओवादी जनयुद्धकालमा शीलु नामले चर्चित क्रान्तिकारी नेतृ निरु नेकपा एकता भंग गरेर प्रचण्ड–माधवले केपी ओलीलाई कारवाही गरेपछि ओली पक्षमा लागेकी थिइन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जनमोर्चाका लिलामणी पोखरेललाई सिन्धुली–३ मा छाडेपछि स्वतन्त्र उठेर चुनाव जितेकी निरु हाल एमालेको वागमती प्रदेश कमिटी सदस्य छिन् । उनका पति तत्कालीन विद्रोही माओवादीका केन्द्रीय सदस्य शेरमान कुँवर सैनिक कारवाहीमा मारिएका थिए ।

अन्य जनसंगठनमा रहेका युवा महिलाले पनि एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दैछन् । जनसांस्कृतिक महासंघमा समेत रहेकी गायिका तथा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकी,किसान महासंघकी जिवन्ती पौडेल लगायतका युवा महिला पनि केन्द्रीय सदस्यका दाबेदार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर