एमाले महाधिवेशनः लुम्बिनीका सबै महिला प्रतिनिधि आरक्षण कोटाबाट – Nepal Press

एमाले महाधिवेशनः लुम्बिनीका सबै महिला प्रतिनिधि आरक्षण कोटाबाट

खुल्ला प्रतिस्पर्धा गर्न नपाएकोमा कसैको गुनासो छैन

रुपन्देही । यसअघि महाधिवेशन प्रतिनिधिका लागि खुल्ला प्रतिस्पर्धा गरेकी एमाले नेतृ सावित्रा अर्याल यसपटक महिला आरक्षित कोटाबाट प्रतिनिधि बनिन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीमा रहेकी अर्याल लामो समय महिला सहभागिताका लागि लडेकी नेतृ हुन् । महिलाले लडेर खुल्लाबाटै अगाडि आउनुपर्छ भन्ने आवाज उठाउने अर्याल अहिले भने पार्टीको अनुशासनले बाँधेका कारण महिला कोटाबाट आउनु परेको बताउँछिन् ।

लुम्बिनी प्रदेशबाट एमालेको दशौं महाधिवेशनका लागि चुनिएका २०७ प्रतिनिधिमध्ये खुल्ला कोटाबाट एक जना पनि महिला नआएपछि यो विषय बहसमा आएको छ ।

‘पार्टीमा अनुशासनको कुरा हुन्छ, विधान महाधिवेशनले ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चित गरेको छ, त्योअनुसार प्रतिनिधि सहभागी गराइएको हो’ उनले भनिन्, ‘पार्टीमा अग्रजहरुलाई स्थान दिनुपर्दा यो अवस्था आएको हो, महिला कमजोर भएर होइन, योभन्दा पहिले खुल्लाबाटै लडेको मान्छेलाई सबै अनुभव छ ।’

एमाले लुम्बिनी प्रदेश कमिटी सचिव भूमिश्वर ढकालका अनुसार लुम्बिनी प्रदेशमा खुल्लाबाट १ सय ४५ पुरुष र महिलाबाट ६२ जना प्रतिनिधि छानिएका छन् ।

ढकालका अनुसार खुल्लातर्फ अन्य पुरुष ९२, जनजाति पुरुष २४, दलित पुरुष २०, मधेसी पुरुष ६ र मुस्लिम पुरुष ३ जना निर्वाचित भएका छन् । महिलातर्फ अन्य महिला ४२ जना, दलित महिला ९ जना, जनजाति महिला १० जना र मधेसी महिला १ जना गरी ६२ जना निर्वाचित भएका छन् । निर्वाचित भएका महिला सबै आरक्षित कोटाबाट आएका हुन् ।

रुपन्देहीबाट जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवम् बुटवल उपमहानगर पालिका उपप्रमुख गोमादेवी आचार्य, एमाले रुपन्देही सचिव तथा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरीदेवी चौधरी, देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा अर्यालजस्ता पार्टीमा निरन्तर खटेका महिलाहरु सबै आरक्षित कोटाबाट प्रतिनिधित्व गरेका छन् ।

खुल्लातर्फ पुरुषहरुको संख्या बढी हुने र निर्वाचनमा आउन नसकिने डरले नाम चलेका महिला नेतृहरु आरक्षण रोजेर सुरक्षित हुन चाहेको केही नेताहरुको दावी छ । मतदान प्रक्रियाबाटै छानिएका देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ र तिलोत्तमा नगरपालिका प्रमुख जगेश्वरीदेवी चौधरीसंगै अनेरास्ववियुका केन्द्रीय नेता उमा अधिकारी, प्रदेशसभा सदस्य कमला विश्वकर्मा आरक्षित कोटाबाट महाधिवेशन प्रतिनिधि बनेका छन् ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले पार्टीको वर्तमान अवस्था र नेतृत्वको आग्रहलाई स्वीकार गरेर आफूले महिला कोटाबाट उम्मेदवारी दिएको बताइन् ।

दशौं महाधिवेशनका प्रतिनिधिहरु छनोट गर्दा आरक्षित कोटाबाहेक महिलाहरुले उम्मेदवारी दिने हिम्मत नगरेका कारण सक्रिय राजनीतिमा रहेका महिलाहरु समेत प्रतिनिधि हुनबाट बञ्चित भएपछि महिला सहभागिताबारे बहस हुन थालेको छ ।

प्रतिनिधि छनोटका लागि मनोनयन गर्दा नै सबै महिला नेतृहरुले महिलाका लागि छुट्टयाएको आरक्षित कोटामा मात्रै उम्मेदवारी दिएपछि पार्टीमा काम गरेका तर पहुँच स्थापित गर्न नसकेका महिलाहरु पछाडि पर्नुपरेको गुनासो उनीहरुको छ ।

अधिकारकर्र्मी तथा पत्रकार अमृता अनमोल महिलाहरुलाई अनुशासनको नाममा अवसर नै नदिएका कारण यस्तो समस्या आएको बताउँछिन् । उनले भनिन्– सुरुमा नदिएर हो, प्रतिस्पर्धामा आएकालाई अनेक लोभमा फर्काइएको छ, दोस्रो महिलाहरु छिटो समझदारीमा आउने भएका कारण हो, पाएन भनेपछि उनीहरुले सजिलै चित्त बुझाउछन्, तेस्रो चाहीँ गुटका कारण पनि यस्तो भएको हो, जसरी पनि पार्टीमा एउटै समूहलाई अगाडि बढाउने माथिको निर्देशन भएका कारण पनि यस्तो भएको हो ।

महिला नेतृ देवी वाग्लेले उम्मेदारीको हिम्मतभन्दा पनि समयसापेक्ष विवेकी कार्यकर्ताको कर्तव्य निर्वाह गरेर प्रतिनिधिका लागि दिएको उम्मेदारी पनि फिर्ता गरेको बताउँछिन् ।

रुपन्देही जिल्लाका सबै निर्वाचन क्षेत्रमा खुल्ला प्रतिनिधित्वका लागि कुनैपनि महिलाले उम्मेदवारी नदिएको एमालेले जनाएको छ । यो अवस्था रुपन्देहीमा मात्रै होइन लुम्बिनी प्रदेशका कुनैपनि जिल्लामा महिला नेतृहरुले खुल्ला प्रतिनिधित्वको लागि उम्मेदवारी नदिएको एमाले लुम्बिनी प्रदेश कार्यालयले जानकारी दिएको छ ।

नेताहरुको आन्तरिक तयारी महिला नेतृहरुले बुझेका कारण पनि उनीहरुले खुल्लामा इच्छा व्यक्त गरेनन् भने अर्कोतर्फ जसरी पनि अहिलेको अवस्थामा पार्टीभित्र सर्वसम्मत भयो भन्ने बनाउन यस्तो अवस्था आएको आंकलन गर्नेहरु धेरै छन् ।

एमाले प्रदेश कमिटी अध्यक्ष लिला गिरीले अधिकांश निर्वाचन क्षेत्रमा महिला नेतृहरुले खुल्लाबाट महाधिवेशन प्रतिनिधि बन्नका लागि उम्मेदवारी नदिएको बताए ।

लुम्बिनी प्रदेश सांसद जालपा भुसाल अर्घाखाँचीबाट महिला कोटामा प्रतिनिधि छानिइन् । ‘मैले खुल्लाबाट पनि सजिलै चुनाव जित्नेथिएँ तर कार्यदलका अग्रज कमरेडहरुले सबैलाई समेट्न मलाई यतै दिनुभयो, सबैको सहमतिमा म आरक्षणमा आएको हो’, भुसालले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर