नेपाल-भारतबीचको एयर-बबल हट्यो, तेस्रो देशका नागरिकले पनि भोलिदेखि यात्रा गर्न पाउने – Nepal Press

नेपाल-भारतबीचको एयर-बबल हट्यो, तेस्रो देशका नागरिकले पनि भोलिदेखि यात्रा गर्न पाउने

काठमाडौं । नेपाली र भारतीय हवाइ यात्रुमात्र आवतजावत गर्न पाउने गरी एक वर्षयता कायम रहेको एयर-बबल नियम आजदेखि हटेको छ ।

आजकै मितिदेखि लागू हुने गरी एयर-बबल अवधारणा हटेको जानकारी पर्यटनमन्त्री प्रेम आलेले नेपाल प्रेसलाई दिए । भारतीय नागरिक उड्डयन मन्त्रालयले यो नियम हटाएको जानकारी पत्राचारमार्फत आफूलाई दिएको मन्त्री आलेले बताए ।

गतसाता दिल्लीमा आफ्ना भारतीय समकक्षी ज्योतिरादित्य एम सिन्धियासँगको द्विपक्षीय भेटवार्ताको क्रममा मन्त्री आलेले एयर-बबल हटाउन प्रस्ताव गरेका थिए । उनकै प्रस्तावअनुसार आज भारतीय उड्डयन मन्त्रालयले हटाइएको जानकारी नेपाललाई गराएको हो ।

एयर-बबल हटेसँगै अबदेखि नेपाल र भारतको हवाइ यात्रामा तेस्रो देशका नागरिकले पनि व्यवसायिक उडान गर्न पाउने छन् । कोरोना महामारीको दोस्रो लहर नेपाल र भारतमा उत्कर्षमा पुग्दा दुई मुलुकका नागरिकले मात्र उडान भर्न पाउने गरी सातामा तीन उडान संचालन हुँदै आएको थियो ।

भारतका पर्यटन राज्यमन्त्री अजय भट्टसँग मन्त्री आले ।

भारतले आजैमात्र नेपालसहितका ९९ मुलुकका नागरिकलाई बिना क्वारेन्टिन मुलुक प्रवेश अनुमति दिने घोषणा समेत गरेको छ । नेपाली ध्वजाबाहक जहाजलाई मुम्बई र बैंग्लोरमा उडान भर्न दिन गरेको नेपालको आग्रहलाई भारतले सकारात्मकरुपमा लिएको र केही दिनमै यसबारे जानकारी दिइने मन्त्री आलेले बताए ।

मन्त्री आलेसँगको भेटमा गतसाता भारतीय समकक्षी सिन्धियाले काठमाडौं–दिल्ली–काठमाडौं उडानलाई थप गर्ने समेत वचन दिएका थिए । यसबारे समेत चाँडै निर्णय हुने जानकारी आलेले दिए ।

कोरोनापछि बन्द रहेको काठमाडौैं–मुम्बई र काठमाडौं–बैंग्लोर हवाइ सेवा पनि सुरु हुने संकेत मिलेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर