पदाधिकारी आएको तीन महिनापछि शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक – Nepal Press

पदाधिकारी आएको तीन महिनापछि शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पदाधिकारी पाएको तीन महिनापछि र चालु आर्थिक वर्ष वर्ष २०७८/७९ को चार महिना बित्नै लाग्दा सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महिनामा खुलाइने भएको छ ।

खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुन महिनामा, विषयगत परीक्षा आगामी जेठमा हुने आयोगको वार्षिक कार्यातालिकामा उल्लेख गरिएको छ । कार्यतालिका अनुसार सामान्य परीक्षाको नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षाको नतिजा प्रकाशन आगामी साउनमा हुने आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सुदर्शन मरहठ्ठाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अन्तर्वार्ता आगामी भदौमा सञ्चालन गरी आगामी असोज महिनामा शिक्षक सिफारिस गरिनेछ । तर प्राथमिक तहको हकमा भने कात्तिक महिनासम्म लाग्ने जनाइएको छ ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापन पनि आगामी मङ्सिरमा नै खुल्ने भएको छ । यसको विषयगत परीक्षा भने आगामी फागुनमा सञ्चालन गरेर नतिजा वैशाखमा मात्र सार्वजनिक गरिने छ । यसको अन्तर्वार्ता आगामी जेठमा सञ्चालन गरी असारमा सिफारिस गरिने आयोगले जनाएको छ ।

कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीको बढुवाका लागि आगामी पुसदेखि फागुनसम्म नतिजा सार्वजनिक गरिने र माघदेखि चैतसम्म सिफारिस गरिने भएको छ ।

यसैबीच आयोगले करार सूची आगामी २०७९ मंसिरमा सार्वजनिक गर्ने वार्षिक कार्यातालिकामा उल्लेख गरिएको छ । वार्षिक कार्यतालिकाअनुसार अध्यापन अनुमति पत्रको विज्ञापन आगामी चैतमा सञ्चालन गरी असारमा परीक्षा र नतिजा आगामी असोजमा निकालिनेछ । आयोगको वार्षिक कार्यातालिका अनुसार अध्यापन अनुमति पत्र वितरण आगामी २०७९ साल मंसिरबाट हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *