विदेशबाट फर्केर कालिजपालनमा मस्त लुम्बिनीका युवा – Nepal Press
स्वदेशमै सत्प्रयास

विदेशबाट फर्केर कालिजपालनमा मस्त लुम्बिनीका युवा

रुपन्देही । पहिले  जंगलमा मात्रै पाइने कालिज अहिले सहर–बजारमा पाल्न थालिएको छ । नेपालका जंगलहरुमा पाइने कालिजलाई व्यवसायिक रुपमै पाल्न सुरु गरेर राम्रो आम्दानी गर्नेको संख्या बढ्न थालेको छ । विशेषगरी लामो सयम विदेश बसेकाहरु नेपाल फर्केर भिन्न पेसा गर्न रुचाउनेहरुले यो पेसा अंगालेका छन् ।

नेपालमा कालिजपालन नयाँ व्यवसाय हो । नेपालका जंगलहरुमा पाइने कालिजको व्यवसायिक पालनको लागि सरकारी स्वीकृतिका लागि धेरै समय लागेको व्यवसायीहरु बताउँछन् । सरकारबाट स्वीकृत नपाएपनि पनि विदेशबाट आयात गरिएका विभिन्न प्रजातिका कालिजको व्यवसायिक पालन भने यो क्षेत्रमा बढ्न थालेको छ ।

रुपन्देहीमा विदेशबाट फर्केपछि कृषि फर्मअन्तर्गत कालिजपालन व्यवसाय गर्नेहरु भेटिन थालेका छन् । जसमध्ये धेरै विदेशमा विभिन्न सीप र तालिम लिएर कालिजपालन गर्दा सफल बनेका छन् ।

नेपालीका ठूला चाडपर्वमा यसको व्यपार बढेपछि किसानहरु हौसिएका छन् । दसैँ, तिहारलगायतका ठूला पर्वमा तथा जाडोको मौसममा कालिज खाने प्रचलन बढेको छ ।

रुपन्देहीलगायत देशका विभिन्न स्थानमा कालिजपालन छ । असोजपछिको मौसमलाई चिसो मौसमको रुपमा समेत लिने गरिन्छ । जाडो मौसममा मासु तथा सुपको रुपमा प्रयोग गर्न सकिने कालिज स्वास्थ्यको लागि समेत उत्तम मानिन्छ ।

जाडो मौसममा मासु तथा सुपको रुपमा प्रयोग गर्न सकिने कालिज स्वास्थ्यको लागि समेत उत्तम मानिन्छ । दसैंपछिको मौसमको लागि पनि व्यवसायीहरुले कालिज अहिले हुर्काइरहेका छन् ।

बाग्लुङका सुरेश केसी र बुटवलका मनकाजी थापा लामो समय कोरियामा सँगै बसे । उता अलिअलि कमाएको पैसा र सिप लिएर आफ्नै देशमा केही नयाँ काम गर्ने सोचका साथ उनीहरुले बुटवलमा व्यवसाय गर्न थाले । बुटवलको मिलनचोकमा आमाको भान्सा घर चलाएका छन् । यहाँ उनीहरुले कालिज र बट्टाईको मासु बेच्ने गर्दछन् ।

उनै केसी र थापाले बुटवल उपमहानगरपालिका– १९ रानीबारीमा कृषक एकीकृत वाइल्डलाइफ एण्ड एग्रो फर्म प्रालि संचालन गरेका छन् । जहाँ विभिन्न जातका कालिजपालन भएका छन् । यहाँ अहिले ८ सय कालिज छन् ।

‘रुपन्देहीमा कालिजको व्यवसायिक पालनको सुरुवात हामीले नै गरेका हौं, हामीसँग चल्ला लिएर घरघरमै पाल्नेहरु त धेरै नै हुनुहुन्छ तर ठूलो व्यवसायिक फर्म चलाउने वातावरण अझै बनेका छैन’, संचालक सुरेश केसी भन्छन् ।

कालिजपालनले रकमभन्दा पनि रमाइलो हुने, खानाको लागि स्वास्थ्यकर हुने उनले बताए । बुटवलको अलावा अहिले सबैभन्दा बढी कालिजको माग काठमाडौँमा रहेको छ । एउटा पोथी कालिजले एक सिजनमा ४० देखि ६० वटा अण्डा पार्दछ भने अण्डा ह्याचरिङको लागि राखेको २६ देखि २७ दिनमा अण्डाबाट चल्ला निस्कन्छ ।

कालिजमा रमाएका अर्का व्यवसायी हुन्, बुटवलका बाबुराम श्रेष्ठ । उनी १८ वर्ष इटाली बसेपछि कालिजपालनको लागि हाल बुटवलमा खटिएका छन् । सुरुमा उनले काठमाडौंमा नै कालिजपालन गरेका थिए । उनले नेपालमा व्यवासायिक रुपमा काजिल पालन गर्ने आफू नै पहिलो भएको दाबी गर्दछन् । अहिले बुटवलमा पनि थपेर आफ्नो कालिज फर्मको विस्तार गरेका हुन् ।

बुटवलका स्थायी बासिन्दा श्रेष्ठ बुटवल उपमहानगरपालिका– १७ हरिहरपुरमा बस्न थालेका छन् । जहाँ उनले ४६ सय कालिज पालेका छन् । ती कालिजको पालनपोषण गर्नमै दिन बित्छ ।

इटालीबाट चार वर्ष पहिले फर्किएपछि उनले पहिलोपटक काठमाडौंमा व्यवसायिकरुपमा कालिजपालन गरेका थिए । त्यसपछि फ्रान्समा ९ महिना कालिजसम्बन्धी तालिम लिएर आएका उनले काठमाडांैमा वाइल्डलाईफ एग्रो प्रालि स्थापना गरेर व्यवसायिक कालिज पालन गरेका थिए ।

काठमाडौँको बसाइपछि उनले अहिले आफ्नै गृहनगर बुटवलमा व्यवसायिक कालिज पालन सुरु गरेका हुन् । जहाँ श्रीमती कविता श्रेष्ठको नाममा बाक्स वाईल्ड पार्क प्रालि, लुम्बिनी एबीआई क्लोनी एण्ड रिसर्च सेन्टर प्रालि नामक फर्म स्थापना गरी व्यवसायिक कालिज पालन सुरुवात गरेका हुन् ।

५१ वर्षीय श्रेष्ठले निकट भविष्यमा फर्मलाई अझ विस्तार गर्ने योजना रहेको बताउँछन् । अहिले उनले भने, ‘फर्ममा भालेपोथी गरी ४६ सय बढी कालिज छन् । अब त्यसलाई विस्तार गर्ने सोँचमा छु ।’

उनको फर्ममा अहिले रिङनेङ्ग मंगोलियन क्रस, अमेरिकन क्रस, लगाउतका जताको कालिज पालन गरेका छन् । उनले पालन गरेका कालिजको तौल पनि धेरै हुने भएकोले मासु पनि खानेहरु लागि उपयुक्त हुने गरी व्यावसायिक पालन गरेको बताउँछन् ।

श्रेष्ठले कालिजलाई चाहिने दाना आफ्नै सुत्रअनुसार लुम्बिनी दाना उद्योग प्रालिबाट उत्पादन गर्दै आएका छन् । चल्ला हालेपछि ५ महिनामा बिक्री गर्न सकिन्छ । एउटा भाले ५ महिनामा डेढ किलोसम्म हुने र यसलाई प्रतिभाले ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिँदै आएको सञ्चालक श्रेष्ठको भनाइ रहेको छ । फर्ममा ४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा करिब ५० भन्दा बढीले रोजगारी प्राप्त गरेका छन् ।

चल्ला उत्पादनको लागि हाल विभिन्न ह्याचरिङ उद्योगमा गरिँदै आएकोमा सञ्चालक श्रेष्ठले आफ्नै ह्याचिङ्ग ब्रुडर स्थापना गर्ने योजनासमेत बनाएका छन् ।

१ विघा ५ कठ्ठा क्षेत्रफल रहेको उनको फर्ममा नेटभित्र कालिज पाल्दै आएका उनले जग्गाबाहेक चल्ला र संरचनामा करिब डेढ करोड बढी लगानी गरेका छन् ।

कालिजको दाना उत्पादन बुटवलको लुम्बिनी एग्रो इन्डष्ट्रिज प्रालिले गर्दै आएको छ । सो प्रालिका संचालक भानु केसीका अनुसार रुपन्देही आसपासमै कालिजका फर्महरु खुलेका छन् । उनको उद्योगबाट ४५ जिल्लामा कालिजको दाना जाने गरेको छ ।

कृषि पत्रकार समाज लुम्बिनीका संयोजक कृष्ण खनालले यो क्षेत्रमा कालिजको व्यवसायिक पालन बढ्न थालेको बताए । रुपन्देही, अर्घाखाँची र पाल्पामा सुरु गरेका व्यवायीहरुले राम्रो सफलता पाएकाले अन्य ठाउँमा पनि सुरुवातका लागि साथीहरुले छलफल चलाएको खनाल बताउँछन् । ‘यसका लागि केही कानूनी जटिलता भएकाले व्यवसायीलाई सहज छैन भनेका छन्, तर शुरु गरेका सबै अनुभवी भएकाले राम्रै मुनाफा गरेका छन’, उनले भने ।

लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डाक्टर प्रवेश आलमले निजी क्षेत्रमा कालिजको व्यवसायिक पालन बढ्दै गएको बताए । उनले यो वर्षदेखि बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मबाट चल्ला उत्पादन गर्ने तयारी रहेको जानकारी दिए ।

‘बजार क्षेत्रमा सौखिन व्यक्ति, विदेशमा धेरे समय बसेका व्यक्ति, फरक स्वाद लिन खोज्नेको संख्या बढेकाले यसको माग बढेको हो, यसको सिजनल उत्पादन हुन्छ, एउटै चल्लाको ६ सय पर्छ अनि एउटा वयस्कको तौल डेढ किलो भन्दा माथि हुँदैन, त्यसैपनि यो महंगो हुन्छ’, डा. आलमले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर