सडकको दुरावस्थाले लुम्बिनीमा पर्यटक बिथोलियो – Nepal Press

सडकको दुरावस्थाले लुम्बिनीमा पर्यटक बिथोलियो

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक÷बाह्य पर्यटकको आवागमन बढ्ने अनुमानलाई सडकको अवस्थाले बिथोलेको छ ।

लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र बिस्तारको काम चलिरहेकोले लुम्बिनी क्षेत्रमा आन्तरिक÷बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो ।

नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको बिस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ । सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन् ।

काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्यमै रहेको छ । लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताए ।

विगतमा दशैँ र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको महासचिव अर्यालले बताए ।

महासचिव अर्यालले भने,‘लुम्बिनीमा दशैँपछि पर्यटकको आगमन, चहलपहल शुरु भएको छ, होटलहरु १५ प्रतिशत मात्रै राम्रोसँग चलिरहेका छन्, त्यही पनि शुन्यमा रहेको व्यवसाय १५ प्रतिशतमा पुग्यो, बिस्तारै तिहारपछि अघि जाला भन्ने अनुमान छ, सीजन त आउँदै छ तर पनि हामीले विदेशी पाहुनाहरुको आगमनको अपेक्षा छैन, आन्तरिक पर्यटक बढ्नुहुन्छ कि भन्ने आशा राखेका छौँ, विद्यार्थी, संघ÷संस्था, लगायतको आगमन केही मात्रामा बढ्नुहुनेछ भन्ने आशा गरेका छाैँ, आशावादी छौँ तर सन्तुष्ट हुने अवस्था छैन, यो वर्ष हामी पूरै पीडित नै छौँ, गत वर्षतिरको व्यापार हेर्दा दशैँ र तिहारको बिचमा धेरै व्यापार हुन्थ्यो, सेप्टेम्बरपछि अन्तर्राष्ट्रिय पर्यटकहरुको पनि आगमनको शुरुवात हुने गर्दथ्यो, पहिला यो बीचमा पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौँ, तर यसपालि त्यस्तो देखिएन, लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौँ, सरकारले पनि आवश्यक्ताअनुसार कोभिड भ्याक्सिन पठाएको थियो ।’

लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सिधा जोड्दै छ र आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ । यस्तो अवस्थामा अविलम्व सडक सुधार गर्नु पर्ने आवश्यक्ता रहेको व्यवसायीहरुले बताएका छन् ।

यसकासाथै लुम्बिनीलाई कोरोना मुक्त क्षेत्र भनेर विश्वभर सन्देश दिनसके पर्यटक बढ्ने निश्चित छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *