आयो छठ : सिंगारिँदै जलाशय, बजारमा किनमेल गर्नेको घुइँचो (भिडिओसहित) – Nepal Press

आयो छठ : सिंगारिँदै जलाशय, बजारमा किनमेल गर्नेको घुइँचो (भिडिओसहित)

जनकपुरधाम । तिहार सकिएसँगै श्रद्धा र निष्ठापूर्वक मनाइने लोकआस्थाको पर्व छठको तयारी सुरू भएको छ । तराई-मधेशमा जलाशय (घाट) सिंगार्न स्थानीय व्यस्त छन् ।

जनकपुरको गंगासागर, धनुष सागर, अरगजासगर, दशरथ तलाउ, नोचा पोखरीलगायतका जलाशयलाई दुलही झैं सिंगारिएको छ । सिरहाको लहानस्थित ललकु मावि पोखरीबीचमा सूर्यदेवको विशाल मूर्ति बनाइँदैछ ।

जनकपुरसहित मधेशका बजारमा छठ पर्वमा प्रयोग हुने सामग्री किनमेल गर्नेहरूको भीड लाग्न थालेको छ । बजारमा नाङ्लो (सुपा), केरा, उखु, माटोबाट बनेको हात्तीसहितका समानको माग अधिक छ । यसवर्ष छठका हरेक समानको भाउ महंगिएको किनमेल गर्नेहरू बताउँछन् ।

कात्तिक शुक्ल चतुर्थी अर्थात् भोलिदेखि विधिवतरूपमा छठ सुरू हुँदैछ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन ब्रतालुले हातगोडाका नङ काट्छन् । त्यसपछि स्नान गर्दै चोखोनितो खाएर ब्रत संकल्प गर्छन् । स्थानीय भाषामा यसलाई ‘नहाय-खाय’ भनिन्छ ।

दोस्रो दिन ब्रतालुले दिनभर निराहार व्रत बसी राति सक्खर हालेर पकाइएको अरवा चामलको खीर इष्टदेवलाई चढाउने चलन छ । चढाएको खीर ब्रतालुसहित परिवारका सदस्यहरु प्रसादस्वरूप खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

तेस्रो दिन षष्टी तिथिमा ब्रतालुले निराहार व्रत बसेर साँझपख जलाशयमा अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिन्छन् । ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

त्यसपछि धेरै ठाउँमा सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । कतिपय ठाउँमा घर पुग्छन् र पुनः सप्तमी तिथिका दिन बिहान जलाशय घाटमा पुगेर ब्रतालुले उदाउँदो सूर्यदेवलाई अर्घ चढाउँछन् । त्यसपछि छठ विधिवत समापन हुन्छ ।

छठ पर्व मनाउँदा सन्तान सुख प्राप्त हुनुका साथै परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने गरेको जनविश्वास छ । सूर्यको उपासनाले चर्मरोग पनि निको हुने विश्वास गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर