चाडपर्वका माैलिकता जाेगाऔं, विकृति हटाऔं: उपराष्ट्रपति पुन – Nepal Press

चाडपर्वका माैलिकता जाेगाऔं, विकृति हटाऔं: उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् ।

उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।

सबै खाले चाड पर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ । उपराष्ट्रपतिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभामा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन्,’ सन्देशमा उनले भनेका छन्, ‘महान् चाड तिहारले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु ।’

जनताको लामो सङ्घर्षपछि देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक परिवर्तन प्राप्त भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले यी परिवर्तनलाई संविधानले संस्थागत गरेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *