प्रधानन्यायाधीशविरुद्धको आन्दोलनको पक्षमा उभिन कांग्रेसका १२ नेताको आह्वान (वक्तव्यसहित) – Nepal Press

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनको पक्षमा उभिन कांग्रेसका १२ नेताको आह्वान (वक्तव्यसहित)

काठमाडौं । नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यहरूले सर्वोच्च अदालतमा न्यायिक शुद्धीकरणका लागि भइरहेको आन्दोलनको पक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे , जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै न्यायपालिकाबारे उठेका प्रशनलाई कांग्रेसले नजर अन्दाज गर्न नहुने बताएका हुन् ।

निरंकुशतन्त्रमा पनि न्यायालयको नेतृत्वले नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा विवेकशील र न्यायपूर्ण रुपमा आफूलाई उभ्याउँदै आएको भन्दै उनीहरूले यस यथार्थको उपहास हुने कुनै पनि गतिविधि हुन नदिनु सबैको कर्तव्य र जिम्मेवारी भएको बताएका छन् ।

‘पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधलाई सामान्यरूपमा लिन मिल्दैन । यस्तो पेचिलो परिस्थितिमा पनि केही दल मौन छन् भने केहीले विगतमा न्यायालयले गरेको संविधानको रक्षाको प्रतिशोध साँध्न खोजेका छन् र घटनाक्रमलाई विषयान्तर गर्न प्रयत्नशील छन्’, संयुक्त विज्ञप्तिमा भनिएको छ’, ‘यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालयभित्रको विषय हो उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ ? कदापि मिल्दैन । किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले, आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन ।’

प्रेस विज्ञप्ति

नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वतन्त्रत न्यायालयको ठूलो योगदान रहेको छ।निरंकुशतन्त्रमा पनि न्यायालयको नेतृत्वले नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा विवेकशील र न्यायपूर्ण रुपमा आफूलाई उभ्याउँदै आएको गौरवपूर्ण इतिहास छ।यस यथार्थको उपहास हुने कुनै पनि गतिविधि हुन नदिनु हामी सबैको कर्तव्य र जिम्मेवारी दुवै हो। न्यायालयको स्वतन्त्रता र निष्पक्षता लोकतान्त्रिक शासन प्रणालीको पूर्व शर्त र प्रमुख आधार हो। यसको मर्यादालाई बचाई राख्नु हामी सबैको राजनीतिक, सामाजिक तथा नैतिक दायित्व पनि हो। पछिल्लो समय न्यायालयको नेतृत्वका बिषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको बिरोधलाई सामान्य रुपमा लिन मिल्दैन।यस्तो पेचिलो परिस्थितिमा पनि केही दल मौन छन् भने केहीले बिगतमा न्यायालयले गरेको संविधानको रक्षाको प्रतिसोध साध्न खोजेका छन् र घटनाक्रमलाई विषयान्तर गर्न प्रयत्नशील छन्। यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको बिषय हो उसैले जानोस भनेर नजरअन्दाज गर्न मिल्छ?कदापि मिल्दैन।किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले,आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन । स्पष्ट छ, न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरण बिना न्यायपालिकाको स्वतन्त्रता सम्भव हुँदैन अनि न्यायपालिकाको स्वतन्त्रता बिना नेपाली कांग्रेसले बिश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव छैन । अतः अहिलेको अबस्थामा नेपाली कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायलय शुद्धीकरणको लागि भैरहेको लडाइँको पक्षमा उभिनु पर्छ। लोकतन्त्र र न्यायको आधारभूत मर्म माथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनबिश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो। बीपी भन्नुहुन्थ्यो -”लोकतन्त्रको जग बसाल्न र यसको सुदृढीकरण गर्न न्यायपालिकाको निष्पक्षतालाई अुक्षण्य राख्नु पर्छ।यस्ता संस्था लोकतन्त्रको मात्र होइन,राष्ट्रका सजग प्रहरी हुन।” न्यायपालिकाको निश्पक्षता र स्वतन्त्रताका लागि आज देखिएको समस्या हल गरेर मात्र पुग्दैन, न्यायपालिकाको निश्पक्षताका लागि संविधान, कानून, नियत, अभ्यास, शैली र प्रकृया यी सवैमा गम्भिर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो छ। त्यसैले हाम्रो विनम्रतापूर्वक अनुरोध छ;- नेपाली कांग्रेसले अहिले न्यायप्रणालीका सन्दर्भमा उठेका प्रश्नलाई नजरअन्दाज नगरी समस्याको हल खोज्न जिम्मेवारपूर्वक अविलम्ब अग्रसरता लिनुपर्दछ। साथै विगतमा न्यायलयसंग सम्बन्धित कानूनी र अभ्यासगत रुपमा भए गरेका काम कारवाहीबाट सिक्दै न्यायप्रणालीको संस्थागत विकास, न्यायपालिकाको निश्पक्षता र स्वतन्त्रताका खातिर दीर्घकालिन समाधान खोज्नको लागि नेतृत्वदायी भुमिका पनि नेपाली कांग्रेसले लिनुपर्दछ।

जय नेपाल !

चन्द्र भण्डारी

धनराज गुरुङ

कमला पन्त

रत्ना शेरचन

गगन थापा

बद्री पाण्डे

जीवन परियार

गुरूराज घिमिरे

प्रदिप पौडेल

सरिता प्रसाई

रामकृष्ण यादव

किरण यादव

मिति: २०७८ कार्तिक १२


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर