सुदूरपश्चिममा १२ र १५ गते एमालेको वडा तथा नगर अधिवेशन, बाढीका कारण तालिका प्रभावित – Nepal Press

सुदूरपश्चिममा १२ र १५ गते एमालेको वडा तथा नगर अधिवेशन, बाढीका कारण तालिका प्रभावित

कैलाली । देशका अधिकांश स्थानमा एमालेको नगर र वडा अधिवेशन भइसके पनि सुदूरपश्चिम प्रदेशमा भने कात्तिक १२ र १५ गते मात्रै वडा तथा नगरको अधिवेशन हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोबाट ठूलो क्षति पुगेपछि अधिवेशनहरू सारिएको थियो । तर, तयारी पूरा भएका केही जिल्लाका केही वडामा भने अधिवेशन सम्पन्न भएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए ।

बाढी पहिरोबाट हजारौँ स्थानीय गन्तव्यसम्म पुग्न सकेका थिएनन् । यस्तो अवस्थामा अधिवेशनमा सबै सहभागी हुने सम्भावना कम भएको र तत्काल राहत तथा उद्धारको लागि खटिन आवश्यक देखिएको हुँदा प्रदेशमा १२ गते वडा र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको थियो ।

बाढी तथा पहिरोबाट कम क्षति भएका तथा तयारी पूरा भएका केही क्षेत्रमा भने अधिवेशन सकिए हो। अहिलेसम्म डडेल्धुराको एउटा वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा अधिवेशन सम्पन्न भएको छ । ती क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको सचिव रावलले बताए ।

बाँकी रहेका क्षेत्रमा १२ र १५ गते अधिवेशन गर्ने तयारी भइरहेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै १२ र १५ गते हुने अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरण गर्न समेत आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर