फुमियो किसिदा जापानको प्रधानमन्त्री बन्ने निश्चित, सत्तारुढ दलको नेतामा निर्वाचित – Nepal Press

फुमियो किसिदा जापानको प्रधानमन्त्री बन्ने निश्चित, सत्तारुढ दलको नेतामा निर्वाचित

टोकियो । पूर्वविदेशमन्त्री फुमियो किसिदा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् ।

सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्वमा निर्वाचित भएसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको रोयटर्सले जनाएको छ । केही दिनमा उनले प्रधानमन्त्रीको रुपमा सपथ लिने समेत जनाइएको छ ।

जापानी मध्यमवर्गमा रुचाइने र नम्र स्वभावको छवि बनाएका किसिदाको विजयलाई सत्तारुढ दलको आगामी भविष्यका लागि अर्थपूर्णरुपमा लिइएको छ ।

किसिदाले दोस्रो चरणको मतदानमा पूर्वरक्षा तथा विदेशमन्त्री समेत रहेका तारो कोनोलाई पराजित गरे । दुई महिला उम्मेदवार ६० वर्षिया सानाइ ताकैची र ६१ वर्षिया सेइको नोदा पहिलो चरणमै बाहिरिएका थिए ।

जापानी संसदको तल्लो सदनमा बहुमत भएकाले एलडीपीको तर्फबाट आगामी प्रधानमन्त्री बन्नेमा किसिदा निश्चित भएको रोयटर्सले जनाएको छ । किसिदाले आगामी नोभेम्बर २८ मा राष्ट्रिय चुनाबको आह्वान गर्नुपर्नेछ । साथै, कोभिड–१९ महामारीले थलिएको जापानी अर्थतन्त्रलाई उकास्नुपर्ने चुनौति छ ।

तर, उनको व्यक्तिगत स्वभाव र शैलीको कारण उनलाई सत्तारुढ दलभित्रको विभाजित मतलाई जोगाइराख्न कठिन हुनेछैन । उनीसँग जापानको सुरक्षा र कूटनीतिलाई अमेरिका र क्वाड मुलुकसँग मिलेर अगाडि बढाउनुपर्ने चुनौति पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर