एमालेले मधेशको मुद्दा सम्बोधन गरिसक्यो, अब कार्यान्वयन हुनुपर्छ : महेश बस्नेत – Nepal Press

एमालेले मधेशको मुद्दा सम्बोधन गरिसक्यो, अब कार्यान्वयन हुनुपर्छ : महेश बस्नेत

जनकपुरधाम । नेकपा एमालेका नेता महेश बस्नेतले मधेसको मुद्दा सम्बोधन भइसकेको दावी गरेका छन् ।

जनकपुरमा राष्ट्रिय यूवा संघको जिल्ला कार्यालय उद्घाटन गर्दै नेता बस्नेतले एमाले नेतृत्वको सरकारले मधेसको सबै मुद्दा सम्बोधन गरिसकेको र अब वर्तमान सरकारले कार्यान्वयण मात्र गर्नुपर्ने बताए । उनले उपेन्द्र यादव पटक पटक सत्तामा गएर विदेश भ्रमण मात्र गरेको तर मधेसको मुद्दा सम्बोधन गराउन केही नगरेको आरोप समेत लगाए ।

उनले मधेसमा नागरिकताको समस्या रहेको स्वीकारे । उनले भने, ‘नागरिकताको समस्या समाधान गर्न महन्थ ठाकुर र अध्यक्ष केपी ओलीले अध्यादेश नै ल्याउनुभएको थियो । तर मधेसको नाममा झुठको राजनीति गर्नेहरुले नै समस्या समाधान गर्न दिएन ।’

वर्तमान संविधान जारी गर्नुमा सबभन्दा बढी भुमिका अध्यक्ष केपी ओलीले खेलेको दावी गरे । उनले भने, ‘भारतले समेत संविधान जारी हुन दिने पक्षमा थिएन । संविधान जारी नगर्न काँग्रेस र माओवादीका नेतालाई पनि कन्भिन्स गरिसकेको थियो । तर केपी ओली भारतको दबाब मान्नुभएन । र संविधान जारी भयो ।’

नेता बस्नेतले प्रदेश २ सरकार भ्रष्टाचारी भएको आरोप पनि लगाए । उनले सातै प्रदेशमध्ये सबभन्दा बढी भ्रष्ट प्रदेश २ सरकार भएको बताए । उनले प्रदेशमा भ्रष्टाचार बढेको भन्दै अब संघीयताको पनि समिक्षा गर्नुपर्ने समय आइसकेको उल्लेख गरे ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नवगठित नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि आक्रोश पोखे । प्रचण्ड र माधव अगामी चुनावमा सिद्धिने तथा नेकपा एमाले पुनः दुई तिहाई बहुमत ल्याएर सरकार बनाउने दावी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर