एमाले सांसदहरूको सुझाव- सभामुखको राजीनामा माग्नुपर्छ, एमसीसीमा स्पष्ट हुनुपर्छ – Nepal Press

एमाले सांसदहरूको सुझाव- सभामुखको राजीनामा माग्नुपर्छ, एमसीसीमा स्पष्ट हुनुपर्छ

सदन अवरुद्ध गर्नुपर्नेमा केही सांसदको जोड

काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्नुपर्नेमा जोड दिएका छन् । बानेश्वरमा जारी संघीय संसदीय दलको बैठकमा सांसदहरूले सुझाव राख्दै एमसीसीबारे पनि पार्टीको धारणा स्पष्ट हुनुपर्ने सुझाव दिए ।

‘सभामुखकोमा जाँदा उहाँले जे चरित्र देखाउनु भयो त्यो सभामुख हुन लायक छैन,’ सांसद निरुदेवी पालले भनिन्, ‘त्यसैले सभामुखको राजीनामा माग्नुपर्छ ।’

एमसीसी पारित गर्न नहुने उनको सुझाव छ। ‘एमसीसीलाई समर्थन गर्नुहुन्न,’ उनको माग छ, ‘एमसीसी लागू गर्नुपर्छ भन्ने कुरामा कुनै पनि हालतमा निर्णय गर्न हुन्न ।’

सांसद राजबहादुर बुढाले एमसीसीबारे किटानीका साथ पार्टीको स्पष्ट धारणा मागे । ‘एमसीसी गाउँ तहसम्म गइसकेको छ,’ उनले बैठकमा भने, ‘किटानीका साथ एमसीसीबारे धारणा नदिने हो भने अप्ठ्यारो हुन्छ । सरकारमा को छ भन्ने हेरेर धारणा बनाउने होइन । यसबारे हाम्रो स्पष्ट धारणा ल्याउनुपर्छ । ठीक हो भने यसकारण ठीक हो, बेठीक हो भने यसरी बेठीक भन्नुपर्‍यो ।’

सांसद शिवमाया तुम्वाहाम्फेले सभामुखले गैरकानुनी काम गरेको बताइन् । ‘अहिलेको सभामुख अग्नि सापकोटाले जे गतिविधि गर्नु भएको छ, त्यो गैरकानूनी छ,’ उनले भनिन्, ‘ आजको सभामा त्यसको विरोध गर्नुपर्छ ।’

एमसीसीमा पार्टीको भूमिका स्पष्ट हुनुपर्ने सुझाव दिइन् । सांसद भगवती न्यौपानेले सभामुखको विरोधमा आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्नु पर्ने बताइन् ।

बैठकमा २५ जना सांसदहरूले सुझाव राखेका छन् । अधिकांशले सभामुखको आलोचना गरेका छन् । धेरैको धारणा एमसीसीबारे स्पष्ट हुनुपर्छ भन्ने छ भने केहीले एमसीसी पास गर्न नहुने सुझाव दिएका छन् । सांसदहरूको सुझावपछि संसदीय दलका नेता केपी ओलीले सम्बोधन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर