गण्डकीका मन्त्रीको अकुत सम्पत्ति– लैनो गाईदेखि सुन, हिरा र अर्बौको जायजेथा – Nepal Press

गण्डकीका मन्त्रीको अकुत सम्पत्ति– लैनो गाईदेखि सुन, हिरा र अर्बौको जायजेथा

पोखरा । गण्डकी सरकारमा जिम्मेवारी पाएका मन्त्रीहरुले केही ढिलोगरी सम्पत्ति विवरण बुझाएका छन् । प्रदेशका ११ मन्त्रीमध्ये ९ जनाले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् । युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे र कृषिमन्त्री चन्द्र बुढाले भने विवरण पेश गरेका छैनन् । नियमअनुसार उनीहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो ।

मुख्यमन्त्रीको मनग्ये जायजेथा

सरकारको नेतृतव गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग काठमाडौंमा १५ आना जग्गा १५ लाखमा खरिद गरेको देखिन्छ । तनहुँमा साढे ६ रोपनी जमिनसहित श्रीमती लता पोखरेलको नाममा ३ आना ४ पैसामा बनेको साढे २ तले पक्की घर रहेको खुलाएका छन् ।

उनको ५ लाख रुपैयाँ एभरेष्ट बैंकमा बचत छ । उक्त रकम तलव बापत प्राप्त भएको भनिएको छ । ५ तोला पैतृक सुन देखाएका छन् । २०७६ सालमा उनले कृषि विकास बैंकबाट २५ लाख ऋण लिएपनि उक्त रकम फिर्ता अहिलेसम्म फिर्ता नगरेको विवरणमा देखिएको छ ।

अर्थमन्त्रीको एक करोड ऋण

अर्थमन्त्री रामजी बरालको कास्कीमा मात्र जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनको पोखरामा २२ मा १ रोपनी ४ आना जग्गा छ । सोही ठाउँमा थप ७ हजार २ सय ५ वर्गमिटर पैतृक जग्गा, ४७ लाखमा किनेको थप जग्गा पनि छ ।

उनको नाममा १० हजारको शेयर छ । नगद ३ लाख र सुन ४ तोला रहेको छ । छोरा र बुहारीको नाममा २ वटा मोटरसाईकल र एउटा स्कुटर छ । ६० हजारमा किनेको एउटा गाई पनि छ । २०७७ सालमा एनआईसी एसिया बैंकबाट एक करोड ऋण लिएका छन् । त्यो रकम तिरेको देखिँदैन ।

भौतिकमन्त्रीको भरपूर सम्पत्ति

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कासँग पोखरा १६ दीपमा ३८२ वर्गमिटर जग्गा र पक्की घर छ । उक्त सम्पत्ति पैतृक भएको उनले खुलाएका छन् । उनकी श्रीमती कमला खड्काको नाममा पोखरा ३३ मा २२२ वर्गमिटर जग्गा छ । माइतीतबाट प्राप्त जग्गासँग साटफेर गरेको खुलाइएको छ ।

उनीसँग एक करोड ३२ हजार नगद छ भने ५६ लाख ५० हजारको शेयर छ । उनले ८५ लाख रुपैयाँ अरुलाई ऋण दिएका छन् । यसबाहेक ९५ तोला सुन र ४३ लाख पर्ने फोर्ड गाडी छ ।

ऊर्जामन्त्रीको धनभन्दा ऋण बढी

ऊर्जामन्त्री हरिशरण आचार्यको बुबाको नाममा क्षेत्रफल नखुलेको गोरखा पालुङटारमा जग्गा छ । ८ तोला सुन र ५ तोला चाँदी रहेको पनि सम्पत्ति विवरणमा देखाइएको छ । श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३ लाखमा खरिद गरेको जग्गा देखाएका छन् ।

उनको विभिन्न बैंकमा ५० हजार नगद छ भने कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिएका छन् । हालसम्म १० लाख मात्रै तिरेको देखिन्छ । बैंकबाट लिएको ऋणबाटै फर्निचर उद्योग खोलेको विवरण बुझाइएको छ ।

कानूनमन्त्रीको अकुत सम्पत्ति

कानून, सन्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको पोखराका विभिन्न ठाउँमा ६ वटा घर देखाइएको छ । उनको १०९ कित्तामा जग्गा छ भने ठाउँठाउँमा होटलहरु छन् ।

दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा लगानी छ । सम्पत्ति विवरणअनुसार मन्त्री थापा सबैभन्दा धनी देखिएका छन् ।

१५ तोला हीरासहित ९० तोला सुन, ५० तोला चाँदी पनि उनले देखाएका छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात, साढे सात लाख कित्ता सेयर देखाएका छन् । सबै सम्पत्ति सगोलमा जोडिएको छ । उनको विभिन्न बैंकमा ३० करोड हाराहारी ऋण देखिन्छ ।

दीपक थापाको सुन्तला बगैंचा

वनमन्त्री दिपक थापाको नाममा स्याङजा र पोखरामा जग्गा छ । स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर २ मा पैतृक र खरिद गरेको जग्गा र पोखरा १४ मा ४० लाख तिरेर १७८ वर्गमिटर जग्गा किनेका छन् ।

स्याङ्जाको ८ रोपनीमा उनले सुन्तला बगैंचा बनाएका छन् । विभिन्न बैंकमा १५ हजार नगद देखिन्छ । ३० तोला सुन र २० तोला चाँदी पैतृक छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६१ लाख ५० हजार ऋण लिएको देखाएका छन् । २५ वटा बाख्रा, ७५० बोट सुन्तला, ६ रोपनी जग्गामा नर्सरी सम्पत्तिको रुपमा उनले खुलाएका छन् ।

स्वास्थ्यमन्त्रीको स्कुटर

स्वास्थ्यमन्त्री मधुमाया अधिकारीसँग लमजुङ, चितवन र मकवानपुरमा पनि जग्गा छ । उनले शहीद परिवार राहतका रुपमा पाएको रकम जग्गामा लगानी गरेकी हुन् । ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेका सम्पत्ति विवरणमा खुलाएकी छिन् ।

मेखलालको ८ करोड ऋण

शिक्षामन्त्री मेखलाल श्रेष्ठले सम्पत्तिको नाममा १५ लाख नगद, १ किलो १९ तोला सुन, ७ किलो २ तोला चाँदी र एउटा हिराको औंठी देखाएका छन् । उनीसँग करिव ८ करोड ऋण छ भने भीरकोटमा सुन्तला बगैंचा छ । मन्त्री श्रेष्ठको स्याङजा र काठमाडौंमा दुईवटा घर छन् । व्यापार र पैतृक रुपमा आर्जन गरेका काठमाडौं, पोखरा र स्याङजाका ठाउँठाउँमा जग्गाहरु छन् ।

मणिभद्रसँग ८५ लाखको शेयर

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मणिभद्र शर्माको बाग्लुङ रुपन्देही र चितवनमा जग्गा छ । चितवनमा ३६ लाखको जग्गा किनेका छन् । रुपन्देहीमा ५७ लाख ३५ हजारको जग्गा किनेका छन् भने चितवनमा थप २७ लाख ३५ हजारमा जग्गा खरिद गरेको देखाइएको छ ।

यसबोहक बागलुङकै नरेठाँटीमा श्रीमतीको नाममा ८ लाख ४० हजारको जग्गा खरिद गरिएको छ । लेखानीमा पैतृक जग्गा छ । उक्त जग्गाहरु ऋणमा लिएको उनले खुलाएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा सवा २ लाख नगद छ । उनीसँग विभिन्न कम्पनीको ८५ लाखको शेयर छ भने २ करोड ४० लाख ऋण देखाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर