अभिभावकसँग सहमतिमा मात्र शुल्क लिन विराटनगरका विद्यालयलाई महानगरको निर्देशन – Nepal Press

अभिभावकसँग सहमतिमा मात्र शुल्क लिन विराटनगरका विद्यालयलाई महानगरको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क लिएपछि महानगरले अभिभावकसँगको सहमतिमा मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ ।

लकडाउनको समयमा पनि भौतिक कक्षासरह नै शुल्क लिँदै आएपछि महानगरले पत्राचार गरी अभिभावकसँगको सहमतिमा ५० प्रतिशतभन्दा बढी शुल्क नलिन चेतावनी दिएको हो ।

निजी विद्यालयले अभिभावकसँग लिइरहेको चर्को शुल्क तत्काल रोक्न माग गर्दै अभिभाव र विद्यार्थी संगठनहरूले विरोध गरेका थिए । महानगरपालिकाले पठाएको पत्रमा ५० प्रतिशत शुल्क लिँदा पनि अभिभावकको सहमति लिनुपर्ने उल्लेख छ ।

महामारीका कारण अभिभावकले समेत रोजगारी गुमाएको, व्यापार-व्यवसायमा ह्रास आएको भन्दै मासिक शुल्क आधामात्रै लिनका लागि निर्देशन गरिएको महानगरले जनाएको छ । शैक्षिक प्रशासन प्रमुख दुर्गाप्रसाद खतिवडाले विद्यालय सञ्चालकले महामारीअगाडि सरहकै शुल्क लिएको गुनासो आएपछि कडाइ गरिएको बताए ।

उनले निजी विद्यालयहरूले अभिभावकले थेग्न नसक्ने शुल्क लिएको गुनासो बढ्दै गएकोले ५० प्रतिशतमात्रै शुल्क लिनका लागि निर्देशन गरेको बताए । उनका अनुसार यो निर्देशन संस्थागत विद्यालयका सबै तहका कक्षाहरूमा लागू हुनेछ ।

महानगरले निर्धारण गरेको शुल्कको विषयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरले आफूहरूलाई कुनै पत्र नआएको बताएको छ ।

प्याब्सन महानगरका अध्यक्ष इन्द्र राईले गतवर्षको शुल्क नबढाइकन लिने सहमति दिएको महानगरले अहिले त्यससँग बाझिने गरी परिपत्र गरेको जिकिर गरे ।

‘हामीले अभिभावकको इच्छाअनुसार नै अनलाइन कक्षाको शुल्क लिँदै आएका छौं’, उनको दावी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *