ज्याकोब जुमाः दक्षिण अफ्रिकाका चौथो निर्वाचित राष्ट्रपतिको जेलबास – Nepal Press

ज्याकोब जुमाः दक्षिण अफ्रिकाका चौथो निर्वाचित राष्ट्रपतिको जेलबास

नेल्सन मन्डेलाका क्रान्तिकारी सहयोद्धा । रंगभेदी स्वेत शासनविरुद्ध पर्खालझैं उभिएका स्वतन्त्रता सेनानी । दक्षिण अफ्रिकाका बहुमतप्राप्त राष्ट्रपति । यति बलिया पहिचान बोकेका दक्षिण अफ्रिकाका चौथो निर्वाचित राष्ट्रपति ज्याकोब जुमाको पछिल्ला वर्षहरुमा रसातलमा खसेका छन् ।

उनी भ्रष्टाचारका धेरै कान्डमा मुछिए । आफ्नै पार्टीबाट राजीनामा गर्न बाध्य पारिए । गत हप्ताबाट त जेल नै परे । दक्षिण अफ्रिकी इतिहासकै कारावासको सजाय भोग्ने पहिलो राष्ट्रपति उनी बनेका छन् । उनलाई १५ महिनाको जेल सजाय तोकिएको छ ।

गत असार २३ मा प्रहरीसमक्ष आफैं आत्मसमर्पण गरेका ज्याकोब जुमाको मुद्दा भ्रष्टाचारको हो । उनको कसुर भने भ्रष्टाचारको हैन । भ्रष्टाचारको छानविन गर्न गठित सरकारी आयोगलाई बयान नदिएको र असहयोग गरेको भन्दै उनी दोषी ठहर भएका हुन् । जुमाले भने आफूलाई छानविन आयोगले पक्षपात गर्ने भन्दै पन्छिँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनलाई अदालतले असार १५ (जुन २९) मा फैसला सुनाएर १५ महिना कैद तोकेको थियो । पाँच दिनभित्र अर्थात असार २० भित्र प्रहरीसमक्ष आफैं हाजिर हुन आदेश थियो । हाजिर नभएको खण्डमा तीन दिनभित्रमा पक्राउ गर्न प्रहरीलाई अधिकार दिइएको थियो ।

प्रहरीले निर्धारित समयको सुरुका दिनमा पक्राउ गर्न सकेन । जुमा समर्थकको ठूलो भीड र परिवारका सदस्यहरुको ‘पक्राउ गरे रगतको खोलो बग्ने’ धम्कीको कारण उनी सहजै पक्राउ परेनन् । गत असार २० भित्रै प्रहरीमा हाजिर हुनुपर्ने अदालतको आदेशको म्याद सकिएको दिन आफ्नो घर छेउमा भेला भएका समर्थकसँग जुमाले धेरै भावनात्मक अभिव्यक्ति दिएका थिए ।

७९ बर्षका जुमाले भने, ‘महामारीको यस्तो उचाईमा मेरो उमेरको मान्छेलाई जेल हाल्नु भनेको मृत्युदण्ड दिनु जस्तै हो ।’

दक्षिण अफ्रिकी मिडिया आइविट्नेस न्युजले दक्षिण अफ्रिकामा मृत्युदण्डको कानून आफ्नै संघर्षले सन् १९९५ बाट हटाए पनि आफैंलाई मृत्युदण्ड दिन लागिएको भन्दै जुमाले दुःखेसो पोखेको उल्लेख गरेको छ ।

अन्ततः जुमाले मध्यरातमा आफ्नो गृहनगर कान्साबाट प्रहरी समक्ष आत्मसमर्पण गरे । जुमा पक्राउको बिरुद्धमा दक्षिण अफ्रिकामा हिंसा चर्केको छ । अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ भने १२ सयभन्दा बढी पक्राउ परेका छन् । हिंसा रोक्न सेना परिचालन गरिएको छ ।

यस्तो छ विवादको नालीबेली

ज्याकोब जुमाको कानूनी लफडा १६ बर्ष अगाडिबाट सुरु भएको हो । उनमा लागेको सबैभन्दा ठूलो र पहिलो आरोप बलात्कारको थियो । आफ्नै पारिवारिक साथीलाई बलात्कार गरेको आरोप उनले सन् २००५ मा खेपे । तर, उनी कानुनीरुपमा निर्दोष ठहरिए ।

सोही वर्ष उनलाई सन् १९९९ मा खरिद गरिएको अर्बौं डलरको हतियार खरिदमा पनि जोडियो । उनी उपराष्ट्रपति भएको समयमा भएको खरिदमा जोडिएको यो प्रकरण सन् २००९ मा उनी राष्ट्रपति भएपछि सेलायो ।

सन २००९ देखी २०१८ सम्म राष्ट्रपति भएका उनलाई थप आरोपहरु लागे । सन् २०१६ मा उनलाई विभिन्न १८ भ्रष्टाचारका कान्डहरुमा अदालतले दोषी देखायो । सन २०१६ मै सरकारी खर्चमा आफ्नो निजी घरको स्तरोन्नती गरेको आरोप लाग्यो । पछि उनले राज्यलाई पैसा तिरेको बिबिसीले लेखेको छ ।

सन् २०१७ मा त उनलाई झनै ठूलो संकट आयो । भारतीय मूलका गुप्ता दाजुभाइसँगको उनको अवैधानिक हिमचिमले भएको भ्रष्टाचारको विषयमा न्यायाधीशले नेतृत्व गरेको समिति बनाउने कुरा उठ्यो । जुन कुरा जुमा र गुप्ता दाजुभाइहरु कसैले पनि स्वीकार नगरेको बिबिसीले लेखेको छ । सन् २०१८ मा दक्षिण अफ्रिकाको नेसनल प्रोसिक्युटिङ अथोरिटीले विभिन्न १२ मुद्धामा सजाय हुनुपर्ने निर्क्याेल गर्‍याे । सोही वर्ष उनी रास्ट्रपतिबाट राजीनामा दिन बाध्य पनि भए ।

भारतको राजस्थानबाट सन् १९९३ मा दक्षिण अफ्रिका पुगेका अजय गुप्ता, अतुल गुप्ता र राजेश गुप्तासँग जुमाको नाम धेरै जोडिन्छ । दक्षिण अफ्रिकाका गुप्ता दाजुभाई भनेर चिनिने उनीहरुको कम्पनीसँग अवैधानिक सम्झौता, साँठगाँठ र ठेक्कापट्टा गरेर राज्यकोषलाई घाटा लाएको जुमामाथि आरोप छ । भारतीय समाचार पोर्टल विओनका अनुसार जुमाका छोरा दुदुजाने, छोरी दुदुजिले र श्रीमती बोङ्गी गेमा जुमा कुनै समय गुप्ताको कम्पनीमा काम गर्थे । त्यही सम्बन्धबाट गुप्ता परिवार जुमाको सत्तामा जोडिएको धेरैको भनाइ छ ।

गुप्ता दाजुभाइले कुटनैतिक पासपोर्ट मागेको दक्षिण अफ्रिकाको सन्डे टाइम्सले लेखेको छ । दक्षिण अफ्रिकाका पूर्व अर्थ उपमन्त्री सेबिसी जोनाले आफूलाइ मन्त्रीमा बढुवा गर्न गुप्ता दाजुभाइले सन २०१५ मा अफर गरेको खुलाएका थिए । उनले सन २०१६ को मार्चमा यस्तो बताएका हुन् ।

सन् २०१३ को एक विवाह कार्यक्रमले त गुप्ता दाजुभाइ र जुमाको व्यापक विरोध भयो । विवाहको जन्तीलाई प्रिटोरियाको सैन्य हवाइ अड्डामा राखिएपछि बिरोध भएको थियो । सामान्यता विभिन्न रास्ट्रप्रमुखहरु तथा कुटनीतिक मिसनका सदस्यलाई मात्रै राख्न मिल्ने हवाइ अड्डामा जन्तिका सदस्य राखिएपछि विरोध भएको थियो ।

अझ रोचक त दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तको बिहेका २०० पाहुना बोकेका गाडीलाई प्रहरीले स्कर्टिङसमेत दिएको थियो । गुप्ता दाजुभाइकी बहिनी अच्ला र भारतको दिल्लीका युवा आकाश जहाजगरिया बिचको बिहेका दौरान यी सबै मन्चन भएका थिए । यिनै कान्डबाट गुप्ता दाजुभाइ र जुमाको अधोगति सुरु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले लेखेका छन् ।

सन् २०१८ मा जुमा सत्ताबाट बाहिरिनेबित्तिकै गुप्ता दाजुभाइहरुको पनि समस्या सुरु भयो । अहिले उनीहरु दक्षिण अफ्रिकाबाट पलायन भएका छन् । उनीहरुको सम्पत्ति रोक्का भएको छ । धेरैले उनीहरु यूएईमा लुकेर बसेको अनुमान गर्दै आएका छन् । उनीहरुविरुद्ध इन्टरपोलको रेड कर्नर नोटिससमेत जारी भएको छ । गत सोमबार रेड कर्नर नोटिस जारी भएको हो ।

राजीनामा पार्टीको दबाब

सन् २०१८ मा राष्ट्रपतिबाट बाहिरिनु अगाडि सातवटा अविश्वास प्रस्ताव जुमाले सामना गरेका थिए । राष्ट्रपति निर्वाचित भएको दोश्रो बर्षबाट राजिनामा दिएको अघिल्लो बर्षसम्म लगालगी अविश्वास प्रस्तावहरु आए । सबैमा जुमा टिके ।

सन् २०१० को मार्च १८ मा जुमालाई ‘पदको अयोग्य’ भनेर अविश्वास प्रस्ताव टेबल गरिएको थियो । तर ४०० सदस्य दक्षिण अफ्रिकाको सदनका २४२ सदस्यले राष्ट्रपतिको पक्षमा मतदान गरे ।

सन् २०१२ को डिसेम्बरमा ‘संसदमा उपस्थित हुन असफल’ भनेर अर्को प्रस्ताव पेस भयो । बहुमत नपुग्ने भएपछि फिर्ता भयो । सन् २०१५ को मार्च १७ मा ‘भ्रष्टाचार र अर्थतन्त्र कमजोर’ बनाएकोमा अर्को प्रस्ताव पेस भयो । २२१ ले विपक्षमा र ११३ ले पक्षमा मत गरे । जुमा जोगिए । सोही वर्षको सेप्टेम्बर १ मा ‘कानुनको धज्जी उडाएको’ मा अर्को अविश्वास प्रस्ताव टेबल भयो । २११ ले विपक्ष र १०० ले मात्रै पक्षमा भोट गरेर जुमा जोगिए ।

सन् २०१६ को मार्च १ मा ‘मन्त्रिमन्डल पुनर्गठन’ को बिषयमा भएको अविश्वास प्रस्तावको विपक्षमा २२५ र पक्षमा ९९ मात्रै मत आयो । सोही वर्षको नोभेम्बर १० मा ‘राज्य कब्जा गरेको’ बिषयमा भएको अविश्वास प्रस्तावको पक्षमा १२६ मत मात्र आए पनि विपक्षमा २१४ आयो ।

आधा दर्जन अविश्वास प्रस्ताव झेलेका जुमालाई सन २०१७ को अगस्ट ८ मा अन्तिम अविश्वास प्रस्ताव आयो । ‘मन्त्रिमन्डल पुनर्गठन’ को विषयमा आएको प्रस्तावमा पहिलोपटक गोप्य मतदान भयो । गोप्य मतदान हुँदा पनि जुमा जोगिए । पक्षमा १७७ मत मात्रै आयो भने विपक्षमा १९८ मत । जुमाको अविश्वास प्रस्तावको तिथिमिति सहितको इन्फोग्राफिक्स संसदसम्बन्धी काम गर्ने संस्था पार्लियामेन्ट्री मोनिटोरिङ ग्रुपले बनाएको छ । ‘मोसन अफ नो कन्फिडेन्स जुमा इयर्स’ शीर्षकमा छ इन्फोग्राफिक्स ।

सातवटा अविश्वास प्रस्तावबाट समेत हटाउन नसकिएका जुमालाई उनको सत्ताधारी पार्टी अफ्रिकन नेसनल कंग्रेसले दबाव दिएर राजीनामा गरायो । सन् २०१८ को फेब्रुअरी १४ मा जुमाले राजीनामा दिए । राजीनामा दिने क्रममा जुमाले पार्टी भित्रको हिंसा र विभाजनको कारणले आफूले राजीनामा दिएको बताएका थिए । आफूले पार्टीको निर्णयमा असहमति राखे पनि पार्टीको अनुशासित सदस्य भएकोले राजीनामा दिएको बताएका थिए ।

दक्षिण अफ्रिकी राष्ट्रपति क्रिल रामापाेसा ।

उनले थपेका थिए, ‘मेरो नाममा कुनैको ज्यान जानु हुन्न । र मेरो नाममा अफ्रिकी नेसनल कंग्रेस विभाजन हुनुहुन्न । त्यसैले मैले तत्कालै लागू हुने गरी राष्ट्रपतिको पदबाट राजीनामा दिएको छु ।’

राजीनामा दिनु एक दिन अगाडि अफ्रिकन नेसनल कंग्रेसको राष्ट्रिय कार्यकारी समितिले जुमालाई फिर्ता बोलाउने निर्णय गर्दै फेब्रुअरी १४ भित्र राजीनामा दिन आग्रह गरेको थियो । सोही बमोजिम जुमाले राजीनामा दिएका हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफ्रिकन नेसनल कंग्रेस भित्रको गुटका कारण जुमा राजीनामा दिन बाध्य भएका हुन् ।

बेलायती समाचार संस्था रोयटर्सले जुमाको पक्राउपछि वर्तमान राष्ट्रपति सिरिल रामापोसा र जुमाको गुट अफ्रिकन नेसनल कंग्रेसमा उदांगो देखिएको लेखेको छ । सन् २०१७ मा पार्टी सभापति र २०१८ मा जुमालाई हटाएर राष्ट्रपति भएका रामापोसाको गुटले जुमालाई हटाउन भूमिका खेलेको रोयटर्सले लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर