पहिरोले पाल्पा र दाङमा तीन जनाको मृत्यु – Nepal Press

पहिरोले पाल्पा र दाङमा तीन जनाको मृत्यु

रुपन्देही । बुधवार रातीदेखि परेको अविरल बर्षापछि आएको पहिरोमा परेर पाल्पामा दुई जनाको मृत्यु भएको छ भने दाङमा घरभित्र च्यापिएर एक बालिकाको मृत्यु भएको छ । पाल्पामा पाँच घर पुरिदा दुई जनाको मृत्यु भएको हो । सात जना घाइते भएका छन ।

पहिरोमा पुरिएर तिनाउ गाउँपालिका वडा नंं पाँच गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरुङ र चार वर्षीय बालक आरोप परियारको मृत्यु भएको छ । गुरुङ्गको शव विहीवार विहान र वालक आरोपको शव दिउसो पहिरोले पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोमा परी घाइते हुनेमा ७५ वर्षीया सुन्दरी गुरुङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीय पुजा परियार, ७५ वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना र १५ वर्षीय दिपेश पुन रहेका छन् । घाइते सातजना मध्ये ७५ वर्षीया सुन्दरी गुरुङको अवस्था गम्भीर रहे पनि अन्यको अवस्थामा सामान्य रहेको छ । घाइते सबैको लुम्विनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ ।

पहिरोले घरसँगै सडकसमेत बगाएको छ । स्थानीय विरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर पुरिएको छ । पहिरोबाट विस्थापितलाई कल्याणी आधारभूत विद्यालयमा बस्ने र खाने व्यबस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।

पहिरोको कारण बुधवार रातीदेखि बन्द भएको सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक अझै सुचारु हुन नसकेको छैन । सिद्धवावा, झुम्सा, पानी मिल, हिउदे खोला, लामेदमारमा खसेको पहिरो हटाउने काम भईरहेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए ।

यसैगरी बुधबार राति घरको पर्खाल भत्किंदा दाङमा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीया मनिषा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

चौधरीसहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् । घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *