स्वास्थ्यमन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर पुगे बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण – Nepal Press

स्वास्थ्यमन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर पुगे बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड सहयोग हस्तान्तरण गरेको छ ।

आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

काठमाडौं महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा यस अघि नै प्रमुख शाक्यले गरेकाे थियो ।

सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ ।

बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुगेका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताए।

‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरपालिकाको सम्वन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौैबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

उनले मानवीय विपदका बेला संयमता अपनाएर अघि बढ्न पनि सुझाव दिए । उनले भौतिक क्षति पुर्ननिर्माण गर्न सकिने भए पनि मानवीय क्षतिको परिपुर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्दार कार्यमा जुट्नु पर्ने पनि बताए । उनले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताए ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौं महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गररे। ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’

उनले बाढीग्रस्त क्षेत्रको समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए। मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौं महानगरपालिकालाई धन्यवाद दिए ।

‘यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको छ,’ उनले भने, ‘भगिनी सम्वन्धलाई यो सहयोगले थप बलियो बनाएको छ । हामी काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौँ ।’

कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि काठमाडौं महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे । मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो ।

उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका -१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि  १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *