माधवपक्षको माग- बाढीपहिरोपीडितलाई राहत तथा उद्धारको व्यवस्था गर – Nepal Press

माधवपक्षको माग- बाढीपहिरोपीडितलाई राहत तथा उद्धारको व्यवस्था गर

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल पक्षले बाढीपहिरो र डुबानबाट पीडित जनतालाई राहत तथा उद्धारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

१४ नेताले संयुक्त जारी गरेको विज्ञप्तिमा प्रत्येक वर्ष विपद्‍बाट जनधनको क्षति भइरहेपनि पूर्वतयारीमा भने सरकार जिम्मेवार नभएको टिप्पणी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरू प्रभावकारी, निष्पक्ष र पारदर्शीरूपमा उपलब्ध गराउन हामी नेपाल सरकारसँग माग गर्दछौं ।’

‘वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो । यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ’, विज्ञप्तिमा लेखिएको छ, ‘अहिले मनसुन शुरू मात्र भएको छ । आगामी दिनहरुमा समस्या अझै गम्भीर हुने सम्भावना देखिन्छ । यसको निम्ति समय मै विशेष व्यवस्था गर्नुपर्ने बारेमा राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधिहरू तथा आम जनसमुदायको ध्यान आकर्षित गर्न चाहन्छौ ।’

सो समूहले प्राकृतिक विपत्तिबाट पीडितको उद्धार र राहत कार्यमा सक्रियताका साथ योगदान गर्न पार्टी, जनसंगठन, जनप्रतिनिधिहरू, पार्टी सदस्यहरू, नागरिक समाज तथा सबै सामाजिक संघसंस्थालाई हार्दिक आव्हान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर