घुस काण्डमा मुछिएका अध्यक्ष गाउँपालिका फर्केपछि कर्मचारीले गरे स्वागत – Nepal Press

घुस काण्डमा मुछिएका अध्यक्ष गाउँपालिका फर्केपछि कर्मचारीले गरे स्वागत

जनकपुरधाम । घुस काण्डमा मुछिएपछि फरार भएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि कार्यालयमा उपस्थित भएका छन् ।

आइतबार कार्यालयमा उपस्थित भएपछि अध्यक्ष राउतलाई समर्थक र कर्मचारीहरुले फुलमालाले भव्य स्वागत गरे । तर कार्यालय बाहिर भने उनको विरोध भयो । केही यूवाहरुले ‘भ्रष्टाचारी अध्यक्ष मुर्दावाद’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

फागुन १७ मा ठेकेदारबाट ८ लाख घुस लिएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले अध्यक्ष राउतलाई पछ्याएको थियो । तर उनी आफूले लिएको घुस फालेर भागे । चालक वीरबहादुर मगर भने पक्राउ परे ।

अख्तियारको टोलीले अध्यक्ष राउतले फालेको ८ लाख रुपैयाँ बरामद गरेको थियो । घटनाको तीन महिना नबित्दै अध्यक्ष राउत उम्किन सफल भएका छन् । राउत भने आफलाई फसाउने विरोधिको योजना सफल नभएको बताउँछन् ।

उनले भने, ‘मैले गरेको विकासबाट विरोधीहरुलाई समस्या भएको छ, त्यसैले मलाई फसाउन खोज्यो । तर उनीहरुको योजना असफल भयो र गाउँपालिका फर्केपछि समर्थकले स्वागत गरेका हुन् ।’ केही व्यक्तिले विरोध गरेको कुरा फेसबुकमा फोटो राख्दा थाहा पाएको उनको भनाई छ ।

राउतले भने, ‘सर्वोच्च अदालतले गत वैशाख ८ मा ममाथि अख्तियारले गरेको स्टिङ अपरेसनका आधारमा मुद्दा नचल्ने फैसला गरेको छ । म अतिख्यारमा हाजिर भएँ । सोधपुछपछि मलाई ‘जानुस् काम गर्नुस्’ भनेर छोडियो ।’

तीन महिनापछि आर्थिक वर्ष सकिन लाग्दा अध्यक्ष राउत कार्यालयमा उपस्थित भएपछि विकास निर्माणको काम भने प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर