दिदी आफू हारेर पनि मोदीलाई रोक्न सफल, केरलामा कम्युनिस्टको बहुमत – Nepal Press

दिदी आफू हारेर पनि मोदीलाई रोक्न सफल, केरलामा कम्युनिस्टको बहुमत

दिल्ली । भारतको पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक हुने क्रममा छ । पश्चिम बंगाल, आसाम, पाण्डुचेरी, तामिलनाडु र केरला राज्यमा विधान सभा चुनाव भएको थियो ।

सोमबार बिहानसम्म निर्वाचन आयोगको नतिजा हेर्दा ममता बेनर्जीको दल तृणमूल कंग्रेसले भारी बहुमतसहित पश्चिम बंगालमा सत्तामा ह्याट्रिक गर्ने करिब निश्चित भएको छ ।

आफ्नो निर्वाचन क्षेत्र नन्दीग्राममा पराजित भएपनि ममता बेनर्जीले आफ्नो दल टीएमसीलाई पश्चिम बंगालमा बीजेपीविरुद्ध सानदार जित दिलाइन् । यो जितसँगै बंगालमा तेस्रोपटक टीएमसी शक्तिमा फर्कन लागेको हो ।

भारतको संविधानको धारा १६४ को उपधारा ४ अनुसार संसदको सदस्य नभएपनि बेनर्जी मुख्यमन्त्री हुन पाउनेछिन् । तर, ६ महिनामा हुने उप-निर्वाचनमा उनले जित्नुपर्ने हुन्छ । उपनिर्वाचन हारेमा उनले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने संवैधानिक बाध्यता छ ।

सोमबार बिहान साढे ११ बजेसम्मको मतगणनाअनुसार पश्चिम बंगालको २९२ सिटमध्ये टीएमसी २१३ सिटसहित अगाडि छ । बीजेपी ७७ सिटसहित दोस्रो स्थानमा छ ।

भाजपाले पश्चिम बंगलाको नतिजा आफ्नो पक्षमा पार्न पुरै शक्ति लगाएको थियो । ममताले नन्दीग्रामबाट चुनाव लडेकी थिइन् तर उनी बीजेपीका शुभेन्दु अधिकारीसँग चुनाव हारिन् । चुनावी परिणाम टीएमसीको पक्षमा जाने देखिएपनि भाजपाले पश्चिम बंगालमा राजनीतिक पकड बलियो बनाएको छ ।

पाँचवर्षअघि ३ सिट जितेको भाजपाले यसपटक ७५ भन्दा बढी सिट जित्ने अपेक्षा गरिएको छ । चुनावी नतिजा हेर्दा सबैभन्दा ठूलो धक्का कांग्रेस र बाम गठबन्धनलाई पर्ने देखिएको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसले १ सिट जितेको छ ।

कुनै समय ३४ वर्षसम्म बंगालमा एकछत्र शासन गरेको कम्युनिस्ट पार्टी प्रतिस्पर्धामै देखिएन ।

केरालामा कम्युनिस्ट बहुमत

कुनै बेलाको लालकिल्ला पश्चिम बंगालमा कमजोर उपस्थिती जनाएको बाम गठबन्धन (एलडीएफ) केरला राज्यमा भने विजय हुने करिब निश्चित भएको छ । केरलाबाट गठबन्धनका पिनारायी विजयन विजय हुने जनाइएको छ । बाम गठबन्धनले यसपटक केरलामा एकल सरकार बनाउने देखिएको छ । यसअघि जस्तो हुने सत्ता आलोपालोको परम्परा यसपटक तोडिने अपेक्षा गरिएको छ ।

केरलाको १४० वटा सिटमध्ये बाम गठबन्धन ७६ सिटसहित अगाडि छ । युडीएफ ४० सिटसहित दोस्रो स्थानमा छ भने बीजेपीले एक सिट पनि जित्न सकेको छैन । बाम गठबन्धनको जितले केरलमा विगत चार दशकदेखि प्रत्येक पाँच वर्षमा एलडीएफ र यूडीएफबीच सत्ता आलोपालो हुने क्रम यसपटक तोडिने देखिएको छ ।

दक्षिण भारतको सबैभन्दा ठूलो राज्य तामिलनाडुमा भने एग्जिटपोलहरुको प्रक्षेपणअनुसार नै डीएमके र कांग्रेस गठबन्धनले १५९ सिटमा अग्रता लिइरहेका छन् । पोन्डीचेरीमा भाजपा नेतृत्वको गठबन्धनले राज्यको ३० सिटमध्ये १६ स्थानमा जित हासिल गरेको छ । आसामका १२६ सिटमध्ये ७५ स्थानमा बीजेपी र ५० स्थानमा कांग्रेसले जित हसिल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर