अमेरिकी दूतको भर्चुअल छलफलमा वनमन्त्री आले सहभागी – Nepal Press

अमेरिकी दूतको भर्चुअल छलफलमा वनमन्त्री आले सहभागी

काठमाडौँ । वनमन्त्री प्रेमबहादुर आले र अमेरिकी राष्ट्रपति जो बाइडनका जलवायु विशेष दूत जोन केरीबीच आज भर्चुअल छलफल भएको छ ।

पूर्व अमेरिकी विदेशमन्त्री समेत रहेका केरीले आयोजना गरेको भर्चुअल छलफलमा मन्त्री आले सहभागि भएका हुन् । उक्त छलफलमा ५० वटा देशका मन्त्रीहरु सहभागि थिए ।

भर्चुअल छलफलमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा छलफल भएको मन्त्री आलेले नेपाल प्रेसलाई जानकारी दिए । मन्त्री आलेले सन् २०१५ मा भएको पेरिस सम्झौतामा अमेरिका पुनः जोडिएकोप्रति राष्ट्रपति जो वाइडन तथा अमेरिकी सरकारलाई धन्यबाद व्यक्त गरे ।

उक्त बैठकमा नेपालको तर्फबाट बोल्दै मन्त्री आलेले जलवायु परिर्वतन मानव सभ्यताकै ठूलो चुनौती भएको बताउँदै नेपाल यसबाट अत्यन्त जोखिम रहेको कुरा व्यक्त गरे ।

जलवायु परिर्वतनको मुद्दालाई सम्बोधन गर्न नेपाल पूर्णरुपले प्रतिबद्ध रहेको बताउँदै मन्त्री आलेले पेरिस सम्झौताको प्रतिबद्धताअनुरुप नेपाल सरकारले दोस्रो राष्ट्रिय प्रतिबद्धता योगदान प्रतिबेदन– २०२० पेश गरेको स्मरण गरे ।

मन्त्री आलेले उक्त कार्यक्रममा नेपाल राष्ट्रिय अनुकूलन योजना अनुसार अगाडी बढेको जनाउँदै जलवायु परिर्वतनको दीर्घकालिन रणनीति तयार गरिरहेको समेत जानकारी गराए ।

आगामी दिनमा नेपालका ७५३ वटै स्थानीय तहमा लैङ्गिक उत्तरदायी एवम जलवायु समानुकूलित अनुकुलन योजना लागु गर्ने तयारीमा रहेको समेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी गराए ।

नेपालले वातावरणमैत्री सवारी साधन, न्यून कार्वन, बिद्युतीकरण, रेडप्लस लगायतका कार्यक्रममा लगानी तथा जलवायु मैत्री कृषि प्रविधिमा जोड दिएको र आगामी दिनमा यसलाई थप प्रोत्साहन गर्ने मन्त्री आलेले बताए ।
सोही कार्यक्रममा मन्त्री आलेले नेपालले वित्त अभाबका कारण झेल्नु परेका समस्यालाई सम्बोधन गर्नको लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर