लुम्बिनीमा आयात बढ्यो, कोरोनाकालमा पनि लक्ष्यभन्दा बढी राजश्व – Nepal Press

लुम्बिनीमा आयात बढ्यो, कोरोनाकालमा पनि लक्ष्यभन्दा बढी राजश्व

रूपन्देही । कोरोना महामारीका कारण लामो समय सीमा नाका बन्द गरिएको भए पनि लुम्बिनी प्रदेशस्थित भन्सार कार्यालयहरुले पछिल्लो ६ महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएका छन् । यो अवधिमा आयात उच्च दरमा वृद्धि भएकाले राजश्व संकलन पनि बढेको हो ।

लुम्बिनी प्रदेशमा रहेका तराईका ६ जिल्ला (रूपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया) भारतीय सीमासँग जोडिएका छन् । रूपन्देहीमा भैरहवा (सुनौली), बाँकेको जमुनाह (रूपैडिया), कपिलवस्तुको कृष्णनगर ठूला नाका छन् । पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलाबास र बर्दियाको सुरजपुरलगायत साना नाका हुन् ।

कोरोनाको महामारी रोक्न सरकारले ११ चैत २०७६ को लकडाउनपछि भारतसँगका सबै नाका बन्द गर्ने निर्णय लिएको थियो । यद्यपि नाका बन्द हुँदा पनि आयात–निर्यातमा पूर्ण रोक लगाइएको थिएन । अहिले महामारी बिस्तारै सिथिल भइरहेको र कोरोनाको खोप पनि नेपाल भित्रिएको अवस्थामा सरकारले नाका क्रमशः खुला गर्ने निर्णय गरेको छ । हाल लुम्बिनी प्रदेशका ६ सहित देशभरका ३० नाका खुल्ला गर्ने मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

भैरहवामा लक्ष्यभन्दा बढी राजस्व संकलन

देशकै मुख्य भन्सार कार्यालय भैरहवाबाट गत वर्षको तुलनामा बढी आयात भएको छ । कोरोना संक्रमणका बाबजूद अहिले आयात बढेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत पूर्णप्रसाद लम्साल बताउँछन् ।

‘अहिले आयात बढेकाले लक्ष्यअनुसार राजस्व संकलन भएको छ’, लम्सालले भने । आयात बढी हुनु भनेको उपभोग बढ्नु हो ।

गत आर्थिक वर्ष (२०७६ साउन–पुस) को ६ महिनामा ५४ अर्ब ८१ करोड ७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा जम्मा ४५ अर्ब ४६ करोड ३६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यो लक्ष्यको ८२.९५ प्रतिशत थियो । अर्थात् गत वर्षको सहज अवस्थामा पनि लक्ष्य अनुसार राजस्व संकलन भएको थिएन ।

अहिले चालु वर्षको ६ महिना (साउन–पुस) मा ५२ अर्ब २७ करोड ४५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो भनेको लक्ष्यको १०६.१० प्रतिशत रहेको कार्यालयले जनाएको छ । कार, मोटरसाइकल, सिंगल पिकअप र डबल पिक अप भ्यान, पेट्रोल हाइस्पिड डिजलको आयात बढेकाले राजस्व पनि बढेको भन्सार कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी आयात भएका १० वस्तुमध्ये मोटरसाइकल एक नम्बरमा छ । भैरहवा नाका हुँदै गएको ६ महिनामा १ लाख ६०० थान विभिन्न कम्पनीका मोटरसाइकल भित्रिएका थिए । ती मोटरसाइकलको मूल्य ९ अर्ब ६५ करोड ६६ लाख २९ हजार रहेकोमा राजस्व मात्रै ९ अर्ब ४२ करोड ३३ लाख २१ हजार रुपैयाँ उठेको थियो ।

यसपटक दशैं, तिहार, छठ जस्ता पर्वमा मोटरसाइकलको माग अत्यधिक थियो । आयात बढ्दा लक्ष्यअनुसार राजस्व संकलन त हुन्छ तर रकम भने विदेशिन्छ र यसले आयात निर्यातको खाडल अझै गहिरो गराउँछ ।

चालु वर्षको ६ महिनामा राजस्व बढाउने गरी बढी आएका अन्य सामानहरूमा एमएस बिलेट, ग्लेज टाइल, हाइस्पिड डिजल, पेट्रोल, सिंगल तथा डबल पिकअप भ्यान, मार्वल स्याब, पोलिथिन दाना छन् ।

त्यसैगरी गत ६ महिनामा उक्त नाकाबाट ३ अर्ब ४५ करोड ९ लाख ९६ हजार रुपैयाँ मूल्य बराबरका २ लाख ६४ हजार ९१८ वटा मोबाइल आयात भएको छ । यो नाका हुँदै अहिलेसम्मकै धेरै मोबाइल आयात भएको भन्सार एजेन्ट संघ रूपन्देहीका अध्यक्ष असिम न्यौपानेले बताए ।

कोरोना संक्रमण शुरु भएसँगै एयर कार्गो भएर आउने मोबाइलहरू सडकमार्गबाट आउन शुरू गर्दा मोबाइल आयात बढी भएको न्यौपानेले बताए । मोबाइल आयात बढ्दा राजस्वमा ५४ करोड ६१ लाख ७७ हजार रुपैयाँ थपिएको छ ।

६ महिनामा १ खर्ब ४५ अर्ब ८६ करोड ९९ लाख ७२ हजार रुपैयाँ बराबरको सामान भैरहवा नाका हुँदै भारत र तेस्रो मुलुकबाट आयात हुँदा यही नाका हुँदै २ अर्ब ८६ करोड ६३ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको सामान भारत तथा तेस्रो मुलुक निकासी भएको भन्सार कार्यालय, भैरहवाले जनाएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी लम्सालका अनुसार कोरोना संक्रमणकालमा पनि मालबाहक सामान आयात- निर्यातलाई भैरहवाले निरन्तरता दिएको थियो । उनले सीमा क्षेत्रमा अहिलेको निर्णयले चहलपहल बढाएको भए पनि अस्थायी पैठारीलाई भने स्वीकृति नदिइएको बताए ।

अहिलेको निर्णयले सीमामा सुरक्षा मापदण्ड अपनाएर, स्वास्थ्य कार्यालयले चेकजाँच गरेर नागरिकलाई यताउता गराउँछ । भन्सारमा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन भएको र अघिल्लो वर्षमा जस्तै काम सुचारु भएको पनि बताए ।

जमुनाह नाकामा पनि लक्ष्यभन्दा दुई अर्ब बढी

बाँकेको जमुनाह नाकामा पनि व्यापारिक चहलपहल बढेको छ । कोरोनाकालमा मालसामान आयात निर्यातका लागि खुला गरिएको यो नाकामा पछिल्लो निर्णयले नागरिकलाई आउन–जान सहज भएको छ ।

चालु आर्थिक वर्षको पुस महिनासम्मको ६ महिना अवधिमा नेपालगञ्ज भन्सार कार्यालयमा ७ अर्ब, ५८ करोड ८६ लाख ३५ हजार रुपैयाँ राजस्व असुली लक्ष्य लिएकोमा ९ अर्ब ९० करोड, ७६ लाख ५६ हजार असुली भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार यो अवधिमा नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा २ अर्ब ३१ करोड ९० लाख २१ हजार बढी राजस्व असुली गरेको हो । भारतबाट अवैध रूपमा भित्रिने मालसामान रोक्न नेपालगञ्जस्थित नेपाल–भारत जमुनाह नाकामा कडाइ गरिएपछि राजस्व असुली थप उत्साहजनक भएको छ ।

यो आर्थिक वर्षमा नेपालगञ्ज भन्सारको राजस्व असुली औसत १२० प्रतिशत छ । प्रशासनिक सक्षमता, सरकारी निकायसँगको समन्वय र सन्तुलन तथा चोरी निकासी पैठारी नियन्त्रणबाट राजस्व असुलीमा सफलता हासिल भएको प्रमुख भन्सार अधिकृत भण्डारीको भनाइ छ ।

कोरोना भाइरस महामारीको कारण नेपाल–भारत सीमा औपचारिक रूपमा बन्द रहेको बेला विभिन्न बहानामा हुनसक्ने भन्सार छली कार्य रोक्न सीमामा सुरक्षा जाँचमा कडाइ गरिएको सशस्त्र प्रहरी बल बागेश्वरीका प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

बमका अनुसार अहिले विना भन्सारको मालसामान ल्याउन रोक लगाइएको छ । घरायसी प्रयोजन भए पनि कानून बमोजिम भन्सार तिरेर नै ल्याउन लगाउन नियमित भन्सार निगरानी गर्दै भन्सार छली नियन्त्रण कार्य भइरहेको छ ।

सशस्त्र प्रहरी बलले साउन यतामात्रै डेढ करोड बढीको अवैध रूपमा भित्रिएको मालसामान बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको प्रहरी उपरीक्षक बमले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीअन्तर्गत ग्रामीण सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका सीमा सुरक्षा इकाइहरूले पनि भित्री नाकामा हुने भन्सार छली नियन्त्रणमा लिंदै आएका छन् । भन्सार छलेर चामल, दाल, चिनी, इलेक्ट्रोनिक्स सामान, मल, बीउ, कपडा तस्करी हुने गरेको पाइएको प्रहरी उपरीक्षक बमले जानकारी दिए ।

औषधि उपचारको बहानामा रूपैडिहा जाने तथा अवैध रूपमा क्यारिङ्गमार्फत ल्याइने सामान सीमामा खटिएको सशस्त्र प्रहरीले जफत गर्ने गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ अवैध रूपमा हुने कारोबार रोक्न प्रशासनले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग छलफल गरेर कानूनले तोकेभन्दा बाहेकका कुनै पनि मालसामान, कुनै पनि बहानामा भन्सार नतिरी ल्याउन नदिन निर्देशन दिएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर