जब स्टेयरिङ घुमाउने हातले लाठी उज्याउँछन् – Nepal Press
जब स्टेयरिङ घुमाउने हातले लाठी उज्याउँछन्
ईश्वरीको संघर्षगाथा
समर्पण श्री २०७७ पुष २३ गते ८:१४
२०७७ पुष २३ गते ८:१४

काठमाडौं । डेराबाट ट्याक्सी लिएर निस्कँदा ईश्वरी थापाको साथमा एउटा कसिलो लट्ठी अनिवार्य हुन्छ । छेवैमा राखिएको लट्ठी देखेपछि यात्रुहरू अनायास सोध्छन्– ‘दिदी, तपाईंले यो किन राख्नुभएको ?’ प्रश्नमा उनको हँसिलो जवाफ सुनिन्छ, ‘आफ्नो सुरक्षाको लागि नि !’ यो जिज्ञासा यात्रुलाई मात्र हैन, कहिलेकाहीं प्रहरीलाई पनि हुन्छ । सोधिहालेमा उनी टाठो जवाफ दिन्छिन्– ‘मेरो सुरक्षा तपाईंहरूले त गर्नुहुन्न । यसैले त गर्छ !’

सुन्दा अनौठो लागे पनि यो ईश्वरीको बाध्यता हो । स्टेसनपिच्छे आउने समस्याहरूलाई उनले सामना गर्नुपर्छ । त्यसमाथि महिला चालक भएर स्टेयरिङ घुमाउँदा दुःखका थुप्रै चक्कर काट्नुपर्ने हुन्छ । र नै स्टेयरिङ समाउने हातले ईश्वरी कहिलेकाहीं लाठी उज्याउँछिन् । ट्याक्सी चढेर पैसा नदिने, धम्क्याउने र ठगी गर्न खोज्नेहरूलाई उनी यसैले ठीक पार्छिन् ।

एकपटक गट्ठाघर चोकमा उनी यात्रुको प्रतीक्षामा थिइन् । एक जना पुरुष आए । लुभु बसपार्कबाट ६ किलोमिटर माथि पुग्नु रहेछ । त्यहाँबाट त्रिपुरेश्वर हुँदै पुनः गट्ठाघर । सिटमा बसेर लोकेसन बताएपछि ईश्वरीको ट्याक्सी हुँइकियो । ती पुरुषलाई गन्तव्यमा ल्याइपुर्‍याएपछि उनले भाडा मागिन् । तर, पुरुषको खल्ती रित्तो रहेछ । ईश्वरीको अनुहार क्रोधले रातो भयो । पैसा नझरेपछि उनले प्रहरी गुहारिन् । ‘पैसा रहेनछ उसँग । के गर्नु, अब माया मारिदिनु दिदी’ प्रहरीका असईले भने ।

त्यही कमाइले साँझमा चूलो बल्थ्यो । घरका अभावहरू टर्थे । पसिनाको मूल्य त्यसै कहाँ छोड्थिन् ! आफू ठगीमा परेको भान भयो । आवेगमा ईश्वरीले लट्ठी झिकिन् र ती पुरुषलाई दुई लाठी बजाइन् ।

यो आक्रोशले उनलाई हिरासतसम्म पुर्यायो भने प्यासेन्जरलाई अस्पताल । प्रहरीले नियन्त्रणमा लिएर भित्र राखेको केहीबेरमा ईश्वरी छुटिन् । ‘म त छुटें । पछि अस्पताल लगेका ती प्यासेन्जर अस्पतालबाटै भागेछन्’ ईश्वरी सम्झिन्छिन् ।

त्यही कमाइले साँझमा चूलो बल्थ्यो । घरका अभावहरू टर्थे । पसिनाको मूल्य त्यसै कहाँ छोड्थिन् ! आफू ठगीमा परेको भान भयो । आवेगमा ईश्वरीले लट्ठी झिकिन् र ती पुरुषलाई दुई लाठी बजाइन् ।

त्यो बेलामा लट्ठी प्रयोग गरेको सम्झेर उनी अहिले चुक्चुकाउँछिन् । ‘मैले हान्नु त नहुने थियो । तर, यति नगरेसम्म यो पेशामा कसरी टिक्नु !’

यो एउटै घटना भने होइन । कहिलेकाहीं समूहमा आउने डरलाग्दा युवकहरू ट्याक्सी चढेपछि भन्छन्– ‘भाडा दिंदैनौं । यस्ता ड्राइभर त मारेर फालिदिन सक्छौं ।’

त्यतिबेला उनको धड्कन तेजले बढ्छ । आफूलाई भित्रभित्रै सम्हाल्छिन् । अनि भद्र हुँदै सम्झाउने प्रयत्न गर्छिन् । ‘जतिपटक गाडीको गियर चेन्ज गर्छु, त्यतिपटक उनीहरूलाई लाइनमा ल्याउने कोशिश गर्छु’ उनी आँटिलो सुनिन्छिन्, ‘यति गर्दा नि भएन भने लट्ठी बजाउँछु ।’

जीवनको एक दशक त ईश्वरीले ट्याक्सी कुदाएरै विताइन् । यो बीचमा थुप्रै आरोह–अवरोह छिचोलेकी छन् उनले । डाँकाहरूबाट पैसा लुटिंदा मृत्युको सम्मुख पुगेको भानसमेत गरेकी छन् ।

 

जब मोबाइल र नगद लुटियो

करीब चार वर्षअघि । एक साँझ कोटेश्वरबाट उनको ट्याक्सीमा युवती चढिन् । स्वयम्भू जानु रहेछ । युवतीले भनेकोे लोकेसनअनुसार ट्याक्सी स्वयम्भूमाथि लगिन् । ट्याक्सी रोकेपछि उनको सातो उड्यो । युवतीले इशारा गर्नेवित्तिकै डरलाग्दा पुरुषको समूहले ईश्वरीलाई घेरे । खोतलखातल पारे । २० हजारको मोबाइल र २५ हजार जति नगद झिके । प्रतिकार गर्न नसकेपछि ईश्वरी मौन बसिन् ।

लुटेरा समूह लुटेर भागे । डरले ईश्वरीको ओठमुख सुकिसकेको थियो । उनी हतारहतार तल झरेर प्रहरी गुहार्न पुगिन् । ‘पछि प्रहरी लिएर जाँदा उनीहरू लुकिसकेका थिए’ ईश्वरी त्यो क्षण सम्झिन्छिन् । त्यसबेला दशैं नजिकिंदो थियो । त्यो वर्ष ईश्वरीको दशैं खल्लो भयो ।

यस्ता घटना दोहोरिरहन्छन् । ट्याक्सी चढेर भाडा नदिई भाग्नेहरू पनि थुप्रै छन् । एकपटक एउटा प्यासेन्जरले झोलामा कार्टुन हालेका रहेछन् । ट्याक्सी हुँइकिंदै पर पुगेपछि ती प्यासेन्जरले भने– ‘दिदी, एकपटक रोक्नुस् त, म पर पुगेर आइहाल्छु ।’

लुटेरा समूह लुटेर भागे । डरले ईश्वरीको ओठमुख सुकिसकेको थियो । उनी हतारहतार तल झरेर प्रहरी गुहार्न पुगिन् । ‘पछि प्रहरी लिएर जाँदा उनीहरू लुकिसकेका थिए’ ईश्वरी त्यो क्षण सम्झिन्छिन् । त्यसबेला दशैं नजिकिंदो थियो । त्यो वर्ष ईश्वरीको दशैं खल्लो भयो ।

‘सामान छाडेर गएको छ । आउला भनेर कुरें । निकै बेर कुरेपछि पनि आएन । कार्टुनमा के छ भनेर हेरेको थोत्रा जुत्ता र इँटा हालेर भागेको रहेछ’, उनी सुनाउँछिन् ।

केही महिनाअघि मात्रै ईश्वरी पुनः ठगिनुपरेको थियो । उनी हस्पिटलमा बिरामी छाडेर बाटोमा फर्किंदै थिइन् । एउटा प्यासेन्जरले रोक्दै भने, ‘दिदी जडीबुटी जाऊँ न ।’

उनले ती प्यासेन्जरलाई जडीबुटी पुर्याइन् । प्यासेन्जरले हजारको नोट निकालेर दिए । ईश्वरीले भनिन्– चानचुन छैन नि !

त्यसपछि चानचुन ल्याउँछु भनेर गएको प्यासेन्जर फर्केर आएनन् । ‘झण्डै तीन घण्टा कुरें । तर आएन’ उनी दुःखी सुनिन्छिन् । यसरी ठगिनुपर्दा धेरैपटक रित्तोहात डेरा फर्कनुपरेको ईश्वरीको अनुभव छ ।

यी सबै कुरा त उनले सहेकी छन् । तर, एउटै कुराले उनलाई कहिलेकाहीं चालक हुनुमा पश्चात्ताप हुन्छ । ‘अरू त ठीकै थियो, ट्राफिकहरूले विना कारण मुख छाड्दा भने आफ्नो पेशादेखि विरक्त लागेर आउँछ । त्यो क्षण धिक्कार छ ड्राइभरको जिन्दगी जस्तो लाग्छ’ उनी भावुक देखिन्छिन् ।

धेरै पटक ट्राफिकको अपशब्दको शिकार भएकी छन्, उनी । अपशब्द मात्र हैन, प्रत्यक्ष ठगिनुको पीडा पनि ईश्वरीसँग छ । विभिन्न बहानाबाजीमा चिट काट्दा भने ईश्वरीलाई भाउन्न हुन्छ । ‘हामी ट्राफिकबाट भागिरहेका हुन्छौं । उनीहरू दुःख दिन छाड्दैनन् । लकडाउनबाट भर्खरै उत्रेको बेलामा उनीहरू चिट काट्न तत्पर हुन्छन् । के यस्तो बेलामा पनि हामीसँग ठगी गर्न मिल्छ ?’ उनी प्रश्न गर्छिन् ।

ट्याक्सीको खोजीमा भौंतारिएको वर्ष

‘दिदी मलाई गाडी खोजिदिनु न’ लाइसेन्स प्राप्त गरेका नयाँ चालकको आग्रह कहिलेकाहीं ईश्वरीको कानमा ठोक्किन्छ । त्यसदिन रातभरि उनमा निद्रा पर्दैन । ‘विचरा कुनै बेला मैले जस्तै गाडी नपाएर छट्पटाएको पो हो कि’ मनमा यावत् कुराहरू खेल्छन् । त्यसक्षण आफूले गाडी चलाउन नपाएर भौंतारिंदाको क्षण उनको स्मृतिमा छरिन्छन् ।

ट्याक्सी चालक हुनुअघि ईश्वरीले केही वर्ष होटल चलाएकी थिइन् । त्यसपछि टेलरिङ गरिन् । पाँच वर्ष टेलरिङ गरेपछि त्यसमा पनि सन्तुष्ट हुन सकिनन् । टेलरिङ छाडेर किराना पसल शुरू गरिन् । त्यसमा पनि मन नअडिएपछि मासु पसलतिर लागिन् । तर खुशी यता पनि छैन । ‘मासु बेच्दा दिनमा ३०० भन्दा बढी कमाइ हुन्नथ्यो । त्यही पैसाले कोठाभाडा तिर्र्नु, बच्चा पढाउनुपथ्र्यो । नपुगेपछि छाड्ने विचार गरें’ ईश्वरी सुनाउँछिन् । एकदिन ट्याक्सी चढ्दै गर्दा उनलाई लाग्यो– अब ट्याक्सी सिक्नुपर्‍यो । कमाइ यसमा पो हुन्छ कि !

मासु पसल थन्क्याएर उनी ड्राइभिङ सेन्टर हानिइन् । ड्राइभिङ सिकिन् । सिकेलगत्तै लाइसेन्स पनि झिकिन् ।

अब सडकमा ट्याक्सी गुडाएर गुजारा टार्ने रहर थियो । उनी ट्याक्सी खोज्न हिंडिन् । तर, पाउनु कहाँ सजिलो थियो ? लाइसेन्स भएर पनि ट्याक्सी नपाउँदा ईश्वरी पाँच वर्ष भौंतारिइन् । ‘मलाई ट्याक्सी दिनुहोस् म चलाउँछु भन्दा पनि कसैले दिएनन् । महिला भएकै कारण पुरुषले विश्वास गर्दैनथे’ उनी सुनाउँछिन् ।

यसरी भौंतारिने क्रममा उनले पेप्सीकोलाका जीवन खड्कालाई भेटिन् । उनले विश्वास गरे । शुरूमा ५० हजार धरौटी राखेर ईश्वरीले ट्याक्सी चलाउने भइन् । गाडी पाएपछि हौसिंदै सडकमा लगेर उनले असीमित खुशी साटिन् । पछि उनले विस्तारै बाँकी पैसा तिरिन् । र ट्याक्सी आफ्नो बनाइन् । शुरुमा उनले सडकमा ट्याक्सी हाँक्दा ट्याक्सी चलाउने महिला थिएनन् । पुरुषहरूले रोकिहाले भने पनि उनलाई देखेपछि भन्थे– आईमाईले चलाएको ट्याक्सीमा त के चढ्नु !

तर, विस्तारै उनको कामलाई प्रशंसा गर्ने पनि भेटिए । महिला चालक देखेपछि कतिले बाहिरैबाट सल्युट गर्थे । धन्यवाद भन्थे । त्यतिबेला भने ईश्वरी आफ्नो कामप्रति गर्व गर्थिन् ।

संघर्षले बनाएको छवि

ईश्वरी हक्की स्वभावकी छिन् । उनको जंगी स्वभावलाई चिन्ने कतिपयले त ‘हरामी दिदी’ भनेर जिस्क्याउँछन् । बाल्यकालको संघर्षले नै आफूलाई हक्की बनाएको ईश्वरीको अनुभव छ । ‘१३ वर्षको उमेरमै पिचमा काम गर्न थालेकी म । स्कूलको आँगन टेक्नै पाइनँ । यस्तै भोगाइले मलाई हक्की बनायो’, उनी सुनाउँछिन् ।

ईश्वरी स्याङ्जामा जन्मेकी । सानोमै बुबा गुमाइन् । बुबाको अनुहार कस्तो थियो थाहा छैन ईश्वरीलाई । आफूभन्दा मुनिका दुई बहिनी । घरमा खानै धौ–धौ पर्ने स्थिति आएपछि उनी काम गर्न बाध्य भइन् ।

ट्याक्सी चलाउन ठप्प हुँदा चालकहरू आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनमा ईश्वरी पनि मिसिएकी थिइन् । ‘आन्दोलनताका हामी रातभर सडकमै सुत्यौं’, उनी सुनाउँछिन् ।

सडकमा पिचको काम गर्दागर्दै उनलाई काठमाडौं जान रहर जाग्यो । कस्तो हुन्छ काठमाडौं हेर्नुथियो । एकदिन बसको ढोका समाएर ईश्वरी काठमाडौं हान्निइन् । गाडीले बिहान काठमाडौं ल्याइपुर्‍याउँदा उनलाई अनौठो लाग्यो । ‘एकजना चिया बेच्ने दिदीको नजिक गएँ । दिदीलाई सबै कुरा सुनाएँ । अनि ती दिदीले आश्रय दिइन्’, ईश्वरी पुराना दिन सम्झिन्छिन् ।

त्यसपछि उनले तरकारी व्यापारबाट काठमाडौं सफर शुरू गरिन् ।

लकडाउनले उब्जाएको दुःख

उमेरले ३८ टेकिन् ईश्वरी । भक्तपुरमा बस्छिन् । साथमा २० वर्षकी छोरी छिन् । श्रीमान्सँगको डिभोर्सबारे कसैसँग खुल्न चाहन्नन् । केही समयअघिसम्म तीन जना अनाथ बच्चाहरू पनि पालेकी थिइन् । ‘एउटा परिवार थियो । आमा अर्कैतिर लागिन् । बाबुले अर्को श्रीमती ल्यायो । मेरा आँखाले तीन जना कलिला बच्चाहरूको दुःख देख्न सकेन । अनि आफूसँगै ल्याएँ’, उनी सुनाउँछिन् ।

१० वर्षअघि उद्धार गरेर ल्याएका तीन बच्चामध्ये जेठो छोरो १८ वर्षका भए । अहिले उनी ईश्वरीबाट टाढा छन् । अर्का दुई जनालाई होस्टल हालिदिइन् । ‘मदन राई सरमार्फत निःशुल्क होस्टल हालिदिएँ । बेला बेलामा कपडाहरू पनि हालिदिने गर्छु’, उनी भन्छिन् ।

अहिले त त्यही कपडा हालिदिने पैसा पनि छैन ईश्वरीसँग । लकडाउनले उनैलाई अलपत्र पारिदियो । बचत भएको केही रकम लकडाउनमा सकियो । ‘लकडाउन नखुलेको भए खान नपाएरै मर्ने स्थिति हुन्थ्यो’, उनी सुनाउँछिन् ।

ट्याक्सी चलाउन ठप्प हुँदा चालकहरू आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनमा ईश्वरी पनि मिसिएकी थिइन् । ‘आन्दोलनताका हामी रातभर सडकमै सुत्यौं’, उनी सुनाउँछिन् ।

त्यही लकडाउनको प्रभाव अहिलेसम्म छ ईश्वरीको दैनिकीमा । पहिलेजस्तो कमाइ अचेल ट्याक्सीमा हुन छाडेको छ । होस्टलमा भएका बच्चाहरू तातो लुगा भएन भन्दै रुन्छन् । उनी भित्रभित्रै दुःखित हुन्छिन्– ‘यो जाडो बच्चाहरूलाई चिसै बनाएर बित्ने भयो ।’ कपडा किनिदिन पनि पैसा छैन उनीसँग ।

उनको नीरस अनुहारको दाहिने आँखामा गिर्खो बढेको देखिन्छ । हातले इंगित गर्दै सुस्केरा काढ्छिन्, ‘अरू त के ! आफ्नै आँखाको अप्रेसन गर्नुपर्ने, यत्ति पनि सकेकी छैन !’

 

भिडियाे

 

अडियाे