कमरेड माधवः अझै समय छ, बाटो मोड्नुस् – Nepal Press

कमरेड माधवः अझै समय छ, बाटो मोड्नुस्

समकालीन राजनीतिक नेतृत्वसँग जनताले कुनै आशा र भरोसा त गरेकै छैनन् । कमरेड माधव नेपाल तपाईं पनि त्यही समूहको नेतामा पर्नुहुन्छ । तर तपाईं जीवन र राजनीतिको उत्तराद्र्धमा आएर थप गल्ती गर्ने दिशातर्फ मोडिनुभएको छ । जसका कारण तपाईंलाई जस्तोसुकै परिस्थितिमा साथ दिंदै आएका समर्थक र सहयोगी समेत गुमाउँदै हुनुहुन्छ । तसर्थ एउटा शुभ चिन्तकको हैसियतले प्रचण्डको कार्यकर्ता बनेर दोस्रो दर्जाको अध्यक्ष बन्नुभएकोमा तपाईंलाई बधाई दिन सकिएन । माफ गर्नुस् ।

सबैभन्दा पहिला त स्थिरताको लागि जनताले दिएको दुईतिहाइको तपाइँहरू सबैले खिल्ली उडाई नै सक्नुभयो । तपाईं भने आवेग, हतास र प्रतिशोध साध्ने नाउँमा थप गल्ती गर्दै हुनुहुन्छ । विगतका दिनमा तपाइँलाई साथ दिंदै आएका ‘ग्रासरुट’का कार्यकर्ताले तपाईंको साथ छाडिसकेका छन् ।

सबैभन्दा पहिला केही प्रश्न ! तपाईंका लागि यो विषम परिस्थितिमा ओली भन्दा प्रचण्ड कसरी प्रिय भए ? प्रचण्डमा त्यस्तो चामत्कारिक अद्भुत क्षमता के देख्नुभयो र उनकोे कार्यकर्ता बन्न तयार हुनुभयो ? पार्टीलाई डेढ दशक नेतृत्व गरिसक्नुभएको तपाईंले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बेला बहकाउमा लागेर किन प्रचण्डको गोटी बन्नुभयो ?

प्रधानमन्त्री ओलीका कमजोरीका चाङ होलान् । उनले जसरी दल र सरकारलाई अघि बढाउनुपर्ने थियो त्यसमा चुके होलान् । तर त्यसो भन्दैमा देशलाई राजनीतिक अस्थिरतातर्फ धकेलेर तपाईंलाई के फाइदा होला ? के उसो भए यो सब त्यही दोस्रो अध्यक्ष बन्नकै लागि थियो ? देशको एकपटक प्रधानमन्त्री भइसक्नुभएको तपाईं यी र यस्तै प्रश्नै प्रश्नको घेरामा हुनुहुन्छ ।

ओलीका धेरै बैगुन हुनसक्छन् । सरकारको नेतृत्व गरिराख्दा स्वच्छन्दता देखाएका पनि होलान् । अहिले नेतृत्वमा रहँदा तपाईंलाई कर्नरमा पनि पारे होलान् । तर पनि हिजोका आम एमालेजनले प्रचण्डसँग घाँटी जोडेर ओलीलाई प्रहार गर्ने तपाईंको उल्टो यात्रालाई रुचाएका छैनन् । विगतमा प्रचण्डपथको माओवादीबाट कुिटएका, काटिएका, घाइते बनाइएका एमालेका नेता कार्यकर्ता प्रचण्डको कार्यकर्ता बन्न तपाईंसँग सती जाने छैनन् ।

अहिलेको तपाईंको कदमले तपाईं माथि लाग्ने गरेको पदलोलुपको आरोपलाई थप पुष्टि गरेको छ । सिंगो पार्टीको अध्यक्ष बन्ने अवसरलाई लात हान्नुभयो । केही महिना समेत पर्खन नसक्ने अस्थिर स्वभाव देखाएर एउटा गुटको दोस्रो अध्यक्ष बन्न राजी हुनुभयो । फुटलाई जोगाउन भन्दा प्रश्रय दिनुभयो । टुटफुट, जालझेल र अस्थिरतासँग सधैं रमाउने प्रचण्डसँग घाँटी जोडेर अर्को गल्ती गर्नुभयो ।

हिजोका दिनमा एमाले निर्माणमा पसिना बगाएका आम कार्यकर्ताको भावनामा चोट पुर्याउनुभयो । तसर्थ भावनामा बहेर क्षणिक आवेगमा आएर लिएको निर्णयबाट पछाडि फर्कनुस्, समय छ । गल्तीबाट पाठ सिक्नुस्, नदोहोर्याउनुस् ।

कमरेड अहिले फुटेको हिजोको एमाले हो, माओवादी होइन । जुन प्रचण्डले चाहेका थिए । धेरै रापताप र हण्डार खाएर पनि सतिसाल झैं ठडिएको पार्टी हो एमाले । वि.सं. २०७४ सम्म आइपुग्दा सहजै एकल बहुमत ल्याउने स्थानमा पुगिसकेको थियो । वि.सं. २०६४ मा खाएको चोटको बदला २०७४ मा एकल रूपमै पूरा गर्न सक्षम भइसकेको थियो ।

गाउँदेखि शहरसम्म, हिमालदेखि तराईसम्म राजनीतिक सुसंस्कारबाट प्रशिक्षित लाखौं कार्यकर्ता थिए । लोकतान्त्रिक अभ्यासमा अभ्यस्त चुस्त संगठन थियो । परिवर्तनका निम्ति आम जनताको आशा र भरोसा एमालेप्रति जाग्दो थियो । तर ठीक विपरीत हिजोको एमाओवादी नेपाल मजदूर किसान पार्टी र प्रजा परिषदको पथमा पुगिसकेको थियो ।

रोल्पा र रुकुमलगायत केही जिल्लामा थोरै पकड भए पनि २०७४ सम्म आइपुग्दा चोइटिएर, टुटेर, फुटेर पूरापूर मक्किइसकेको थियो । कांग्रेससँगको गठजोड पनि असफल भइसकेको थियो । आफ्नै छोरीलाई चुनाव जिताउन मतपत्र च्यातेर धाँधली गर्नुको विकल्प थिएन । संगठन, आदर्श र सिद्धान्त विहीन भीडमा रूपान्तरण भइसकेको थियो ।

यो सब देखि/भोगिरहेका प्रचण्डलाई एमालेप्रति अभूतपूर्व रूपमा बढेको जन आकर्षणले अवश्य बेचैन बनाएकै थियो । तसर्थ सबल र सक्षम बन्दै गएको एमालेलाई पनि उनी आफ्नै जस्तै दुर्बल र कमसल भएको हेर्न चाहन्थे । आफू पनि बनाउन नसक्ने र अरूले बनाएको पनि देख्न नसक्ने प्रचण्डको कुटिल रणनीति अहिले आएर पूरा भएको छ । जसलाई कमरेड माधव नेपालले बुझ्न सकेको देखिएन । औसत तपाईंको राजनीतिक जीवनलाई प्रचण्डसँगको गठजोडले थप धुमिल बनाउने निश्चित छ ।

कमरेड माधव नेपाल एकपटक तपाईं २०६६/६७ सालतिर फर्केर हेर्नुस् त । जतिबेला तपाईं देशको ३४औं प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिबेला तत्कालीन नेकपा माओवादीले तपाईंको बहिर्गमनको माग राखेर राजधानी घेर्ने दुस्साहस गरेको थियो । त्यो कदमलाई असफल गराएर तपाईंलाई काँधमा बोकेर हिंड्ने कमरेड ओली नै हो ।

यदि प्रचण्ड समूहबाट भोलि हुने चुनावमा उम्मेदवार बन्नुभयो भने पनि तपाईंको हालत २०६४ कै जस्तो हुने निश्चित छ । किनकि हिजोका आम एमाले कार्यकर्ताले प्रचण्डको छायाँ बन्न जानुभएको तपाईंलाई मत हाल्ने छैनन् । तसर्थ समय छँदै हिंडिरहेको बाटो मोड्नुहोस् । फेरि पनि प्रधानमन्त्री ओलीका कमजोरीलाई सच्याउने भनेको हिजोका एमाले एकठाउँमा उभिएरै हो । त्यसैले बाटो नबिराउनुस् ।

ओलीका धेरै बैगुन हुनसक्छन् । सरकारको नेतृत्व गरिराख्दा स्वच्छन्दता देखाएका पनि होलान् । अहिले नेतृत्वमा रहँदा तपाईंलाई कर्नरमा पनि पारे होलान् । तर पनि हिजोका आम एमालेजनले प्रचण्डसँग घाँटी जोडेर ओलीलाई प्रहार गर्ने तपाईंको उल्टो यात्रालाई रुचाएका छैनन् ।

विगतमा प्रचण्डपथको माओवादीबाट कुिटएका, काटिएका, घाइते बनाइएका एमालेका नेता कार्यकर्ता प्रचण्डको कार्यकर्ता बन्न तपाईंसँग सती जाने छैनन् । तपाईंमा देखिएको विचलनको बाढीमा उनीहरू हेलिने छैनन् । तसर्थ निर्दोष एमाले कार्यकर्ताले तपाईंप्रति विगतमा देखाएको सम्मान र प्रेमलाई क्षणिक आवेगमा आएर लात नहान्नुस् । तपाईंलाई पछुतो हुनेछ । फेरि पनि ओलीलाई सच्याउने भनेको हिजोका एमाले एकठाउँमा आएर नै हो ।

तपाईंले प्रचण्डको साथ छोड्दा देशलाई कुनै घाटा हुने छैन । बरु देशलाई प्रयोगशाला बनाइराख्न खोज्ने जालझेल, षडयन्त्रकारी र विभाजनकारी एउटा पात्रको अवसान हुनेछ । जुन देशका लागि फाइदा नै हो । त्यस्ता पात्रको राजनीतिक पतन अहिलेको आवश्यकता पनि हो । जनमतले त्यो दिशातर्फ प्रचण्ड र उनका दललाई पु¥याइसकेको थियो । संसदीय निर्वाचनमा एमालेले दिएको सहकार्यको स्पेस नै प्रचण्ड र उनको पार्टीको पुनर्जीवनको लागि सञ्जीवनी बुटी बनेको थियो । प्रचण्डले राजनीतिमा पाएको पुनर्जीवन अहिले हेर्दा कतै घातक बन्ने त होइन भन्ने आशंका उब्जिएको छ ।

एक पटक २०५४/५५ तिर फर्किऊँ । त्यतिबेला पनि एमाले फुटेकाले नै हत्या र हिंसाको बाटो रोजेको माओवादी लाभान्वित भएको थियो ।

अर्थात् एमालेबाट विच्किएका कार्यकर्ता प्रचण्डको छत्रछायाँमा पुगेका थिए । जसले प्रचण्ड माओवादीको हिंस्रक प्रवृत्तिलाई झनै उग्र बन्न बल पुग्यो । परिणामतः निर्दोष हजारौं नेपालीले अनाहकमा ज्यान गुमाए । कति बालबालिका टुहुरा र असहाय भए । कति चेलीको सिन्दुर पुछियो । कति आमाहरू बेसहारा भए । निर्दोष मुक्तिरामहरू निर्मम रूपमा मारिए ।

पढ्ने विद्यालयमा बम पड्किए । खोला तर्ने पुल भत्किए । फेरि त्यस्तै दिन त नआउला तर त्यही संस्कारबाट आएकालाई साथ दिंदै जाने हो भने देश अर्को अस्थिरतातर्फ नजाला भन्न सकिंदैन ।

विगत हेरेर वर्तमानको मूल्यांकन गर्नुस् कमरेड माधव । फेरि पनि दोहोर्याऊः अहिले फुटेको एमाले हो माओवादी होइन । त्यसैले एमाले फुट्दा देशले दुःख पाएको तितो नजिर नभुल्नुस् । सत्ता र शक्तिका लागि आफ्नै सहयोद्धालाई पनि पाखा लगाउन पछि नपर्ने पात्र हुन् प्रचण्ड ।

परिणामतः आज प्रचण्डसँग उनका सहयात्री बाबुराम, बादल, वैद्य, विप्लव कोही पनि छैनन् । न उनले आफ्नै सहयात्रीलाई राख्न सके, न उनीसँग सहयात्री बस्न सके । बादल, विप्लव, बाबुराम प्रिय नभएका प्रचण्डका लागि तपाईं हुनुहोला ? अवश्य हुन सक्नुहुने छैन । उसो भए यो दुईदिनको रमझमका लागि तपाईंको बचेखुचेको साखलाई किन धरापमा पार्नुहुन्छ ?

एउटा तितो यथार्थता भन्नै पर्छ । विगतमा माओवादीको मारमा परेका धेरै इमानदार एमाले कार्यकर्तालाई सक्किन लागिसकेको माओवादीसँग मिलेको मन परेको थिएन । जसका कारण उनीहरू ओलीमाथि भएका कैयन् प्रहारको बचाउमा लागेका थिएनन् । तर आज हिजोकै एमाले ब्युँताउन चाहने त्यो समूह सक्रिय भएको छ । त्यो समूहमा हिजो तपाईंलाई सहयोग गर्ने कार्यकर्ताको पनि ठूलो संख्या छ । जो प्रचण्डको कार्यकर्ता भएर कुनै हालतमा बस्ने छैन । जो फेरि पनि भर्भराउँदो, शक्तिशाली सक्षम एमाले होस् भन्ने चाहन्छ ।

तसर्थ ती आम कार्यकर्ताको मनोभावना ओलीले बुझिसकेको देखिन्छ । हिजोका एमाले कार्यकर्ताको साथ पाउने संकेत पाएर नै उनले जोखिम उठाइरहेका छन् । यसकारण कार्यकर्ताविहीन दुई–चार थान नेता लगेकै भरमा तपाईंलाई प्रचण्ड समूहले कहिलेसम्म स्पेस देला ? सोच्नुस् त

जसले आफ्नै सहयात्रीलाई पटक–पटक पाखा लगायो

यदि त्यही समूहबाट भोलि हुने चुनावमा उम्मेदवार बन्नुभयो भने पनि तपाईंको हालत २०६४ कै जस्तो हुने निश्चित छ । किनकि हिजोका आम एमाले कार्यकर्ताले प्रचण्डको छायाँ बन्न जानुभएको तपाईंलाई मत हाल्ने छैनन् । तसर्थ समय छँदै हिंडिरहेको बाटो मोड्नुहोस् । फेरि पनि प्रधानमन्त्री ओलीका कमजोरीलाई सच्याउने भनेको हिजोका एमाले एकठाउँमा उभिएरै हो । त्यसैले बाटो नबिराउनुस् ।

अन्त्यमा फेरि भनौंः तपाईंले प्रचण्डको साथ छोड्दा जालझेल, अस्थिरता र विखण्डनमा रमाउने एक पात्रको राजनीतिक अवसान हुने हो, देशलाई कुनै फरक पर्ने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *