रोबोटको धर्मपुत्र – Nepal Press
कथा

रोबोटको धर्मपुत्र

उसका आँखा खुल्दा पहिलो पटक उसको आसपासमा ठूलो खुशीयाली छाएको थियो अरे ! विज्ञानको सफलताका बीचमा ईश्वरीय चमत्कार जस्तै भएको थियो सायद । सन् २५२४ मे ३ तारिख करिब ५ बजेर ७ मिनेटमा जन्म भएको उसको नाडीमा बाँधिएको डिजिटल वाचमा स्क्यान गर्नेबित्तिकै उसकाे जन्म कुण्डली हेर्न मिल्छ । प्रविधिले संसारलाई फनफनी घुमाइदिएको छ, पृथ्वीले सूर्यलाई घुमेको स्वाभाविक तरिकाभन्दा भिन्नै । उसले पनि जब यो सबै थाहा पायो, उसको पनि दिमाग तिर्मिराएको थियो, रन्थनिएको थियो । उसको सारा रोमरोम चक्करले सायद अकस्मात पृथ्वी रोकिएको छ, सूर्य बेजोडले आफ्ना राँकोहरु फ्याकेर फन्फनिएको आफ्नो अक्ष छाडेर, कुनै पनि बेला युनिभर्सलमा ग्रहहरुको ट्राफिक जाममात्र हैन, राम्रै दुर्घटना अनि आगलागी हुनसक्ने छ, जुन हिसाबले सूर्यलाई समेत ज्वरो आएको छ या उसले पेटसम्म डाह हुने गरी भगवान शिवले पिएको कालकुट विषभन्दा कैयौं गुना खतरनाक विष सहन गरिरहेको छ ।

उसको नाम ह्यु म्यान हो । ऊ पुरुष हो, उसको उमेर लगभग २१ वर्ष भयो, ऊ चिनियाँ र अमेरिकी जिनको मिक्स हाइब्रिड केटा हो । सम्भवतः ५०० वर्षअघि जन्मिएका मार्क जुगरबर्क र उनका एसियन श्रीमतीले जन्माएका सन्तान जस्तै । ह्यु म्यान जन्मँदा पार्टी भएको थियो रे उसको ल्याबमै !, उसका टेस्टट्युव ल्याब टेक्निसियन र ह्यु म्यानको प्रतीक्षा गर्ने साराले त्यो रातभर डान्स पार्टी गरेका थिए रे ! समय पुगेपछि ह्युमन इन्क्युबेटरबाट उसलाई निकालियो, टेस्टट्युबभित्रको रक्तिम पानीले भरिएको सिलिकनको थैलो फोडेर निस्कियो ह्यु म्यान ।

‘यस, हि इज म्यान विथ पेनिस ।’

सबै गलल हासे । त्यो ठूलो मेसिनले भरिएको टुँडिखेल जत्रै हल एलियन जस्ता स्वास्थ्यकर्मी, वैज्ञानिक र अन्य ठूलावडाहरुको हाँसोले गुञ्जायमान भयो ।

ह्यु म्यानको नाम शहरका मेयरले राखे । किनकि ऊ चाइनिज अमेरिकन मूलको मान्छे भएर जन्मिएको थियो र पछिल्लो वर्षमा शुक्रकिट उत्पादन गर्नसक्ने छोरा मान्छे नभेटिएपछि ५०० वर्षदेखि जम्मा पारेर राखिएको शुक्रकिट र डिम्ब मिसाएर आमाको पेट जस्तो कतैबाट नदेखिने ट्युबमा विशेष परीक्षण र निगरानीको साथमा ह्यु म्यानको जन्म भएको थियो ।

ह्यु म्यानका आमाबुवा थिएनन् । सायद सामान्य तरिकाले ऊ जन्मिएको भए उसका बाआमाले ५०० वर्षअघि नै यौन सम्पर्क गरेर उसलाई जन्माइसकेका हुने थिए ! सायद अरु नै कोही उसका दाजुभाइ वा दिदीबहिनी पनि जन्मिएका हुन्थे । उसको जायजन्म नहुन सक्थ्यो या ऊ यतिखेर बुढो भएर मरिसकेको पनि वर्षौं भैसकेको हुने थियो या ऊ पनि अरु जस्तै एआई र रोबोटहरुको आक्रमणमा परेर ज्यान गुमाइसकेको हुन सक्थ्यो अथवा रोबोटलाई आफ्नो शरीरमा प्रत्यारोपण गर्न असाध्यै मनपर्ने उसको मुटु, कलेजो, दिमाग या लिंग काटकुट पारेर परीक्षण गरिसकिएको हुन सक्थ्यो । रोबोटको शहरमा बचेखुचेका मान्छेहरु मुस्किलले सास फेरिरहेका थिए । उनीहरु उनीहरुले बनाएको विज्ञानको चपेटामा आफैं पीडित भएका थिए, मान्छेहरुको अस्तित्व दोस्रो दर्जाको थियो ।

निरंकुश शासन, राजतन्त्र, लोकतन्त्र हुँदै रोबोतन्त्रमा विश्व आइपुगेको थियो । यस्तो अवस्थामा मान्छेहरुले एकजुट भएर आफ्नो अस्तित्वको लागि लड्नुपर्छ भन्ने चेतना त सबैसँग थियो, तर हिम्मत थिएन । ५०० वर्षको बीचमा मान्छेहरुको हातबाट राज्य सत्तामात्र गैसकेको थिएन, उनीहरुको सयौं वर्षको मेहनत विज्ञानको चमत्कार स्वयं वैज्ञानिक आविष्कार मानिसहरुको सर्वोत्कृष्ट उत्पादन रोबोट मानिसको नियन्त्रणबाट बाहिर मात्र गएन रोबोट आफैंले आफू जस्तै रोबोट बनाउने ल्याकत राख्न थाल्यो । मान्छेले झैं सोच्ने र मान्छेले झैं मीठो हाँस्ने र मौका मिलाएर आँखाभित्रको विशेष थैलोमा राखिएको पानी चुहाउँदै रुन सक्नेसमेत भैसकेको थियो । एआईले मान्छेको नैतिकताविहीनतासमेत सकिसकेकाे थियाे । आफ्नै हिसाबले चल्न सक्ने दिमाग मान्छेले एआईमा हालिदिएकाे थियो । मान्छेले एआईकाे मस्तिष्कमा रिस, ईर्ष्या, जलन, झूट जस्ता मानवीय फिचरसमेत खाँदिएर भरिदिएको थियो ।

त्यतिमात्र हैन अत्याधुनिक रोबोटमा आफ्ना र अर्कालाई गर्ने विभेद, जातीयता र नश्लवादसमेत छुट्याउने क्षमता प्रदान गरिएको थियो । रोबोट आफैं उठेर आफूलाई चार्ज गर्थ्यो, ल्याबमा भएका मजदुरहरुको जागिर हडप्थ्यो र त्यस ठाउँमा आफ्नै जातका अत्याधुनिक रोबोटलाई सिफारिस गर्दथ्यो । रोबोटको योजना ‘विश्वका रोबोट एक हौं’ मात्र थिएन, एक दिन रोबोट साम्राज्यवादको स्थापना उनीहरुको नारा पनि थियो । तर, त्यो नाराविना आवाज र झण्डा प्रत्येक रोबोटको मेमोरीमा गोप्य रुपमा फरवार्ड भैसकेको हुन्थ्यो । यसरी मान्छेले बनाएको सामान्य मेसिनले मान्छेबाट विस्तारै स्वतन्त्र हुँदै मान्छेलाई नै भोकमरीको अवस्थामा ल्याउने बनाइदियो करिब करिब केही दशकमै ।

एआईमान्डुका मेयर पनि रोबोट नै थिए । करिब दुईतीन दशकअघि रोबोटको सङ्ख्या त्यति सारो थिएन, चुनावताका रातारात रोबोटहरु निर्माण गरिए र जन्मजात भोटिङ राइट पाएका रोबोटहरुले रोबो एक्सलाई मेयरका रुपमा चुनेरै छोडे । मान्छेहरुको हाहाकार फैलियो, मान्छेहरुले बच्चा जन्माउने, स्पर्म डोनेसन गर्ने, ब्रोइलर फार्म जस्तै मान्छेहरुलाई जन्माउने फ्याक्ट्रीमा मात्र मान्छेको काम सीमित हुन थाल्यो, केही नाम कहलिएका वैज्ञानिकहरु एआईसँग समान हैसियतमा काम गर्थे ।

महिला रोबोटहरु आफूसँग पाठेघर नभएको र बच्चा जन्माउन नसकेकोमा अफसोच मान्थे र देवताहरुसँग आफूलाई मान्छे बनाइदिन मान्छेहरुले जस्तै प्राथना गर्थे । पुरुषहरु मान्छेको यौन सम्पर्क गर्ने कला, शुक्रकिट उत्पादन र सन्तानोत्पादन प्रक्रियासँग जल्थे र विस्तारै मान्छेहरु रोबोट जस्तै बिल्कुल मेसिन जस्तो देख्न पाउँदा सन्तोषले आफूलाई चार्ज गर्थे । कति पटक उनीहरुले लिंगको आकार र उस्तै प्रकृतिको कार्य गर्ने डिभाइस इन्सर्ट गराए । त्यो पेन ड्राइभ जस्तो त भयो, तर पेनिसको फिल उनीहरुले गरेनन् न उनीहरुको लिंगको परीक्षणमा सहभागी भएका महिला (मान्छे)हरुले नै गरे । आफूसँग सबै एप्लिकेसन हुँदाहुँदै पनि प्राकृतिक लिंगको जस्तै आनन्द उनीहरुले उठाउन सकेका थिएनन् ।

अझ मेल रोबोटहरु फिमेल रोबोटभन्दा बढी चिन्तित हुन्थे र फिमेल रोबोटको अनावश्यक दबाबको कारण उनीहरुले अघोषित रुपमा महिला रोबोट बनाउनै बन्द गरे लगभग । मान्छे जत्तिकै आफूलाई विकसित बनाइरहँदा रोबोट मान्छे जस्तै दाउपेचले भरिइसकेको थियो । स्पर्म बैंकमा शुक्रकिट सकिँदै थियो । यता मान्छे प्राकृतिक रुपमा यौन सम्पर्कबाट शुक्रकिट उत्पादन गरेर बच्चा जन्माउन असमर्थ भैसकेको अवस्थामा रोबोटहरुलाई ठूलो चिन्ता थपिदिएको थियो, जतिखेर ऊ जन्मिएको थियो ।

एआईमान्डुभरि सनसनी फैलियो, ‘एआईको मान्छेमाथिको अर्को विजय, शुक्रकिट उत्पादन गर्न सक्ने ह्युमन किड जन्माउन सफल ।’ यो खबर विभिन्न ल्याबमा परीक्षणका दौरानमा पल्टिरहेका मानिसहरुले पनि थाहा पाए । उनीहरु बिल्कुलकर्मी माहुरी जस्ता देखिन्थे । लामा औंला, धस्सिएको पेट, बाहिर अस्वाभाविक रुपमा बाहिर निस्किएका आँखा, कुप्रिएको ढाढ, नांगो तालु, मान्छेको स्वरुप ! सायद ५०० वर्षमा बदलिइसकेको थियो ।

रोबोटहरुमा तँछाडमछाड मच्चियो, यसलाई कसरी हुर्काउने भनेर । यो बालकलाई मान्छेहरुको बीउ जोगाउन सक्ने क्षमताका साथ जन्माइएको थियो । अन्ततः कैयौं परीक्षणपछि रोबोटले मान्छे जन्माएको थियो । उसले आफ्नो तर्फबाट सन्तानोत्पादन गरिदिने वारेस पाएकोले होला, एआईमान्डुभरि रौनक थियो ।

‘ह्यु म्यानलाई कसले पाल्ने त ?’

छलफल चल्यो । अन्ततः बल्लतल्ल जन्मिएको ह्यु म्यान नामको मान्छेको बच्चालाई एक रोबोट फ्यामेलीले धर्मपुत्रको रुपमा पाल्ने निधो गर्‍यो । रोबोट दम्पतीले धर्मपुत्रलाई कोक्रोदेखि दूध पिलाउने धाई आमासम्मको व्यवस्था गर्‍यो । भाषा, संस्कृति तथा कृत्रिम रुपमा समुदायको स्थापना गरियाे । उसको सहज हुर्काइको लागि कोही पनि रोबोटलाई ह्यु म्यानको आसपास देखापर्न नदिने निधो गर्‍यो रोबोट दम्पतीले ।

यो दृश्य उनीहरुका लागि सामान्य झैं थियो, जुन दृश्य ५०० वर्षअघि मान्छेहरुका घरघरमा मोबाइल, ल्यापटप, ट्याबलेटका बीचमा आफ्नै सन्तानलाई रोबोटको बच्चालाई धर्मपुत्रपुत्री पालेझैं सामान्य तवरले हुर्काइरहेका भेटिन्थे ।

(दुलाल विभिन्न सामाजिक सवालमा स्वतन्त्र रुपमा कलम चलाउँछन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *