महामारी रोकथामका लागि चीनले नेपाललाई स्वास्थ्य सामाग्री चाँडै आपूर्ति गर्छ : प्रवक्ता वाङ – Nepal Press

महामारी रोकथामका लागि चीनले नेपाललाई स्वास्थ्य सामाग्री चाँडै आपूर्ति गर्छ : प्रवक्ता वाङ

बेइजिङ । चीनले कोरोनाभाइरस महामारी रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति चाँडै गर्ने घोषणा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयद्वारा शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले महामारीविरुद्ध नेपाललाई सक्दो सबै सहयोग गर्ने बताए ।

‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ र हामी चाँडै आपूर्ति गर्न तयार छौं’ प्रवक्ता वाङले भने । नेपालमा दैनिक संक्रमण संख्या उचाइमा पुगेको र अवस्था भयावहतर्फ उन्मुख भएको परिस्थितीमा हुने चिनियाँ सहयोगबारे प्रवक्तालाई प्रश्न सोधिएको थियो ।

छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको बताए ।

कोरोनाको दोस्रो लहरका कारण नेपालमा सिर्जिएको स्वास्थ्य संकटबारे चीन जानकार रहेको र आवश्यक सहयोग गर्न तयार रहेको समेत प्रवक्ता पिनले जनाए ।

हालै नेपालसहितका चार दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका थिए ।

‘हामी विश्वास गर्छौं कि नेपाली जनताको नेतृत्व र दलहरुको संयुक्त पहलमा नेपाल महामारीबाट मुक्त हुनेछ र सामान्य अवस्थामा फर्कनेछ’ वाङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *