मेरो पत्रकारितासँग रिपोर्टर्स क्लवको ‘रजत निस्सा’ र ऋषि धमलासँग जोडिएका किस्सा – Nepal Press

मेरो पत्रकारितासँग रिपोर्टर्स क्लवको ‘रजत निस्सा’ र ऋषि धमलासँग जोडिएका किस्सा

रिपोर्टर्स क्लव र मेरो पत्रकारिताको यात्रा एकै वर्ष शुरु भएकाले पनि यसको र मेरोबीचमा कहिल्यै नटुट्ने अजम्बरी नाता छ । २०५४ वैशाख ४ गतेको साँघु साप्ताहिकको पहिलो अंकमा (साँघु पञ्चायतकालमा बन्द भएपछि पुनः प्रकाशन) मेरो बाइलाइन समाचार छापिएसँगै औपचारिक पत्रकारिताको यात्रा शुरु भएको थियो ।

रिपोर्टर्स क्लव पनि सोही वर्ष चैत १७ गते स्थापना भयो । अहिले पनि झलझली याद आउँछ, पुतलीसडकबाट धोबीधारा जाने दोबाटोनिर सम्पादक समाजको हलमा रिपोर्टर्स क्लवको पहिलो साक्षात्कार कार्यक्रम भएको थियो । म रिपोर्टरका रुपमा त्यहाँ सहभागी थिएँ ।

किसुनजी, गिरिजाबाबु, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, माधव नेपाल, केपी ओली, वामदेव गौतम जस्ता नेताहरु रिपोर्टर्स क्लवको साक्षात्कारका अतिथि हुन्थे । हामी नवोदित पत्रकारहरुका लागि नेताभन्दा पनि सिनियर पोलिटिकल बिटका पत्रकारहरुसँगको संगत गर्ने साझा प्लेटफर्म थियो रिपोर्टर्स क्लव ।

रिपोर्टर्स क्लवको २५औं वर्ष पूरा भएको अर्थात रजत जयन्तीको अवसरमा केही लेख्न गरेको यसका संस्थापक ऋषि धमलाको आग्रह कामको चापका कारण बिर्सिसकेको रहेछु । भाइ ईश्वर कार्कीले सम्झाएपछि के लेख्ने सोच्दासोच्दै म ‘नोस्टाल्जिक’ भएछु । विगततर्फ फर्किंदा अनायास धेरै स्मरण ताजा भएर आए ।

वास्तवमा रिपोर्टर्स क्लव कुनै बेला हामी जस्ता रिपोर्टरहरुको लागि पहिलो घर थियो । मान्छेहरुले आफ्नो घरपछि प्रिय ठाउँ वा बस्ने खाने अर्थात सबैभन्दा आफ्नो लाग्ने ठाउँलाई दोस्रो घर भन्छन् । तर, म र हामी जस्ताका लागि त्यसबेला पहिलो घर काठमाडौंमा थिएन ।

ऋषि धमलाको सुख र वैभवमा नजिक हुनेहरु धेरै थिए र छन् । तर, ऋषिलाई अप्ठेरो, दुःख र आपत पर्दा अनि रिपोर्टर्स क्लवलाई सत्ता र वैरीहरुले घेरा हाल्दा साथ दिनेहरुमध्ये एक अग्रपंक्तिको योद्धा हुनुको नाताले यो संस्थाको रजतमात्र होइन स्वर्ण र हिरक जयन्तीमा पनि यस्तै केही हरफहरु लेख्न पाउँ, मेरो यो नै चाहना छ ।

गाउँबाट आएका म जस्ता रिपोर्टरको वास्तवमा घर होइन, बस्ने आफ्नै व्यवस्थित डेरासमेत थिएन । त्यस्तो बेला रिपोर्टर्स क्लव नै पहिलो घर थियो कम्तीमा मेरो लागि । कैयौं दिनमात्र होइन, रात पनि रिपोर्टर्स क्लवको सोफामा बिताइदिएको छु मैले । कठोर संघर्ष, चरम अभाव, गरिबी अनि आफ्ना कोही नभएका बेला रिपोर्टर्स क्लवको चिया बिस्कुट, सम्झना भोजनालयको एक छाक भात अनि ऋषि धमलाको आत्मीय साथ नै आफ्ना लाग्थे ।

रिपोर्टर्स क्लवमा अतिथि नहुने नेता र ती साक्षात्कार कार्यक्रमको रिपोर्टिङ नगर्ने राजनीतिक बिटका पत्रकार सम्भवतः मूलधारमा गनिन्थेनन् । नेपाल टेलिभिजनबाहेक अरु टीभी नै भएको र अनलाइन त के कुरा, इमेलको युगसमेत शुरु नभइसकेको त्यो बेला डायरी र कलम बोकेर गरिने रिपोर्टिङ अनि भोलिपल्ट छापिने समाचारले रिपोर्टर्स क्लवको महत्व झल्काउँथ्यो ।

पछि गएर कतिपय सम्पादक वा सिनियरहरु रिपोर्टर्स क्लव र ऋषि धमलाको बढ्दो लोकप्रियताबाट ईर्स्यालु बन्दै गए । उनीहरुले रिपोर्टर्स क्लव र ऋषि धमलाको नाम तथा फोटो क्रप गरे पनि साक्षात्कारमा आउने अतिथि अनि उनीहरुले बोलेका वा खुलासा गरेका कन्टेन्ट इग्नोर गर्न सक्ने अवस्था थिएन । आज पनि मलाई ती कुण्ठित सम्पादक/सिनियरको अनुहार झल्झली याद आउँछ । तर, स्वर्गीय सुवास नेम्वाङ स्टाइलमा भन्नुपर्दा उनीहरुको नाम चाहिँ बिर्सिन्छु ।

सम्पादक समाजको हलबाट शुरु भएको रिपोर्टर्स क्लवको यात्रा विस्तारै पुतलीसडकको आफ्नै कार्यालय, हल र कम्प्युटरसहितको रिपोर्टर्स रुपमा विकास भयो । यी सबै उपलब्धिहरुको हकदार, हिस्सेदार र लाभग्राही म र म जस्तै विशेषगरी राजनीतिक बिटका रिपोर्टरहरु बन्यौं भन्न मलाई चाहिँ कति पनि हिच्किचाहट वा कञ्जुस्याइँ हुन्न ।

आज मान्छेहरुसँग आफ्ना गुनासा, असन्तुष्टि, आक्रोश, कुण्ठा र उपलब्धिहरु सुनाउने बग्रेल्ती प्लेटफर्महरु छन् । तिनीहरुले त्यो बेलाको रिपोर्टर्स क्लवको महत्व नबुझ्नु वा थाहा नपाउनु स्वाभाविक हो । तर, हिजो रिपोर्टर्स क्लवकै कारण नाना, छाना र रोजगारीको गाना गाएकाहरुले चाहिँ निधार खुम्च्याउँछ भने त्यो कृतघ्न पात्र हो, यतिमात्र भन्छु ।

मैले यस्ता धेरै मित्र र अग्रजहरु देखें, जसले रिपोर्टर्स क्लवबाट धेरै लिए, लुकीलुकी बाटो ढुकी ऋषि धमलाको खल्ती कोट्याएर पनि हिँडे । तर, कहिल्यै सार्वजनिक रुपमा ऋषिको प्रशंसा गरेनन् । ऋषिको खल्ती कोट्याएर चुल्हो बाल्ने ती ज्ञात अज्ञात अग्रज दाजुहरु ऋषि धमलाको पछाडि खिस्याउने, कुरा काट्ने वा आफू चाहिँ ऋषिभन्दा माथिल्लो क्वालिटीको पत्रकार हुँ भन्नमै धेरै मेहनत गरिरहेका दिनहरु म बिर्सन्नँ ।

रिपोर्टर्स क्लव र मेरो पत्रकारिताको रजत वर्ष एकै पटक पर्नु मेरो लागि गर्वको कुरा हो । अनि मलाई गर्व लाग्छ कि कुनै बेला म ऋषि धमला अध्यक्ष रहेको यस संस्थाको सचिव र उपाध्यक्ष पनि भएको थिएँ । मैले रिपोर्टर्स क्लवमा कैयौं भोका दिन र अनिदा रातहरु बिताएको छु । जतिसुकै अभाव र तनावका बीच पनि पत्रकारिताको लामो यात्रा मोड्न हुन्न भनेर ढाडस दिने आत्मीयहरुमध्ये ऋषि धमला पहिलो पंक्तिमै थिए त्यसबेला ।

ऋषि धमलाको सुख र वैभवमा नजिक हुनेहरु धेरै थिए र छन् । तर, ऋषिलाई अप्ठेरो, दुःख र आपत पर्दा अनि रिपोर्टर्स क्लवलाई सत्ता र वैरीहरुले घेरा हाल्दा साथ दिनेहरुमध्ये एक अग्रपंक्तिको योद्धा हुनुको नाताले यो संस्थाको रजतमात्र होइन स्वर्ण र हिरक जयन्तीमा पनि यस्तै केही हरफहरु लेख्न पाउँ, मेरो यो नै चाहना छ ।

रिपोर्टर्स क्लव नेपाली पत्रकारको मात्र नभएर तत्कालीन समयमा राजनीतिक दल, तिनका भ्रातृ संगठन, उदार लोकतन्त्र पक्षधर अनि सत्ताबाट दमनमा परेकाहरुको आश्रयस्थल थियो भन्यो भने अतिशय हुन्न । राज्य र माओवादी विद्रोहीको दमनमा परेकाहरुको रोदन बिसाउने थलो पनि रिपोर्टर्स क्लव थियो ।

ऋषिले कहिल्यै कसैसँग बदला, प्रतिशोध लिन चाहेनन् र उनको त्यो स्वभाव नै छैन । बरु जसले जे प्रस्ताव ल्याए पनि उसको नियत र त्यसबाट भविष्यमा हुनसक्ने परिणाम विचारै नगर ‘हुन्छ हुन्छ, म माथि मिलाइदिन्छु’ भन्ने उनको लापरवाह स्वभावका कारण कैयौं ठाउँमा फसेका छन् र जेलसमेत पुगेका छन् ।

आज मान्छेहरुसँग आफ्ना गुनासा, असन्तुष्टि, आक्रोश, कुण्ठा र उपलब्धिहरु सुनाउने बग्रेल्ती प्लेटफर्महरु छन् । तिनीहरुले त्यो बेलाको रिपोर्टर्स क्लवको महत्व नबुझ्नु वा थाहा नपाउनु स्वाभाविक हो । तर, हिजो रिपोर्टर्स क्लवकै कारण नाना, छाना र रोजगारीको गाना गाएकाहरुले चाहिँ निधार खुम्च्याउँछ भने त्यो कृतघ्न पात्र हो, यतिमात्र भन्छु ।

पुतलीसडक प्रज्ञा प्रतिष्ठान मोडको फलफूल पसलमा ऋषि धमलाको नामबाट उधारो जुस खानेहरुले उक्त रकम त कहिल्यै तिरेनन्, उल्टै रिपोर्टर्स क्लवको समानान्तर संस्था खोलेर यसलाई बन्द गर्ने विभिन्न सत्ता अनि राजनीतिक षड्यन्त्रका सारथि बनेका पनि यही आँखाले देखेको छु । तर, ऋषिले कहिल्यै कसैसँग बदला, प्रतिशोध लिन चाहेनन् र उनको त्यो स्वभाव नै छैन । बरु जसले जे प्रस्ताव ल्याए पनि उसको नियत र त्यसबाट भविष्यमा हुनसक्ने परिणाम विचारै नगर ‘हुन्छ हुन्छ, म माथि मिलाइदिन्छु’ भन्ने उनको लापरवाह स्वभावका कारण कैयौं ठाउँमा फसेका छन् र जेलसमेत पुगेका छन् ।

प्रेम सेकुवामा सेकुवा र मदिरा पिएर बिल तिर्न पैसा नभएपछि राति घरमा पुगिसकेका ऋषि धमला ट्याक्सीमा आएर कैयौं पत्रकार र विभिन्न पेशा व्यवसायमा आबद्ध सञ्चारकर्मीलाई उद्धार गरेका घटनाहरुको जीवित साक्षी आज पनि पुतलीसडकमा धेरै छन् ।

वास्तवमा ऋषि धमला र रिपोर्टर्स क्लव आमपत्रकारको लागि आश्रय लिने पाटी थिए । जुन पाटीमा बटुवाहरु आउँदै आश्रय लिएर गए । तर, त्यो पाटीको संरक्षण सम्बर्द्धनमा कहिल्यै एउटा एउटा ढुंगा र एक डल्लो माटो उठाएनन् । कैयौं मित्रले पेश्की लिएर काम नगरिदिँदा ऋषि धमलाले दिल्लीमा कार्यरत मलाई नेपालको काम उतैबाट गराउँथे ।

जब पत्रकारले प्रश्न गर्न छाड्छ, उसले पत्रकारिता पनि छाड्छ । ऋषि धमलाले सिकाएको र गरिरहेको एउटै काम भनेको प्रश्न हो, जुन एउटा पत्रकारले सधैं गरिरहनुपर्छ । ऋषि धमलाले जीवनभर गरेको भनेको प्रश्न हो र त्यसबापत उनले पटक पटक÷अनेक पटक मूल्य चुकाइरहेका छन् ।

वास्तवमा ऋषिले कहिल्यै ईख लिएनन् र धोका दिनेलाई पनि आश्रय दिए । त्यसैले धेरैले ऋषिबाट दान दातव्य, भौतिक सुविधा र व्यवसायिक फाइदा पाए । तर, ऋषिले उनीहरुबाट पाएको चाहिँ धोकामात्र हो । ऋषिसँग अनसन सँगै बसेको छु, भोकै सँगै यात्रा गरेको छु र रमाइला दिनहरु पनि सँगै बिताएको छु । ती सबै आधारमा भन्छु, ऋषि र रिपोर्टर्स क्लव कतै मान्छेहरुका बिसौनीमात्रै पो भए कि ?

अहिले नै मैले रिपोर्टर्स क्लवको इतिहास, मेरो पत्रकारिताको बायोग्राफी लेख्ने बेला भइसकेको छैन जस्तो लाग्छ । एउटा पत्रकारका लागि २५-२६ वर्ष ठूलै समय हो । तर, रिपोर्टरबाट सम्पादक बन्दै गर्दा मैले धेरै कुरा रिपोर्टर्स क्लव अनि ऋषि धमलाको बारेमा लेख्न थाँती राखेको छु । किनकि अब २५ वर्षपछि लेख्दा त्यसको महत्व अझ बढी हुन्छ कि ?

तर, यति चाहिँ भन्नैपर्छ, जब पत्रकारले प्रश्न गर्न छाड्छ, उसले पत्रकारिता पनि छाड्छ । ऋषि धमलाले सिकाएको र गरिरहेको एउटै काम भनेको प्रश्न हो, जुन एउटा पत्रकारले सधैं गरिरहनुपर्छ । ऋषि धमलाले जीवनभर गरेको भनेको प्रश्न हो र त्यसबापत उनले पटक पटक/अनेक पटक मूल्य चुकाइरहेका छन् । तर, उनले प्रश्न गर्न छाडेका छैनन् । बरु रिपोर्टर्स क्लवप्रतिको अभिभावकत्वमा चाहिँ कमी आएको हो कि भन्ने देखिन्छ ।

मैले ऋषि धमलासँग दिल्लीको ग्रेटर कैलाशदेखि धौलाकुँवाको मौर्य होटलसम्म कैयौं रात सँगै कामका कुरा गरेर बिताएको छु । एउटै न्युजरुममा उनी प्रस्तोता र म प्रोड्युसर भएर टेलिभिजनमा म्यागेजिन पत्रकारिताको मिसाइल कायम गरेका छौं । बितेका २५ वर्षमा मैले रिपोर्टर्स क्लव र ऋषि धमलासँग धेरै सिकेको छु, लिएको छु र आवश्यक पर्दा आफ्नो योग्यता, क्षमता र दक्षताको दक्षिणा दिएको पनि छु ।

यस्तै आदानप्रदानको सम्बन्ध अझ ५० वर्षभन्दा बढी राख्न पाइयोस् । रिपोर्टर्स क्लवको २६औं वर्ष प्रवेशको अवसरमा यो संस्था र व्यक्तिगत रुपमा ऋषि धमलाको उत्तरोत्तर प्रगतिको कामना !

(रिपोर्टर्स क्लवको रजत जयन्तीको अवसरमा रिपोर्टर्स नेपालको स्मारिकामा प्रकाशित लेख ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *