कोरोनाबारे विज्ञ- फेरि अतिरञ्जित त्रास नफैलाऔं, लकडाउन आवश्यक छैन ! – Nepal Press

कोरोनाबारे विज्ञ- फेरि अतिरञ्जित त्रास नफैलाऔं, लकडाउन आवश्यक छैन !

काठमाडौं । गत आइतबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानीहरु अपनाउन आग्रह गर्‍याे । यसले जनमानसमा चिन्ता र कौतुहलता सृजना भयो, कतै फेरि सरकारले लकडाउन गर्ने त होइन ?

केही दिनअघि उपत्यकाका तीन जिल्लाका सीडीओहरुले कोरोनाविरुद्ध सतर्कता अपनाउन भन्दै सूचना जारी गरेका छन् । उनीहरुले जात्रा–महोत्सवहरु नगर्न तथा होली घरभित्रै मनाउन आग्रह गरेका छन् । ललितपुर जिप्रकाले त रात्रिकालीन व्यवसायमा नै रोक लगाएको छ ।

कोरोनालाई देखाएर विहीबार प्रधानमन्त्री केपी शर्मा ओली बिराटनगर जाने कार्यक्रम स्थगित गरियो । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले स्थिति फेरि नकारात्मकतातिर जान खोजेको भन्दै यसलाई भयावह बन्न दिनु नहुने बताएका छन् ।

कोरोनाले लामो समयसम्म अस्तव्यस्त तुल्याएको देशको जनजीवन बल्लतल्ल पुरानै अवस्थामा फर्केको बेला पछिल्लो चहलपहलले फेरि त्रास फैलन थालेको छ । वास्तविकभन्दा भयावह अवस्था देखाएर चालिने कदमहरु देशका लागि प्रत्यूत्पादक हुन सक्ने विज्ञहरु बताउँछन् ।

भारतमा कोरोनाको नयाँ लहर आउँदा सीमा क्षेत्रमा थप सतर्कता आवश्यक भए पनि देशभित्रका आर्थिक गतिविधि रोक्नु प्रत्यूत्पादक हुन सक्ने उनीहरुको भनाइ छ ।

लकडाउनको अनुभव

सरकारले कोभिड–१९ फैलन नदिन गत वर्ष चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर, कडा लकडाउनका बाबजुद कोरोनाको महामारी रोकिएन । अर्कोतर्फ आर्थिक गतिविधि ठप्प हुँदा त्यसले देशको अर्थतन्त्र धराशयी तुल्यायो ।
गत वर्ष लकडाउन गर्दा देशैभर त्रासको वातावरण थियो । एकतर्फ रोगको डर, अर्कोतर्फ पेटको चिन्ता । खासगरी निम्नवर्गीय मानिसहरु दोहोरो चपेटामा परेका थिए । रोजगारी गुमाएपछि काठमाडौंबाट मानिसहरु हिँड्दै गाउँ फर्किए । सीमा बन्द गरिए पनि भारतबाट नेपालमा लुकीछिपी प्रवेश गर्ने क्रम राकिएन । उनीहरु क्वारेन्टाइनमा पनि नबस्दा कोरोना झनै फैलियो ।

संक्रमण बढ्दै जाँदा सरकारले पनि लकडाउन थप्दै लग्यो । झण्डै ९ महिना सरकारले विभिन्न रुपमा देशको जनजीवन ठप्प पर्दा मजदुरदेखि उद्योगी–व्यवसायीसम्म आहत बने । संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउनभन्दा अर्को उपाय देखेन ।

नेपालले लकडाउन सही समयमा गरे पनि यसलाई अनावश्यकरुपमा लम्ब्याउँदा नकारात्मक प्र्रभाव बढी देखिएको विज्ञहरु बताउँछन् । कोरोना नियन्त्रणका लागि लकडाउन नै ब्रह्माश्त्र होइन भन्ने विश्वव्यापीरुपमै प्रमाणित भइसकेको उनीहरुको भनाइ छ ।

जनस्वास्थ्यविद् समीरमणि दिक्षित भन्छन्, ‘लकडाउन जुन किसिमले सुरु गरियो, त्यो एकदमै उपयोगी पनि हो र उपयुक्त समयमै गरेको हो नेपाल सरकारले । तर, योे चाहिने भन्दा बढी समय लम्बियो । दैनिक मजदुरीबाट जीवन धान्नुपर्ने मानिसहरुलाई निकै सकस भयो ।’

प्रारम्भिक चरणमा लकडाउनले राम्रो काम गरेको डा. दीक्षित बताउँछन् । उनले भने, ‘एक महिना मात्रै गरेको भए हुन्थ्यो । त्यो एकदम राम्रो अवसर थियो । तर लकडाउन लामो हुँदै गएपछि मान्छेले विरोध गरे ।’

सर्वसाधरण लुकीलुकी घरबाट निस्कन थालेपछि संक्रमण फैलनबाट रोक्न नसकिएको उनको बुझाइ छ ।

‘अस्पताल पनि जान नपाएपछि मान्छेलाई अन्य रोगले सताउन थाल्यो । यी सबै कुराले गर्दा नेपालमा लकडाउन पछिल्लो चरण प्रभावहीन भयो,’ उनले भने ।
सरकारले चरणवद्धरुपमा लकडाउन खोल्न नजान्दा उल्टै लकडाउनले कोरोना संक्रमणलाई बढवा दिएको उनको निश्कर्ष छ । उनले अगाडी थपे, ‘मास्क लगाउन कडाई गरेको भए, दूरी कायम गरेको भए, केही सुविधा खोलेर केही बन्द गर्न सकिन्थ्यो । सबै झापझुप्प बन्द गरियो ।’

नाइट क्लव बन्द गर्नु ठीक भए पनि जनतालाई अत्यावश्यक वस्तुको खरिद गर्न समेत असुविधा हुनुले समस्या निम्त्याएको दिक्षितको बुझाई छ । युरोप–अमेरिका लगायतका देशले लकडाउन गरिराखेको भए पनि अत्यावश्यक वस्तुको खरिद गर्न भने छुट दिइएको उनले बताए ।

लकडाउन ओखती होइन

लकडाउनले नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग नगरेको डा. दिक्षितको निश्कर्ष छ । फेरि पनि लकडाउनको चर्चा भइरहेका बेला किन यो मोडल उपयुक्त होइन भन्नेबारे उनको भनाइ यस्तो छः

‘कोरोना रोक्न कडा लकडाउनमा जाने कुरा विकसित देशहरुका लागि ठीक हो, तर हाम्रा जस्तो विकासोन्मुख देशहरुमा यसले धेरै समस्या सृजना गर्छ । हाम्रोमा लकडाउनले सकारात्मकभन्दा नकारात्मक प्रभाव पारेको अनुभवबाटै प्रमाणित भइसकेको छ । एकातर्फ लकडाउनले संक्रमण रोक्न सकेन भने अर्कोतर्फ त्यसबाट अरु बिरामीहरुले धेरै दुख झेल्नुपर्यो । क्यान्सरका विरामीले उपचार पाएनन् । विरामी मानिसहरु अस्पताल जान सकेनन् । अस्पताल गएकाहरुले सहज उपचार पाएनन् । गर्भवती महिलाहरुले समयमा चेकजाँच गर्न सकेनन् ।

लकडाउनले अन्य समस्या पनि थपिदै गयो । मानसिक समस्या बढेर मानिसहरुले आत्महत्या गर्न थाले । घरेलु हिंसा बढ्न थाल्यो । अब नयाँ प्रजातीको भाइरस नेपालमा देखिए पनि लकडाउनमा जानु हुँदैन । पहिलो कारण, जोखिम वर्गहरुलाई पहिलो मात्रा खोप दिएको पनि एक महिना भइसक्यो । अहिले सर्वसाधरणले लगाएको खोपले तेस्रो हप्तादेखि तेस्रो महिनासम्म मज्जाले मान्छेलाई कडा संक्रमणबाट बचाउँछ । लकडाउन भनेको जोखिम वर्गलाई बचाउन हो । अब खोपले नै जोखिम समूहलाई बचाइदिन्छ । अझ अरु खोप पनि आउँदैछन् ।

नेपालमा दुई लाखभन्दा बढी मानिस संक्रमणबाट निको भइसकेका छन् । उनीहरुलाई पनि खोप लगाएसरह हो । एकचोटी कोरोना लागेर निको भइसकेकाहरु दोस्रो चोटी त्यहीरुपले कडा लाग्दैन । नयाँ भाइरसले छुन सक्दैन । नयाँ वा पुरानो जुनसुकै प्रजातिसँग पनि सामना गर्न सक्छ । केही प्रतिशत यताउता होला तर समग्रमा प्रभावकारीता देखिन्छ । यी कारणले गर्दा पहिलेजस्तो अवस्थामा हामी रहेनौं । मास्क मात्र लगाइदिने र दुरी कायम गर्यो भने संक्रमण सर्दैन भन्ने हामीलाई थाहा भयो । हवाइजहाजबाट सर्दैन रहेछ भन्ने पनि थाहा पाइसक्यौ । त्यसले गर्दा अब लकडाउन जरुरी छैन ।’

डा. पुन भन्छन्– लकडाउनले मात्रै महामारी रोकिन्न

टेकु अस्पतालका चिकित्सक एवं भाइरोलोजिष्ट डा शेरबहादुर पुनको भनाइ पनि लगभग यही नै छ । संक्रमण एकदमै अनियन्त्रित भएर अरु सबै उपाय सकिएपछि केही समय मानिसलाई जहाँको त्यहीँ राख्नलाई मात्रै लकडाउन जरुरी हुने उनी बताउँछन् ।

पुनले भने, ‘पहिला हामीले महिनांै बन्द गर्दा पनि कोरोना रोकिएन । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हो । त्यो चेन ब्रेक गर्नलाई लकडाउन उपयुक्त हुन्छ । तर त्यसो भन्दैमा लकडाउनले निमिट्यान्न हुँदैन । ’

उनले अगाडी थपे, ‘हामीले जथाभावी गर्ने हो भने त फेरि पनि यसले दुख दिन्छ । हामीले एक वर्षमा त देख्यौं नि । लकडाउन गरियो तर अन्तमा त्यत्रो मान्छे संक्रमित बने । त्यसैले लकडाउनलाई नै सबैकुरा ठान्नु हुँदैन ।’

पाठ सिकिसकेका छाैं- स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने गत वर्ष गरेको लकडाउनले पाठ सिकेको बताएको छ । लकडाउनकै समयमा स्वास्थ्यकर्मी परिचालनदेखि अस्पतालहरुको तयारी गरेको तर अहिले त्यो गर्नु नपर्ने भएकाले लकडाउनमा हतारो नगर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

उनले भने, ‘गत वर्ष कोभिड–१९ को सुरुवाती चरणमा नेपाल सरकारले गरेको लकडाउनमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने, त्यहीअनुसार अस्पताल तयार गर्ने र जनतालाई सु–सुचित गर्ने विषयहरुमा केन्द्रित भएर लकडाउन गरियो । अब त्यस्तो हुँदैन ।’

उनले अहिले फेरि सरकारले लकडाउन गर्नपर्ने अवस्था भइनसकेको बताए । ‘पहिले हामी सबै नयाँ थियौ । त्यही बीचमा तयारी गर्नुपर्ने थियो । अहिले धेरै हिसाबले तयार नै छौं । सर्वसाधारण पनि सचेत भइसकेका छन्,’ उनले थपे, ‘संक्रमण बढ्दै गयो र अरु उपाय आएन भने विज्ञसँग आवश्यक छलफल गरेर त्यही अनुसार निर्णय लिइनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर