महासंघमा आवद्ध भएको अनुभवको आधारमा नेतृत्व लिन तयार छु : अन्जन श्रेष्ठ – Nepal Press

महासंघमा आवद्ध भएको अनुभवको आधारमा नेतृत्व लिन तयार छु : अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताएका छन् ।

कपिलवस्तु स्थित चन्द्रौटामा आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक कार्यक्रममा उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका हुन् ।

सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पूँजी निर्माण गर्न कठिन भएको श्रेष्ठले बताए । उनले बैंकले उद्योगीहरुसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्काल घटाउन माग समेत गरेका छन् ।

त्यस्तै, उनले भने उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशत भन्दा धेरै लिन नपाईने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानून लागू गरेर दुःख दिइन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्म प्रिमियम लिँदा सरकार र नियामकले वास्ता गर्दैनन् ।

निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भुमिका बढिरहेको बेलामा निजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएको बताए । आफूले लुम्बिनी प्रदेशमा लगानी बिस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको श्रेष्ठले बताए ।

उनले भने, म युवा छु तर संस्थागत संलग्नता लामो समय भएको छ। यसले मलाई परिपक्क बनाएको छ र सोहि अनुभवको आधारमा आफूले नेतृत्वमा दाबी गरेको हुँ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले देशको पूँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशिल बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताए ।

उनले पूँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशत भन्दा धेरै ५ र सरकारको योगदान न्यून मात्र छ। त्यसले देशको पूँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्दछ,।

यसका साथै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आर्थिक समस्या वा मन्दीबाट नेपालमा कसैले नसिकेको वा सुधार गर्न नचाहेको बताएका छन् । उनले विश्वमा ठूला आर्थिक मन्दिबाट सबै देशहरुले सिकेपनि हामीले कहिलेपनि सिक्न र सुधार गर्न नसकेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर