वाट्सएपमा ‘नेपाली केटी’, लिंक खोल्दा बैंक खाताबाट लाखौँ रुपैयाँ गायब (भिडिओ) – Nepal Press

वाट्सएपमा ‘नेपाली केटी’, लिंक खोल्दा बैंक खाताबाट लाखौँ रुपैयाँ गायब (भिडिओ)

काठमाडौं । ‘नेपाली केटी’ भन्ने एप्लिकेसन डाउनलोड गर्दा बैंक खाताबाट लाखौँ रुपैयाँ गायब भएको छ । ठगि गिरोहले ‘नेपाली केटी’ भन्ने एप्लिकेसन बनाएर वाट्सअपमा लिंक पठाउने र डाउनलोड गर्न लोभ्याउने गरेको प्रहरीको दाबी छ ।

ललितपुर प्रहरी परिसरले सफ्टवेयरसहित ८ जनालाई पक्राउ गरेको छ । यसअघि साइबर ब्यूरोमा ८ जना र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १२ जनाले उजुरी गरेपनि गिरोह पक्राउ पर्न सकेको थिएन । ब्यूरोमा २६ लाख रुपैयाँ र काठमाडौं अपराध अनुसन्धान कार्यालयमा २० लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको थियो ।

ललितपुर प्रहरी परिसरका प्रमुख सिद्धविक्रम शाहका अनुसार केही समयअघि एक व्यक्ति आफ्नो बैंक खाताबाट ४ लाख रुपैयाँ गायब भएको भन्दै उजुरी गर्ने पुगेका थिए । त्यही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
‘लिंक खोलेपछि गिरोहले सम्बन्धित व्यक्तिको मोबाइलका सम्पूर्ण डाटामा पहुँच राख्न सक्ने रहेछ । यसरी मोबाइलमा रहेका बैंकका एप्लिकेसनबाट सहजै पैसा निकालेको देखियो’, एसएसपी शाहले भने ।

यसरी हुन्थ्यो ठगी

‘के तपाई पनि सेक्स पार्टनर खोज्नु भइरहेको छ अब ढुक्क बस्नु । नेपाली गर्ल डट एपीकेलाई इन्स्टल गर्नुहोस् र सेक्स पार्टनर खोज्नुहोस् त्यसमा कन्ट्याक्ट नम्बर र फोटो साथै रेट पनि त्यसमै छ ठाउँ पनि उपलब्ध छ’, ब्यहोरासहित वाट्सएपमा लिंक पठाइने गरेको पाइएको छ ।

उक्त एप्लिकेसन इन्स्टल गर्नेक्रममा ‘तपाईको डिभाइसमा पूरा पहुँच हुने छ’ भन्ने व्यहोरासहित ओके थिच्ने अप्सन आउने र ओके थिच्दा गिरोहले मोबाइलका सबै विवरण आफ्नो नियन्त्रणमा राख्ने गरेको प्रहरीको दाबी छ । गिरोहले बानेश्वरमा सफ्टवेयर राखेर धन्धा चलाउँदै आएको थियो । बैंक खातामा पहुँच राखेपछि पैसा ट्रान्सफर गर्न विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरेर बैंक खाता तथा इसेवा, खल्तीजस्ता मोबाइल वालेट खोल्ने गरिएको पनि पाइएको छ ।

प्रहरीले भारतको बिहार स्थायी घर भई काठमाडौंको चाबहिलमा आईएमईआई सन्चालन गर्ने २९ वर्षीय अवधेश कुमार, सप्तरीको कृष्णावसवरन-२ स्थायी घर भई काठमाडौंको नारायणटार बस्ने ३४ वर्षीय दिलिप चौधरी, पर्साको विन्दवासिनी–८ स्थायी घर भएका ३३ वर्षीय अजय चौधरी भन्ने नागेन्द्र शाह कानु रहेका छन् ।

यस्तै, रौतहटको रङपुर स्थायी घर भई मकवानपुरको हेटौँडा बस्ने २७ वर्षीय रविना चौधरी, बाराको कोलबी–४ स्थायी घर भई मकवानपुरको हेटौँडा बस्ने सन्तोष कुँवर, पर्साको विरगन्जका २८ वर्षीय राजु पटेल, सोही ठाउँका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउत रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर