धरानमा महिला समूहको पिटाइबाट घाइते महिलाको एक सातापछि मृत्यु
काठमाडौं। सुनसरीको धरानमा एक साताअघि महिलाको समूहबाट निर्घात पिटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
४२ वर्षीया उषा राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए। एसपी ढकालले ६ जनाविरुद्ध जाहेरी आएको र अनुसन्धान भइरहेको बताए।
‘मृतकको पोस्टमार्टमपछि के कारणले मृत्यु भएको भन्ने थाहा होला’, उनले भने।
दुई जना महिलाबिच विवाद हुने क्रममा राईमाथि कुटपिट भएको र उपचारका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। ‘अस्पताल पुर्याउँदा उहाँको बाहिरी चोट केही पनि देखिएको थिएन’, एसपी ढकालले भने।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।