दाङको देउखुरी क्षेत्र जलमग्न, राजमार्ग र भित्री सडक अवरुद्ध (तस्वीरहरुसहित) – Nepal Press

दाङको देउखुरी क्षेत्र जलमग्न, राजमार्ग र भित्री सडक अवरुद्ध (तस्वीरहरुसहित)

रुपन्देही । दाङको देउखुरीस्थित इलाका प्रहरी कार्यालय सिसहनियामा बाढी पसेको छ । स्थानीय दोलाई खोलाको बाढी पस्दा प्रहरी कार्यालय जलमग्न छ ।

इलाका प्रहरी कार्यालयमा बाढी पसेपछि प्रहरीसहित हातहतियार, सञ्चारसेटलगायत महत्वपूर्ण सामग्री अन्यत्र सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।

यसैगरी तीन दिनदेखिको लगातार परिरहेको वर्षाले दाङको देउखुरीका अधिकांश बस्तीमा बाढी पसेको छ । गढवा गाउँपालिका वडा न ५ लालपुर, लोखपुर गाउँमा खहरे खोलाको बाढी पसेको छ ।

यस्तै राप्ती गाउँपालिका वडा न ५ लठ्हठा, पहरुवा गाउँमा पनि बाढी पसेको छ । सुरक्षाकर्मीहरु परिचालन भएर पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिकाको सतबरियामा पहिरो आएका कारण राजमार्ग अवरुद्ध भएको छ ।
पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड शुक्रबार बिहानैदेखि पुनः अवरुद्ध भएको छ ।

दाङको भालुवाङदेखि प्यूठान जिल्ला जोड्ने सडक खण्डको ठाउँ–ठाउँमा पहिरो झरेको छ । जसले गर्दा उक्त सडक खण्डमा यातायातका साधन गुड्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *