डीपीआर डिजाइनको त्रुटीले आधुनिक वधशाला निर्माण अलपत्र – Nepal Press

डीपीआर डिजाइनको त्रुटीले आधुनिक वधशाला निर्माण अलपत्र

विराटनगर । विराटनगर महानगरपालिका–८ मा ९ वर्षअघि निर्माण शुरु गरिएको वधशाला अलपत्र अवस्थामा छ । विराटनगर महानगरपालिकाले आधुनिक र व्यवस्थित पशु वधशाला निर्माण गर्ने योजना सहित मधुमारामा बधशाला निर्माणको काम अघि बढाएको थियो ।

उपभोक्तालाई स्वस्थ र प्रमाणिक मासु आपुर्ति गर्ने लक्ष्यका साथ वधशालाक‍ निर्माणको काम शुरु भएको थियो । तर बजेट तथा बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को कारण देखाउँदै निर्माणाधीन अवस्थामा छोडिएको छ । त्यसैले तयार भएका संरचना पनि प्रयोगमा नआउँदै जीर्ण बन्न थालेका छन् ।

पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालयको ६० लाख र तत्कालीन विराटनगर उप–महानगरपालिकाको ३८ लाख बजेटमा ०६६ बाट वधशाला निर्माण सुरु भएको थियो । त्यसयता १ दशकमा बधशाला निर्माणका लागि १ करोड १९ लाख बजेट खर्च भइसकेको छ भने १३ करोड २० लाख रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ ।

डीपीआर डिजाइनमा भएको प्राविधिक त्रुटीका कारण निर्माण कार्यमा ढिलाई भएको महानगरका भेटेरिनरी शाखा प्रमुख हिरालाल यादवले नेपालप्रेसलाई बताए ।

यादबले प्राविधिक त्रुटीलाई सच्याएर तयार पारिएको नयाँ डीपीआरलाई पशु सेवा विभागले स्वीकृत गरिसकेकाले निर्माणको काम अघि बढने जानकारी दिए ।

महानगरले अलपत्र रुपमा छाडेको वधशालाको संरक्षणप्रति पनि खासै ध्यान नदिँदा जस्ताको छाना हालिएकोे दुईतले संरचनामा वरिपरि लगाइएका पर्खाल भत्किन थालेका छन् । भत्किएका पर्खालहरुको ईट्टा पनि हराइसकेका छन् । संरचनाको चारैतिर प्वाल परेको छ ।

अलपत्र अवस्थामा रहेको सो वधशाला हाल लागूऔषध प्रयोगकर्ताका लागी मुख्य अखडा, पे्रमिल जोडीका लागी डेटिङ स्थल तथा स्थानीयका लागि सार्वजनिक गोठ र डम्पिङ साईटको रुपमा परिणत भएको छ ।

मुख्यतः सो संरचना हाल लागूऔषध प्रयोगकर्ताहरुका लागी प्रमुख गन्तव्य बनेको छ । युवाहरुको जाँड, रक्सी, चुरोट र गाँजा खाने स्थलको रुपमा प्रयोग गर्न थालेकाले सुरक्षामा चिन्ता बढेको स्थानीय सकीला खातुनले बताइन् ।

अस्वस्थकर मासु खान बाध्य उपभोक्ता

महानगरले निर्माण शुरु गरेको वधशाला निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा विराटनगरवासी अस्वस्थकर मासु खान बाध्य छन् । विराटनगरमा न्यूनतम मापदण्डसमेत पूरा नगरी सन्चालित फ्रेश हाउसबाट मासु विक्री हुँदै आएको छ ।

अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका फ्रेस हाउसको अनुगमनसमेत छैन । चिकित्सकका अनुसार अव्यवस्थित ढंगले सञ्चालनमा आएको फ्रेस हाउसबाट उपभोक्ताले खरिद गरिएको मासुले विभिन्न खालको रोगको संक्रमण निम्तिने गरेको छ ।

कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले अस्वस्थकर मासुको प्रयोगले पेट तथा कलेजोको संक्रमण, मिर्गौलासम्बन्धी समस्या, हैजा, पखाला र टाइफाइड लगायतका संक्रामक रोगहरुको खतरा बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर