चीनबाट बर्सेनि आउँछ लाखौंको जनै, नेपाली उत्पादनमा किन छैन ध्यान ? – Nepal Press

चीनबाट बर्सेनि आउँछ लाखौंको जनै, नेपाली उत्पादनमा किन छैन ध्यान ?

काठमाडौं । नेपालमा सानोभन्दा सानो वस्तु पनि बाहिरबाट आयात हुन्छ । दाँत कोट्याउने सिन्का, कान सफा गर्ने बर्डस् र जलस्रोतको दोस्रो धनी देश नेपालमा पानीसमेत विदेशबाट आयात हुने गरेको छ । त्यति मात्रै हैन चीनबाट लाखौंको गुन्द्रक पनि ल्याइन्छ ।

नेपालीको मौलिक धर्म-संस्कृतिसँग जोडिएका सामग्रीमा पनि नेपाल आत्मनिर्भर छैन । जनैपूर्णिमामा लाखौंको जनै विदेशबाट आयात हुँदै आएको छ । यद्यपि, नेपालबाट केही उत्पादन विदेश पनि पठाउने गरिएको छ ।

स्वदेशमा पर्याप्त उत्पादन नभएपछि नेपालले बर्सेनि विदेशबाट जनै आयात गर्ने गरेको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको छिमेकी देश भारतबाट आउनु त सामान्य भयो, हिन्दूहरूको नगण्य उपस्थिति रहेको उत्तरी छिमेकी चीनबाट पनि जनैको आयात हुन्छ ।

प्रत्येक वर्ष लाखौं रूपैयाँको जनै चीनबाट आयात भइरहेको तथ्यांकले देखाएकोछ । यद्यपि, चीनबाट आउने जनै सानो आकारमा हुने भएकाले शुद्ध र लगाउन योग्य नमानिने पण्डितहरू बताउँछन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले नेपालमा प्रतिवर्ष कम्तीमा ५० लाखभन्दा धेरै जनै आयात हुने गरेको बताए ।

नेपालमा थोरैमा पनि एक वर्षमा औसत १० लाख पूजा हुने गरेको र एउटा पूजामा ५ रूपैयाँको मात्रै जनै प्रयोग हुँदा पनि ५० लाख रूपैयाँ चीन गइरहेको उनको अनुमान छ ।

बजगाईंले भने, ‘नेपालमा हुने पूजाआजामा संस्तो जनै प्रयोग हुने गरेको छ । भारतभन्दा चीनबाट सस्तोमा जनै अयात हुने भएकोले त्यहाँको जनै नै धेरै प्रयोग हुने अवस्था रहेको छ । सानो र सस्तो हुने भएकाले पनि यस्तो जनैको माग उच्च छ । तर, विधि नपुर्‍याइ बनाइएको हुँदा यस्तो जनै कमैले लगाउँछन् ।’

पूजा पसलहरूले पनि ग्राहकको रोजाइअनुसार चीनबाटै आएको जनै बिक्री बढी गर्छन् । पशुपति पूजा पसलका सञ्चालक राजकुमार कोइरालाले ग्राहकले पनि पूजाको लागि सस्तो जनै खोज्ने गरेकाले पनि चीनको जनै धेरै बिक्री हुने बताए ।

उनले भने, ‘जनै पूर्णिमाको दिन मात्रै धेरै जनै बिक्री हुने गरेको छ । अन्य बेला पूजाको लागि थोरै मात्रमा जनै बिक्री हुन्छ । तर, अहिले जस्तो अरु बेला जनैको बिक्री हुँदैन । आज धेरै ग्राहकहरू ब्राम्हणले मन्त्रेको जनै नै भनेर खोज्छन् ।’

नेपाली राम्रो जनै एउटाको थोरैमा पनि ५० रूपैयाँ पर्छ भने चीनबाट आएको जनै ५ रूपैयाँमै पाइन्छ । त्यसैले विदेशी जनैको बिक्रीबट्टा धेरै हुन्छ ।

पण्डित बालमकुन्द सापकोटा नयाँ पुस्तामा जनै बनाउने सीप नहुँदा बाहिरी जनैले बजार तताएको बताउँछन् । उनले भने, ‘नेपालमा राम्रोसँग जनै बनाउने हो भने एउटा जनै बनाउनको लागि नै २ घन्टा लाग्छ । नेपालमा बनेको जनै बलियो र विधिपूर्वक नै बनेको हुन्छ । तर, चीनले मेसिनबाट जनै उत्पादन गर्छ । मेसिनबाट बनाउँदा एकै मिनेटमा धेरै उत्पादन हुने भएकाले पनि सस्तो पर्न जान्छ ।’

चीनले बनाएको जनै नेपालमा मात्रै नभएर भारतसमेत जाने गरेको उनी बताउँछन् । तर, चीनमा बनेको जनै शुद्ध नहुने उनको भनाइ छ ।
नेपालमा करोडौंको धागो विदेशबाट आयात हुने गरेको कृष्णराज बजगाईं बताउँछन् । रक्षाबन्धनमा प्रयोग हुने डोरो पनि विदेशबाट आयात हुने गरेको छ । काँचो धागोमा विभिन्न रङ दलेको धागो भारत र चीनलगायतका देशबाट आउँछ ।

नेपालबाट विदेशमा शुद्ध जनै उत्पादन गरेर निर्यात गर्न सकिन्छ । पशुपति मन्दिर परीसरमा नै जनै उत्पादनका लागि मण्डप नै बनाएर विदेश निर्यात गर्न सकिने बजागाईले बताए ।

उनले भने, ‘शुद्ध गरेर पशुपतिको ट्याग हालेर पशुपतिमा नै जनै बनाएर विश्व बजारमा अर्थात हिन्दुहरु भएका देश अस्टेलिया र अमेरिकालगायतका देशमा निर्यात गर्न सकिन्छ । मन्त्र उचारण गर्दै सुतीको सुद्ध धागो पशुपतिमा नै मण्डप जनैको गाठो व्यद अनुसार बनाउने हो भने विश्वकै उत्कृष्ट जनै नेपालमा बन्छ । मण्डपमा मन्त्र उचारण गर्दै बनाएको जनै तामाको भाडामा राख्दा अझ शुद्ध हुनेछ ।’

यस्तो छ धार्मिक विश्वास

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत (जनै) एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

जनै बनाउनेक्रम कपासबाट सुरू हुन्छ । कपासबाट काँचो धागो बनाइन्छ । त्यही धागोबाट जनै बनाइन्छ । कपास खेती, धागो बनाउने सीप यहाँ आवश्यक पर्छ । पहिले-पहिले धेरै मानिसहरूले घरमै जनै बनाउने गर्थे । आजकाल त्यो क्रम घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर