राष्ट्रिय जनगणनाः प्रारम्भिक परिणाममा किन आएन तेस्रो लिंगीको तथ्यांक ? – Nepal Press

राष्ट्रिय जनगणनाः प्रारम्भिक परिणाममा किन आएन तेस्रो लिंगीको तथ्यांक ?

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले गत बुधबार सार्वजनिक गरेको जनगणनाकोे प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमध्ये एक करोड ४२ लाख ९१ हजार ३११ पुरुष र एक करोड ४९ लाख १ हजार १६९ जना महिला छन् । विभागले सार्वजनिक गरेको तथ्यांकमा तेस्रोलिंगी समेटिएको छैन । यससँगै प्रश्न उठेको छ कि, तेस्रो लिंगीको गणना नै गरिएन कि तथ्यांक सार्वजनिक नगरेको हो ?

२०६८ सालको जनगणनामा तेस्रो लिंगीलाई महिला–पुरुषको रुपमा नै गणना गरेपछि तेस्रो लिंगीले यसपटक आफूहरुको गणना हुनुपर्ने माग गर्दै आएका थिए । तर विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा तेस्रो लिंगीको विवरण नभएको प्रति ब्लु डाइमण्ड सोसाइटीले आपत्ति जनाएको छ ।

विभागले भने तेस्रो लिंगीको पनि गणना गरेको बताएको छ । यसअघि तेस्रो लिंगीलाई महिला र पुरुषमा नै समावेश गरी गणना गर्दै आएको विभागले यस वर्ष छुट्टै गणना गरेको बताएको हो । विभागका अनुसार सुपरीवेक्षक र गणकले घरमूलीलाई तेस्रो लिंगी भए–नभएकोबारे सोधिएको थियो । तर घरमूलीलाई परिवारका सदस्य तेस्रो लिंगी हो कि होइन भन्ने जानकारी नहुँदा यकिन तथ्यांक नआएको विभागले बताएको छ ।

तेस्रो लिंगी भएकाहरुले पनि खुलेर आफ्नो बारेमा जानकारी नदिएको बताउँछिन्, गणक सपना सापकोटा । ‘उहाँहरुले छोराछोरीको मात्रै विवरण दिनुभयो, तेस्रो लिंगीबारे जानकारी दिन आनाकानी गर्नुभयो’, सापकोटाले गणना गर्दाको अनुभव सुनाइन्, ‘हामीले घरमुलीले परिवार कोही तेस्रो लिंगी हुनुहुन्छ ? भनेर सोधेका थियौं । तर उहाँहरुले छोराछोरीको संख्या मात्रै बताउनुभयो ।’

उनका अनुसार गणकले सोध्नुअघि नै सुपरिवेक्षकले घर परिवारको सूचीकरण गर्दा पनि परिवारमा महिला–पुरुष कति छन् ? भनेर सोधेका थिए ।

किन छुटाइयो तेस्रो लिंगीलाई ?

प्रारम्भिक तथ्यांकमा तेस्रो लिंगी नपर्नुको कारणबारे विभागका निर्देशक ढुण्डीराज लामिछाने भन्छन्, ‘अहिले हतारमा क्विक काउन्ट गरेकाले तेस्रो लिंगीको तथ्यांक नआएको हो । मूल प्रश्नावलीमा तेस्रो लिंगीसम्बन्धी प्रश्न थिएन । यो प्रारम्भिक तथ्यांक मूल प्रश्नावलीका आधारमा निकालिएको हो ।

‘तेस्रो लिंगीसम्बन्धीको विवरण घर तथा घरपरिवार सूचीकरण फारममा छ । उनीहरुको विवरण लेखेको फारम चलाएकै छैन । मूल प्रश्नावलीमा तेस्रो लिंगीको प्रश्न राखिएको थिएन’, उनले भने ।

प्रारम्भिक गणनामा तेस्रो लिंगीलाई महिला र पुरुषकै सूचीमा गणना गरिएको निर्देशक लामिछानेले बताए । तेस्रो लिंगीसम्बन्धीको संस्थाहरुसँग छलफल गरेर नै उक्त नतिजा सार्वजनिक गरेको विभागले जनाएको छ ।

विभागले अहिले सार्वजनिक गरेको प्रारम्भिक जनसंख्यामा पछि तेस्रो लिंगी पनि थपिने जनाएको छ । ‘अहिले विभागले बाहिर पेजमा कति फारम भर्नुभयो भनेर गणकलाई सोधेको हौं । पछि केही फरक पर्न सक्छ । अहिलेको चाहिँ महिला पुरुषमा नै परेको छ’, उनले भने, ‘जन्मिँदाको लिंगका आधारमा अहिले तथ्यांक निकालेको हो ।’ तेस्रो लिंगीसम्बन्धी सम्पूर्ण विवरण आउन करिब ९ महिना लाग्ने विभागले जनाएको छ ।

ब्ल्यु डाइमन सोसाइटीकी कार्यकारी निर्देशक मनिशा ढकालले भनिन्, ‘हामीले विभागलाई सोधेका थियौं । अहिले तेस्रो लिंगी पनि महिला–पुरुषभित्रै परेका छन् । पछि त्यहीं महिला पुरुषभित्रबाटै तेस्रो लिंगीको पहिचान खुल्छ ।’

यौनिक अल्पसंख्यकलाई खुल्नै गाह्रो

यौनिक तथा अल्पसंख्यक समुदाय मूल गणनामा खुलेर नआएको तथ्यांङ्क विभागले जनाएको छ । परिवारका सदस्यले पनि खुलेर यौनिक तथा अल्पसंख्यक सन्तानको बारेमा नबताएको र उनीहरु पनि खुल्न नसकेको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।

‘एकजना सदस्यसँग परिवारको बारेमा जानकारी लिनुपर्ने हुन्छ । तेस्रोलिङ्गीको लागि छुट्टै कोठामा वा परिवारको एक–एक सदस्यलाई सोध्ने कुरा पनि भएन । त्यसैले उनीहरुको यकीन विवरण पाउन सकिएन’, उनले भने ।

श्रेष्ठका अनुसार यौनिक तथा अल्पसंख्यक नागरिकको छुट्टै गणना गर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘परिवारका सदस्यले खुलेर बताउन नचाहँदा हामीसँग अरु विकल्प छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर