मुख्यमन्त्री र १२ जिल्लाका सीडीओलाई गृहमन्त्रीको फोन – Nepal Press

मुख्यमन्त्री र १२ जिल्लाका सीडीओलाई गृहमन्त्रीको फोन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन् ।

गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शीतलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिए । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाणल बोर्डरमा एन्टीजेन्ट परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए ।

‘मुख्यगरी गृहमन्त्रीज्यूले सीमा नाकामा स्वास्थ्य सेवा केन्द्रले गरिरहेको काम, एन्टीजेन्ट परीक्षण, होल्डिङ सेन्टरको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेका प्रयासबारे जानकारी लिनुभयो,’ प्रजिअ कटवालले भने, ‘सीमा नाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा  शीतलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न निर्देशन दिनुभएको छ।’

गृहमन्त्री खाणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा जोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेशनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु¥याउने व्यवस्थाबारे पनि चासो राखेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाणले जानकारी लिएको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर