स्टील उद्योगीसँग अर्थमन्त्रीको छलफल, स्वदेशी उद्योगलाई बढावा दिन कर छुट दिएको तर्क – Nepal Press

स्टील उद्योगीसँग अर्थमन्त्रीको छलफल, स्वदेशी उद्योगलाई बढावा दिन कर छुट दिएको तर्क

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज स्पञ्ज आइरन र विलेट आयात गरेर डन्डी उत्पादन गर्ने उद्योगीसँग छलफल गरेका छन् । विलेट आयात गरेर स्टील उत्पादन गर्ने उद्योगीहरुले स्पञ्ज आइरन आयातमा सरकारले कर छुट दिँदा विलेट आयातमा भने भन्सार वृद्धि गरेको भन्दै विरोध गर्दै आएका थिए ।

आज मन्त्रालयमा अर्थमन्त्री शर्माले दुबैथरि उद्योगीलाई राखेर छलफल गरेका हुन् । छलफलमा स्पञ्ज आइरनबाट स्टील बनाउने र भारटबाट विलेट ल्याएर स्टील बनाउने उद्योगी सहभागी थिए । अर्थमन्त्री शर्माले संसोधित बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्दा त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा अन्तशुल्क नलाग्ने व्यवस्था गरिएको बताए । देशमा उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले सो व्यवस्था गरेको उनको भनाइ छ ।

स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने एमएस आइटेक स्टील प्रालिका प्रबन्ध निर्देशक मनोज भट्टराइले पछिल्लो समय स्टील उद्योगहरु स्पञ्ज आइरनबाट विलेट बनाउने उद्योग विस्तारमा लागेको बताए । पहिले ९ वटा उद्योगले स्पञ्ज आइरनबाट विलेट उत्पादन गर्दै आएकामा अहिले त्यो संख्या वृद्धि भएर १४ वटा पुगेको उनले जानकारी दिए ।

विदेशबाट विलेट ल्याएर स्टील बनाएर बिक्री गर्दाभन्दा स्पञ्ज आइरन ल्याएर नेपालमा नै विलेट उत्पादन गर्दा विजुलीको खपत वृद्धि हुने भट्टराईको भनाइ छ ।

‘स्पञ्ज आइरनबाट विलेट बनाउँदा ६ देखि ७ रुपैयाँ खपत हुन्छ भने विलेटबाट स्टील बनाउँदा करिब २ रुपैयाँको मात्र विजुली खपत हुन्छ । यसले गर्दा नेपालको पैसा नेपालमा नै रहने अवस्था सिर्जन हुन्छ,’ उनले भने  ।

नेपालमा प्रतिवर्ष १६ हजार मेट्रिकटन स्टील खपत हुने गरेको छ । नेपालमा नै स्पञ्ज आइरनबाट १४ हजार मेट्रिक्टन स्टील उत्पादनको क्षमता भएको र केही नयाँ उद्योग पनि आउने क्रममा रहेको भट्टराइले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर