दाङको राप्ती गाउँपालिकाले मकै पोल्ने र चटपट बनाउने तालिम दिने – Nepal Press

दाङको राप्ती गाउँपालिकाले मकै पोल्ने र चटपट बनाउने तालिम दिने

रुपन्देही । दाङको राप्ती गाउँपालिकाले मकै पोल्ने र चटपट बनाउने तालिम दिने भएको छ । तालिमपछि मकैका परिकार बनाएर बेच्नेलाई प्राविधिक तथा आर्थिक सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । पूर्वपश्चिम राजमार्ग र लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा रहेको यो पालिका मकै जोन पर्दै आएको छ ।

मकैको ब्राण्डिङ गर्न मकै पोलेर जीविकोपार्जन गर्न चाहनेलाई तालिमसँगै आधुनिक मेशिन दिएर प्रोत्साहन गर्ने नीति अगाडि सारेको पालिकाका अध्यक्ष प्रकाश विष्ट बताउँछन् । विपन्न र समुदायमा बसेर केही गर्न खोज्ने नागरिकलाई सहयोग गर्न र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न तालिमसँगै प्रविधि हस्तान्तरण कार्यक्रम अगाडि सारेको उनले बताए ।

‘हामीले मुख्यमार्गमा रहेका हरेक चोकमा बसेर मकै पोल्ने र यसको चटपटे बनाउनेलाई मेशिन दिने योजना बनाएका छौं, यो मेशिनले दिनभर थोरै दाउराबाट धेरै मकै पोल्न र उसिन्न सकिन्छ । अन्य परिकार पनि बनाउन सकिन्छ, अर्गानिक खाजा बनाएर जंकफूड निस्तेज पार्ने दीर्घकालीन योजना हो’, विष्टले नेपाल प्रेससँग भने, ‘भालुवाङदेखि सिसहनियासम्म धेरै स्थानीयले यो अभियानबाट जीविकोपार्जन गर्नसक्ने अपेक्षा लिएका छौं, हामीले सानो सहयोगबाट विपन्न नागरिकलाई ठूलो आधार हुनसक्ने र स्थानीय उत्पादनलाई साथ दिने मुख्य उद्देश्यले यो अभियान थालेका हौं ।’

गाउँपालिकाले आफ्नो क्षेत्रमा दुग्धजन्य पदार्थको बजारीकरणका लागि पनि यस्तै प्रभावकारी योजना अगाडि सारेको छ ।

‘पालिकाका मुख्य बजारहरुमा दही, मही र यसको लस्सीलाई प्राथमिकताका साथ बेच्न पहिलेबाट प्रोत्साहन गरेका हौं, पालिकामा कृषिजन्य उत्पादनसँगै गाईभैंसीपालन पनि प्रशस्त हुने हुनाले दुग्धजन्य पदार्थको बजारीकरणलाई विशेष ध्यान दिएका हौं’, पालिका अध्यक्ष विष्टले भने, ‘यसले बजारमा नागरिकको स्वास्थ्यलाई प्रभाव पार्ने पेयपदार्थलाई कम गरेको छ ।’

कृषि क्षेत्रलाई यहाँको समृद्धिको मुख्य आधार मानेर यसका सहायक पक्षलाई बलियो बनाउन थालिएको उनी बताउँछन् । प्रदेश राजधानी क्षेत्र भएकाले पनि यहाँबाट केही फरक सन्देश दिने अभियानमा आफूहरु रहेको अध्यक्ष विष्टको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *