खेलमा संघीयता : गौतम बुद्ध क्रिकेट रंगशालामा भव्य सुरु भयो अन्तर प्रदेश राष्ट्रिय खेलकुद  – Nepal Press

खेलमा संघीयता : गौतम बुद्ध क्रिकेट रंगशालामा भव्य सुरु भयो अन्तर प्रदेश राष्ट्रिय खेलकुद 

चितवन । चितवनमा आजदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० सुरु भएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा आजदेखि वैशाख १ गतेसम्म खेलकुद सुरु भएको हो ।

भरतपुर १५ मा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको खेलमैदानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुदको अतिसबाजीसहित भव्य कार्यक्रम गरेर उद्घाटन गरेका हुन् ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारा दिएर सुरु भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा सातै प्रदेशबाट दुई हजार पाँच सयभन्दा बढी खेलाडीहरूको सहभागिता र ५ सय भन्दा बढी खेल निर्णायकहरू सहभागी रहेको जनाइएको छ ।

खेलकुद उद्घाटन समारोहमा म्याराथन कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, खेलाडीहरू दीपक विष्ट, मंगलकाजी श्रेष्ठ र नामसिंह थापासमेतले ओलम्पिक टर्च बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा वक्ताहरुले बागमती प्रदेशले पहिलोपटक राष्ट्रिय खेलकुदको आयोजना गरेसँगै खेलकुदमा संघीयता कार्यान्वयनमा आएको बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले यस्ता खेलकुद अन्तर्राष्ट्रिय स्तरमा खेल्नसक्ने खेलाडी उत्पादन गर्न सक्ने कारखाना हुने बताए ।

उनले भने, — स्थानीय स्तरमा हुने यस्ता खेलकुदहरूले राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्न ऐतिहासिक हुन्छन् । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति बढाउन सहयोग गर्छ । सो अवसरमा उनले आफूले खेल र कलामा राजनीतिक नगर्ने पनि सार्वजनिक उद्घोष गरेका थिए ।

त्यसैगरि सोही कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले पनि खेलकुदमा संघीयतालाई व्यवहारिक कार्यान्वयन गर्न यो खेलकुद आयोजना गरेर बागमती प्रदेशले सुरुआत गरेको बताए ।

उनले देशको विकास सँगै संघीयताको कार्यान्वयनले स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने दाबी गरे । सोही अवसरमा ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले पनि खेलमा संघीयता आएको बताएका थिए ।

वैशाख १ गतेसम्म सञ्चालन हुने खेलकुदमा ९ वटा खेलकुदहरु समावेश रहेका छन् । तीमध्ये एउटा मात्रै हेटौँडामा हुने आयोजकले जानकारी दिएका छन् । जम्मा ९ खेलमध्ये भलिबल प्रतियोगिता भरतपुरको गेष्ट हाउस चौर, महिला फुटबल बखान स्मृति रंगशाला शारदानगर भरतपुर, महिला र पुरुष क्रिकेट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, बक्सिङ, कराँते र तेक्वान्दो औद्योगिक प्रदर्शनी हल भरतपुर, एथ्लेटिक्स चितवन रंगशाला, भरतपुर र ब्याडमिन्टन भरतपुर कभर्डहल र पौडी लेक ट्वान्टी थाउजेन्ड हवेली भरतपुरमा आयोजना हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *