वाम गठबन्धनसँगै अघि बढ्यो सुहाङको चुनावी रथ, इलाम २ मा कति छ माओवादीको मत ? – Nepal Press

वाम गठबन्धनसँगै अघि बढ्यो सुहाङको चुनावी रथ, इलाम २ मा कति छ माओवादीको मत ?

विराटनगर । इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । यहाँ नेकपा एमालेले सुवासका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । यसैगरी नेपाली कांग्रेसका तर्फबाट डम्बर खड्का चुनावी मैदानमा छन् ।

रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीबाट डाकेन्द्रसिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई प्रतिस्पर्धामा उत्रिएका छन् । नयाँ सत्ता समीकरणसँगै उपचुनावको परिवेश पनि फेरिएको छ । यहाँ सुरूमा माओवादीले आफ्नै उम्मेदवार उठाउने भनेकोमा एमाले उम्मेदवार सुहाङलाई सघाउने निर्णय गरिसकेको छ ।

माओवादीबाट एकल सिफारिसमा परेका धीरेन्द्र शर्माले नेपाल प्रेससँग भने,  ‘अब हाम्रो उम्मेदवार सुहाङ हो । गठबन्धन भएका हिसाबले हामी उहाँलाई जिताउन लाग्नेछौं । केन्द्रमा सहमति भएसँगै निर्देशन आइसकेको छ । गठबन्धनको उम्मेदवार जिताउन सबै कमिटी र कार्यकर्ता परिचालित हुनेछन् ।’

इलाम क्षेत्र नम्बर २ मा ५ वटा पालिका पर्दछन् । चुलाचुली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका सबै वडा यो क्षेत्रमा पर्दछन् । इलाम नगरपालिकाको वडा नम्बर १, ९, ११ र १२ र देउमाई नगरपालिकाका ६ र ८ नम्बर पनि यही समेटिन्छ । चुलाचुली गाउँपालिकामा ६, माङ्सेबुङमा ६, फाकफोथुममा ७ वटा वडा रहेका छन् । २५ वडामध्ये २०७९ को निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । नेपाली कांग्रेसलेले १३ वटा वडामा अध्यक्ष जित्दा एमालेले ९ वटा वडा जितेको छ ।

माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनमुक्तिले एक-एक वडा जितेको निर्वाचन आयोगको कार्यालय इलामले जनाएको छ । गत वर्षको स्थानीय तह चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो । स्थानीय तहमध्ये चुलाचुलीमा नेपाली कांग्रेसले अध्यक्ष पद जित्दा उपाध्यक्ष एमालेले हत्याएको थियो । माङ्सेवुङमा एमालेका अध्यक्ष र जसपाका उपाध्यक्ष छन् । फाकफोकथुम गाउँपालिकामा अध्यक्ष-उपाध्यक्ष दुवै एमालेले जितेको छ ।

देउमाई नगरपालिकामा भने अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले जितेको छ । इलाम नगरपालिकामा मेयर-उपमेयर दुवै कांग्रेसले जितेको छ ।

कुन वडामा कसको जित ?

इलाम २ का १३ वडा अध्यक्ष जितेको नेपाली कांग्रेसले सबैभन्दा बढी चुलाचुली गाउँपालिकामा ५ वडा जितेको छ । यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एउटा वडा जितेको छ । माङ्सेवुङका ४ वटा वडा एमालेले जितेको छ । एउटा वडाध्यक्ष माओवादीका छन् । फाकफोकथुम गाउँपालिकाको ७ वडामध्ये ४ वटामा कांग्रेस र बाँकी ३ वटा एमालेले जितेको छ । इलाम नगरपालिकाको ४ वडामध्ये ३ वटामा कांग्रेस र एउटामा एमालेले जितेको छ । देउमाई नगरपालिकामा कांग्रेस र एमालेका एक-एक अध्यक्ष छन् ।

वडामा कसको मत कति ?

२५ मध्ये १३ वटा वडा जितेको कांग्रेसले १७ हजार ४८२ मत पाएको छ । एमालेले ९ वटा वडा जित्दा कांग्रेसको भन्दा १८१ बढी १७ हजार ६०० भोट छ । एउटामात्र वडा जितेको माओवादी केन्द्रले वडाहरुको मत जोड्दा २ हजार ६०२ मत पाएको छ । पहिचानवादी दलहरू सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जसपा, जनमुक्ति पार्टीहरूको मत २ हजार ५७ छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन भएका कारण सबै वडामा माओवादी र कांग्रेसका उम्मेदवार मैदानमा थिएनन् ।

जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयालका अनुसार इलाम २ मा १ लाख १५ हजार ३४२ मतदाता छन् । मतदानका लागि १४९ वटा मतदान केन्द्र र ७९ वटा मतदान स्थल रहनेछन् ।

यस्तो छ समानुपातिकको भोट

२०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा यहाँ एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० भोट ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन गठबन्धनबाट उठेका कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ६ मत ल्याए । सो निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ८० , मंगोल नेशनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले १ हजार ३६७ मत ल्याएका छन् । यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङवाले १ हजार २७२, जसपाका यामप्रसाद लिम्बूले ७२४ मत पाएका थिए ।

समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत छ । कांग्रेसको २२ हजार ३३३, माओवादी केन्द्रको ५ हजार १५३, रास्वपाको ४ हजार ६८६ मत थियो । त्यस्तै नेशनल मंगोल अर्गनाइजेसनको १ हजार ६६१, राष्ट्रिय जनमुक्ति पार्टीकाे १ हजार ४१३, संघीय लोकतान्त्रिक मञ्चको १ हजार ३२९, राप्रपाको १ हजार १९१, जसपाको ९०६ र नेकपा एसको ५८६ मत थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर