बहुमत नपुग्ने भएपछि लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा दिँदै – Nepal Press

बहुमत नपुग्ने भएपछि लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा दिँदै

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने भएका छन् । आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने उनले तयारी गरेका हुन् ।

कांग्रेस नेता तथा मन्त्री रोज राणाले मुख्यमन्त्री चौधरीले आजै सदनमा सम्बोधन गरेर राजीनामा दिने नेपाल प्रेसलाई बताए ।

बुधवारसम्म जसपा, लोसपा, राप्रपासहितका साना दलको समर्थनमा बहुमत जुटाउन दौडधुपमा रहेका चौधरीले ती राप्रृपाबाहेक अन्य दलको समर्थन पाउने आशा नभएपछि विश्वासको मत नलिएर सम्बोधन गरेर राजीनामा दिन लागेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

बिहीबार अहिलेसम्म प्रदेश सरकारमा रहेको जसपाको केन्द्रीय समितिले समेत नयाँ गठबन्धनमा सामेल हुन प्रदेश कमिटीलाई निर्देशन गरेसँगै मुख्यमन्त्रीको बहुमत जुटाउने प्रयास असफल भएको हो ।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तनसँगै नेकपा माओवादी केन्द्रको बहिर्गमनपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिन लागेका हुन्। दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा चौधरीले मुख्यमन्त्रीको हैसियतमा आफ्नो सम्बोधन गर्ने र राजीनामा दिने तयारी गरेका हुन् ।

सभामुख तुलाराम घर्ती मगरलाई मुख्यमन्त्रीले बिहीबार टेलिफोनमार्फत प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेकाले त्यसअनुसार कार्य योजना बनाउन भनेको जानकारी दिइसकेका छन् ।

गत वैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । ८७ जना प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ ।

नयाँ गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् ।

गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पनि सहकार्यमा आउने दाबी गरेको छ। लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने गरी केन्द्रमा दलहरूले सहमति गरेका छन् ।

हाल सरकारमा रहेका लोसपा नेता तथा गृहमन्त्री सन्तोष पाण्डेयले पनि नयाँ गठबन्धनलाई सहयोग गर्ने संकेत गरेका छन् । एमाले र माओवादीका नेताहरुसँग उनले त्यो संकेत गरेपनि औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर