टोपबहादुरको पेशी निवेदकले नै हटाए – Nepal Press

टोपबहादुरको पेशी निवेदकले नै हटाए

रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधवार पेसी तोकिए पनि अन्तिम समयमा निवेदकहरूबाटै पेसी हटाइएको छ ।

बुधवार टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारीको रिटमाथि सुनुवाइ हुने भनिए पनि पेसी हटेकाले रोकिएको छ ।

बुधवारका लागि न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको थियो ।

सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले निवेदकबाटै बुधवारको पेसी हटेको नेपाल प्रेसलाई जानकारी दिए । अर्को पेसी आजै तोकिन सक्ने उनको भनाइ छ ।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

बुधवारको पेसीसँगै टोपबहादुर छुट्न सक्ने अपेक्षाका साथ उनका परिवारका धेरै सदस्यहरू काठमाडौंमा जुटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर