बयानमा भक्कानिए महरा, दिनहुँ खान्छन् ८ किसिमका औषधि – Nepal Press

बयानमा भक्कानिए महरा, दिनहुँ खान्छन् ८ किसिमका औषधि

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरु भएको बयान सकिएको हो ।

नर्भिक अस्पतालमा उपचाररत महरा पहिलो दिन बयानका क्रममा भक्कानिएका थिए । उनी बयान सकिएपछि कुराकानी गर्ने क्रममा कस्सिएर रोएको एक अधिकारीले बताए ।

‘उहाँ कुरा गर्दागर्दै भक्कानिनु भयो । नखाएको विष लाग्यो भन्दै रुनुभयो’, ती अधिकारीले भने । सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका हुन् । भन्सारमा अड्किएको इलेक्ट्रिक सिगरेट–भेप छुटाउन महराको मोबाइलबाट फोन गएको देखिएपछि उनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने तर सीआईबीले त्यतिबेला नल्याएको आयोगको दाबी छ । काठमाडौं जिल्ला सरकारी वकिल स्रोत आयोगले परिस्थतिजन्य प्रमाणका आधारमा महराको संलग्नता औँल्याएको बताए ।

‘उहाँको नम्बरबाट फोन गरेको बाहेक अन्य कुनै प्रमाण भेटिएको छैन’, सरकारी वकिल कार्यालय स्रोतले भन्यो । ती अधिकारीले महराको शारीरिक अवस्था निकै जीर्ण रहेको पनि बताए ।

‘उहाँ राम्रोसँग बोल्नसमेत सकिरहनु भएको छैन । दुईतिर समातेर हिँडाउनुपर्ने अवस्था छ’, ती अधिकारीले भने । सीआईबीका अनुसार महरा दैनिक ८ किसिमका औषधिहरु सेवन गर्ने गर्छन् । ‘टीभीदेखि मस्तिष्कको नसासम्ममा समस्या रहेछ’, सीआईबी स्रोतले भन्यो ।

यही प्रकरणमा महराका छोरा राहुल यसअघि नै पक्राउ परेर हाल पुर्पक्षका लागि थुनामा छन् । महरा चैत ५ गते कपिलबस्तुबाट पक्राउ परेका थिए । उनको स्वास्थ्य अवस्थालाई ध्यान दिन र उपचारको व्यवस्था मिलाउन अदालतले भनेपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ । प्रहरीले बयानका लागि ल्याउने र त्यसपछि अस्पताल पुर्याउने काम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर