मकवानपुरमा स्थानीय चुनावकाे झल्काे : विद्यालय व्यवस्थापन समितिमा एमाले-माओवादी गठबन्धन विजयी – Nepal Press

मकवानपुरमा स्थानीय चुनावकाे झल्काे : विद्यालय व्यवस्थापन समितिमा एमाले-माओवादी गठबन्धन विजयी

बकैया । पछिल्लो समय विभिन्न सामजिक संघ संस्थाहरुमा नेतृत्वको लागि मतदान हुने गरेको छ । तर मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ म रहेको महेन्द्र माविमा स्थानीय तहको निर्वाचनको झल्को दिनेगरि विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ ।

सहमतिको प्रयास असफल भएपछि भएको निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को दिएको थियो । निर्वाचनको लागि बिहानैबाट विद्यालय परिसरमा मतदाता रहेका अविभावकहरुको उपस्थिति देखिएको थियो भने आफ्ना पक्षका उम्मेदवारलाई मत माग्नेहरुको पनि ठूलै भिड थियो ।

मतदान स्थल पनि स्थानीय तह तथा केन्द्र, प्रदेशको निर्वाचन जस्तै व्यवस्थित गरिएको थियो । निर्वाचनको लागि आवश्यक ब्यालेट बक्स पनि निर्वाचन आयोगबाट ल्याइएको थियो ।

निर्वाचनको लागि एक दर्जन बढि सुरक्षाकर्मी परिचालन गरिएको थियो भने ७ जना उम्मेदवारहरुले आफ्ना निर्वाचन प्रतिनिधि खटाएका थिए ।

बकैया गाउँपालिकाको सबैभन्दा धेरै विधार्थी अध्ययन गर्ने विद्यालयको नेतृत्व हत्याउनको लागि स्थानीय राजनीतिक दलले अघोषित प्यानलनै बनाएर निर्वाचनमा होमिएका थिए ।

आवश्यक ४ जना सदस्यको निर्वाचनको लागि दुबै प्यानलबाट ७ जनाको उम्मेवारी परेको थियो । निर्वाचनको मिति बिहिबार भएपनि एकहप्ता पहिले सार्वजनिक भएको निर्वाचन तालिकाअनुसार उम्मेदवार तथा उनीहरुको समूहले घरदैलो अभियान संचालन गरेर निर्वाचनको तयारी गरेका थिए ।

निर्वाचनमा कम्युनिस्ट निकट गठबन्धन विजयी

स्थानीय तहको झल्को दिनेगरि भएको निर्वाचनमा कम्युनिष्ट घटक नजिकका उम्मेदवारहरुले जित हासिल गरेका छन् । ५ सय ७० मतदाता रहेको विद्यालयमा ४७० मत खसेको थियो ।

निर्वाचनमा एमाले- माओवादी निकटको गठवन्धनवाट मानबहादुर वाइवा (२७६) , मदन लामा (२८२), सिता माझी (२८३) र उर्मिला स्याङ्तान (३६६) मत सहित विजयी भएका छन् ।

विजयी उम्मेदवारहरुको आजै बसेको बैठकले पर्शुराम गौतम र सुस्मिता घोरासैनिलाइ विद्यालय व्यवस्थापन समितिमा मनोनीत गरेको थियो । बैठले मनोनित मध्यको गौतमलाइ विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा निर्वाचित गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर